प्रेम सुनार
११ जेठ २०७३ तम्घास । यो देशमा कुनै कालखण्डमा केपी शर्मा ओलि नेतृत्वको सत्ता गठबन्धन बनेपछि मात्र देशमा “स्थायित्व” आउने भाष्य निर्माण गरियो । तर २०८१ असार १७ गते शेर बहादुर देउवा र ओलीबीच भएको सातबुँदे सहमतिले नयाँ राजनीतिक अध्याय भन्दा पनि पुरानै सत्ता–समीकरणको पुनरावृत्ति जन्मायो । त्यसपछि २०८१ असार ३० मा ओली चौथोपटक प्रधानमन्त्री बने ।
तर आज प्रश्न उठेको छ—रास्वपा, जेनजि आन्दोलन, बालेन वा रविलाई मात्रै गाली गरेर पुराना दल आफ्ना असफलताबाट उम्किन सक्छन् ?
तम्घासमा आयोजित संविधान संशोधन बहसमा पनि त्यही देखियो । विषय थियो संविधान, तर निशाना बनाइयो राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) , रवि लामिछाने र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह लाई ।
अझ विडम्बना त के भने, पुराना दलका केही नेताले कम्तीमा “हाम्रो कमजोरीका कारण नयाँ शक्ति जन्मियो” भन्ने आत्मसमीक्षा गरे । तर एमाले प्रतिनिधित्व गर्ने नेताबाट भने आत्मालोचना होइन, लगभग सम्पूर्ण समय जेनजि आन्दोलन र नयाँ पुस्तामाथि प्रहारमै खर्च भयो ।
प्रश्न उठ्छ—देशको राजनीतिक नक्सा बदलिनुमा दोष केवल नयाँ दलको हो ?
कि पुराना दलले दशकौँसम्म गरेको सत्ता व्यापार, भागबन्डा, नियुक्ति राजनीति, भ्रष्टाचार संरक्षण र जनताप्रति बढेको अहंकार यसको मुख्य कारण हो ?
ओली–देउवा गठबन्धनको जन्म नै शंकाबाट सुरु भयो । जनताले चुनावमा फरक–फरक कित्तामा राखेका दुई दल अचानक एउटै ओछ्यानमा पुगे । त्यो पनि वैचारिक सहमतिले होइन, सत्ता जोगाउने अंकगणितले । जनतामा यही सन्देश गयो—“जब सत्ता संकटमा पर्छ, पुराना दलहरू एकअर्काका कट्टर विरोधी होइनन्, साझेदार हुन् ।”
त्यसपछि सुरु भयो नियुक्ति, शक्ति बाँडफाँड र आलोचकप्रति असहिष्णुता बढेको आरोप । सरकार बनेको सय दिन नपुग्दै जनस्तरमा निराशा किन बढ्यो ? कारण स्पष्ट थियो—जनताले नयाँ सोच खोजिरहेका बेला सत्ता फेरि पुरानै अनुहारको घेराभित्र फर्कियो ।
पुस्पकमल दाहाल ( प्रचण्ड ) नेतृत्वको सरकार ढाल्ने खेलदेखि नयाँ समीकरण निर्माणसम्मका घटनाले जनतालाई के महसुस गरायो भने, नेपालमा विचार होइन सत्ता नै सबैभन्दा ठूलो सिद्धान्त बनिसकेको छ ।
आज एमालेका नेताहरूले रास्वपालाई “क्षणिक लहर” भन्न सक्छन् । बालेनलाई “सामाजिक सञ्जालको उत्पादन” भन्न सक्छन् । तर एउटा कठोर सत्यबाट भाग्न सक्दैनन्—यदि पुराना दलले जनताको विश्वास नतोडेका भए, जेनजि आन्दोलन यति ठूलो हुन्थेन । नयाँ दलहरू यति छिटो स्थापित हुने थिएनन् ।
२०८१ भदौ २३ को साँझ देशले प्रश्न सोध्यो—
“आखिर युवाहरू किन सडकमा छन् ? किन पुराना दलप्रति यति वितृष्णा छ ?”
त्यो प्रश्नको उत्तर रास्वपामा होइन, एमाले–काङ्ग्रेस–माओवादीकै विगतमा लुकेको छ ।
संविधान संशोधन बहसमा पनि यदि पुराना दलका नेताले “हामीबाट गल्ती भयो” भन्न नसक्ने हो भने त्यो बहस सुधारका लागि होइन, केवल प्रतिशोधका लागि भएको ठहर्छ । अझ एमालेले त आत्मासमीक्षा गर्नुपर्ने सूची निकै लामो छ—संसद विघटनदेखि सत्ता गठबन्धनको अस्थिर खेलसम्म, आलोचकलाई शत्रु देख्ने प्रवृत्तिदेखि पार्टीभित्र फरक मत कमजोर पार्ने संस्कृतिसम्म ।
पुराना दलले बुझ्नुपर्ने एउटा गम्भीर कुरा छ—
रास्वपा वा जेनजि आन्दोलन कुनै दुर्घटना होइनन्, ती पुराना दलका कमजोरीको राजनीतिक प्रतिक्रिया हुन् ।
यदि एमालेले आज पनि “सबै दोष अरूको” भन्ने निष्कर्ष मात्रै निकाल्छ भने आत्मासमीक्षा कहिले गर्ने ?
जब आफ्नै किल्ला भत्किसक्छ ?
जब युवापुस्ता पूर्णतः टाढिन्छ ?
कि जब इतिहासले “पुरानो दल” भनेर संग्रहालयमा राखिदिन्छ ?
देशले अहिले विपक्षी होइन, इमानदार आत्मालोचना खोजिरहेको छ ।
तर दुर्भाग्य ! हिजो आईतवार तम्घासको बहसले देखायो—पुराना दल अझै ऐनामा आफूलाई हेर्न तयार छैनन् । विप्लव नेतृत्व र पुर्व माओवादीलाई समेत पुरानै दलको सुचीमा राख्दा हिजो पाँच राजनीति दलको जमघट थियो ।
जनमोर्चा द्वारा आयोजित संविधान संशोधनका सन्धर्भमा आयोजित अंतरकृया कार्यक्रममा बोल्ने नेकपाका नेता अशोक थापा, काङ्ग्रेस नेता छवि पाण्डे र विप्लव नेतृत्वको नेकपा माओवादीका नेता वसन्त गैरेले आफुरुको पार्टीको अलिकती ऐना हेरेर वर्तमान सरकारको सन्तुलित आलोचना गरे ।
तर जनमोर्चाका नेता सुरेन्द्र थापा, रामेश्वर खत्री , मशालका प्रबक्ता चुरामणी भट्टराई र एमाले नेता गणेश श्रेष्ठ मध्ये बोल्ने समयको ती जनाले ९५ प्रतिशत बालेन , रवि र रास्वपाको चर्को आलोचनामा समय खर्चिए भने एमाले नेता श्रेष्ठले ९९ प्रतिशत चर्को आलोचना मै खर्चिए तर आफ्नो पार्टीको कमजोरीको क पनि स्वीकार गरेन्न ।
हिजो कार्यक्रममा श्रेष्ठको मात्रै होईन , जहाँ हुन्छ राजनैतिक कार्यक्रम त्यहाँ जुन कुनै एमाले नेताको बालेन , रवि र रास्वपा प्रति हुने गरेको सुनिएको छ । हैन, एमालेले केही गरेन भन्ने निरासां मात्रै जनता छैन्न । तर माथी उल्लेखित जस्तै विगतका गम्भीर गल्ती प्रति आत्मा समीक्षा किन नगर्ने ?
किन खरानी बन्यो मीन बहादुर गुरुङको भाटभटेनी ? आखिर एमालेले पार्टी कार्यालयका लागि उनी बाट जग्गादान ग्रहण गरेर होईन ? आन्तरिक आन्तरिक आत्मा समिक्षा नै गरेर होला त्यो जग्गा अहिले आएर फिर्ता गरेको । गरिव जनताले सिटामोल पाउदैन्न बेलामा तर एउटै नेता ओलिको विदेश उपचार खर्चमा दुई करोड बढी खर्च गरिनु त्यो भन्दा राज्य दोहनको चरम रजाइँ अरु के हुन सक्छ ? त्यो पनि आन्तरिक आत्मा समिक्षा गरेरै होला फिर्ता गर्ने निर्णय गरिएको ।
तर आन्तरिक आत्मा समिक्षाले मात्रै पुग्दैन । त्यति ठुला गल्ती दोहरिए पछि जनता सामु आउँदा हामीले यी यी गल्ती गरियो माफी माग्छौ अब दोहोराउने छैनौ भने आत्मा समीक्षा / आत्माआलोचना गर्न किन नसक्ने ? जनता धेरै चनाखा भईसकेका छ्न, कुनै पनि दल कुनै पनि नेताको काम र कमजोरीको हिसाब गरेर बसेका छ्न ।
तर बोल्दा कामको मात्रै बखान गर्ने आफ्नो कमजोरीलाई समेत आरुको थाप्लोमा थोपरेर आफू पानी माथीको ओभानो बन्ने प्रवृति जनताले कतिन्जेल सहन्छ्न / पचाउ छ्न ?
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










