मुसिकोट, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँस्थित तोलादी प्राथमिक विद्यालयका विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको छ।
मुसिकोट नगरपालिकाभित्रका विभिन्न ठाउँमा आँखा परीक्षण गरिए पनि तोलादी क्षेत्रका बासिन्दाहरू भौगोलिक अवस्थाका कारण सेवाबाट वञ्चित भएका थिए। श्री कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रको आयोजनामा तोलादी प्राथमिक विद्यालयको प्राङ्गणमा सञ्चारकर्मी दिलु केसीको सहजीकरणमा बुधबार कार्यक्रम सम्पन्न भएको मधु मल्लले जानकारी दिनुभयो।
विद्यालयका २७ जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएकोमा ३ जनामा सामान्य समस्या देखिएपछि बिहीबार थप उपचारका लागि आँखा उपचार केन्द्र वामीटक्सारमा बोलाइएको कार्यालयका अप्थाल्मिक टेक्निसियन दीपेन्द्र ज्ञवालीले बताउनुभयो।
विद्यार्थीसँगसँगै सोही क्षेत्रका ४४ जना अभिभावकको पनि निःशुल्क आँखा परीक्षण गरिएको छ। जसमध्ये ५ जनामा मोतियाविन्दुको समस्या देखिएको छ। उनीहरूलाई आफ्नो अनुकूलता मिलाएर जिल्ला आँखा उपचार केन्द्र वा अन्यत्र पायक पर्ने ठाउँमा उपचारका लागि जान आँखा उपचार केन्द्र प्रमुख आभा श्रेष्ठले सुझाव दिनुभयो।
शिविर सञ्चालन एवं सहजीकरण गर्ने सबैप्रति विद्यालयका पूर्व प्रधानाध्यापक मधु मल्लले स्वागत एवं धन्यवाद व्यक्त गर्नुभएको थियो। शिविरमा मिडिया सहयोगीका रूपमा नवखबर डटकम, युनिक खबर डटकम र ओझेलका खबरले भूमिका निर्वाह गरेका थिए।
आफ्नो पहललाई सहर्ष रूपमा स्वीकार गरी विद्यालयमा उपस्थित भई शिविर सम्पन्न गरेकोमा केसीले केन्द्र प्रमुख आभा श्रेष्ठ र टेक्निसियन दीपेन्द्र ज्ञवालीलाई धन्यवाद दिँदै फूलमाला र सम्मान पत्रले सम्मान गरिएको जानकारी दिनुभयो। उपस्थित अतिथिहरूलाई खाजाको व्यवस्था पूर्व वडा सदस्य गणेशबहादुर कुँवरले गर्नुभएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |











