वामीटक्सार: मुसिकोट २ निवासी स्वर्गीय कालिका खत्रीको स्मृतिमा आज सुदीघाटमा ‘कालिका खत्री सुदीघाट सत्तल प्रतीक्षालय’ उद्घाटन कार्यक्रम आयोजना हुँदैछ। ओझेलका खबरलाई प्राप्त जानकारीअनुसार, उद्घाटन कार्यक्रम स्वर्गीय कालिका खत्रीका परिवारजनले आयोजना गर्नुभएको हो। परिवारजनले आफ्नो सामूहिक समर्पण र सेवा भावनाको अभिव्यक्तिस्वरूप यो प्रतीक्षालय निर्माण गरेको बताइएको छ।
स्वर्गीय कालिका खत्रीका छोरा कौरव बहादुर खत्रीको सक्रिय पहलमा यो कार्य सफलतापूर्वक पूरा भएको हो। आफ्नो ममतामयी स्वर्गीय माताको सम्झनामा सानो भए पनि केही काम गरौं भनेर यस स्थानमा अति आवश्यक प्रतीक्षालय र खानेपानीको धारा निर्माण गरेको कौरब खत्रीले युनिक खबरसँगको कुराकानीमा बताउनुभयो।
स्वर्गीय कालिका खत्री जीवनभर सधैँ अरूको भलो सोच्ने, आवश्यकता पर्दा सहयोग गर्ने र समुदायलाई एकजुट राख्ने गर्नुहुन्थ्यो। स्वर्गीय कालिकाको उक्त भावना आज पनि हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ। स्वर्गीय कालिका खत्रीको स्मृतिमा उहाँको परिवारको तर्फबाट बनाइएको सुदीघाट सत्तल प्रतीक्षालय केवल संरचना मात्र होइन, उहाँको जीवन दर्शन, सद्भाव र सेवाभावको प्रतीक हो, जसले भावी पुस्तालाई पनि मानवता र समुदायप्रति समर्पित जीवन बिताउने प्रेरणा दिनेछ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, नातेदार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतीक्षालयले भावी पुस्ताका लागि धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको केन्द्रका रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।
यस क्षेत्रका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, पत्रकार र स्थानीयवासीलाई यस विशेष कार्यक्रममा उपस्थित हुन खत्री परिवारका तर्फबाट हार्दिक अनुरोध गरिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









