गुल्मी: गुल्मीका दुईवटै क्षेत्रका कुनै पनि दल वा स्वतन्त्र उम्मेदवारहरुले मुखको भरमा जनता सङ्ग भोट माग्दै हिडिरहेको बेला क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले भने लिखित प्रतिबद्धता नै जनता सामु पेश गरेका छन। जुन यस प्रकार रहेको छ:
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १
सुदर्शन बराल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
निर्वाचन प्रतिबद्धता पत्र
आदरणीय गुल्मी क्षेत्र नं. १ का बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, सचेत मतदाता ज्यूहरू
आसन्न प्रतिनिधि सभाको निर्वाचन विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको छ। मुलुकमा पटकपटक सञ्चालन भएका राजनैतिक आन्दोलनहरू महान जनयुद्ध लगायत जनआन्दोलनहरु र विभिन्न समयमा भएका परिवर्तनका आन्दोलनहरु को उद्देश्य समृद्ध नेपाल र समुन्नत नेपाली आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र विकासको लागि हामीले निर्वाह गरेको भूमिका, गणतन्त्र स्थापनाको लागि हाम्रो योगदान नेपाल र नेपाली जनताको महान भूमिका महत्वपूर्ण र अर्थपूर्ण रहेको छ।
यो निर्वाचन सहज अवस्थामा सञ्चालन हुन गैरहेको छैन । परम्परागत शक्तिहरूको विरुद्धमा चुलिँदै गएको जनअसन्तुष्टि र पछिल्लो नवयुवाहरूको आन्दोलन पश्चात मुलुकमा केही नयाँ हुनैपर्ने परिस्थितिका बीचमा यो निर्वाचन हुन गइरहेको छ ।
यसभन्दा अगाडि राजनीतिक कार्यकर्ताको हैसियतबाट गणतन्त्र स्थापना, संघीयताको निर्माण, समावेशिताको स्थापना र राजनीतिक अधिकार प्राप्तिको लागि म र मेरो राजनीतिक पार्टीद्वारा पुऱ्याएको योगदानको म स्मरण गर्न चाहन्छु। यहाँहरुले प्रदेश सभामा निर्वाचन गराए पश्चात वा अन्तरिम सरकार र संविधानसभामा रहँदा गुल्मी जिल्लाको पुनरसंरचनाको सन्दर्भमा र यहाँका विकास निर्माणका आधारहरू तयार गर्दै गर्दा मैले पुर्याएको योगदान विशेष गरि कालीगण्डकी करिडोर मा सेना परिचालनको निर्णय, रिडी रुद्रबेनी वामी टक्सार सडकलाई NH49 को रूपमा राष्ट्रिय राजमार्गमा समावेश गराउन रिडी खर्ज्याङ बल्कोट सडक एवं पाल्पा रिडी तम्घास सडक स्तर वृद्धि गर्दा हामीले पुऱ्याएको योगदान यहाँहरुका अगाडि विदितै छ ।
जिल्लाको खानेपानी, सिचाई, विद्यालयका पूर्वाधार, स्वास्थ्य संस्थाका भवनहरू र विद्युतीकरणमा मेरो तर्फबाट यसअघि निर्वाह गरेको भूमिकाको लागि यहाँहरुले व्यक्त गर्नुभएको सदभाव बिर्सिएको छैन। लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुँदा कोभिडको विषम परिस्थितिमा पनि नागरिकहरूको जीवनको सुरक्षाको लागि एवं अस्पताल र स्वास्थ्य संस्थाहरूको स्तर वृद्धि र स्वास्थ्यकर्मीहरूको मनोबल वृद्धि को लागि गरेको भूमिका पुनस्मरण गर्न चाहन्छु।
लुम्बिनी प्रदेशको आफ्नै विश्वविद्यालय स्थापना र नमुना सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार र गुणस्तर विकासको लागि नीतिगत व्यवस्थाहरू गरेको विषय स्मरण गर्न चाहन्छु। विज्ञान विषय अध्ययन गर्ने छात्राहरूको लागि टेन प्लस टुमा अतिरिक्त छात्रवृत्तिको व्यवस्था लगायत प्रदेशभरिका विद्यालयहरूलाई पूर्वाधार सम्पन्न बनाउन र विभिन्न विद्यालयहरूमा प्राविधिक विषयहरु समेत अध्ययन अध्यापन गर्ने व्यवस्था को लागि साथै विभिन्न पालिका स्तरका खेलमैदानहरु र खेल विकासको लागि गरिएका कार्यहरू यहाँहरुले बिर्सनुभएको छैन भन्ने विश्वासमा छु ।
अब म यहाँहरूको सामु आगामी निर्वाचनका प्रतिबद्धताहरु उल्लेखित गर्न चाहन्छु ।
गुल्मी क्षेत्र नं. १ जसमा रेसुङ्गा नगरपालिकाका वडा नं. ७ देखि १४ सम्म, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका र चन्द्रकोट गाउँपालिका हरूका ५० वडाहरू समेटिएका छन् । यस ऐतिहासिक भूमिको समग्र विकासको दायित्वसहित म यहाँहरूको सामु उपस्थित भएको छु।
पूर्वाधार र रणनीतिक सडक विकास
१. कालिगण्डकी करिडोरको रिडि रुद्रवेणी-पुर्तिघाट परल्वा खण्ड, मदन भण्डारी राजमार्गको रिडी खर्ज्याङ्ग वल्कोट खण्ड रुद्रवेणी वामीटक्सारको निर्माणाधिन सडक पुलहरुको समयमै निर्माण सम्पन्न गर्न, आवश्यक थप पुलको सम्भाव्यता अध्ययन र निर्माण एवं कालोपत्रे चोरकाटे शान्तिपुर लगायत सडक आयोजनाको दिगो मर्मत संभारको लागी ठोस योजना संचालनमा ल्याइनेछ ।
२. खर्ज्याङ्ग चारपाला गौडाकोट मजुवा शान्तिपुर रोटेखोला बरेङ्ग सडकलाई मापदण्ड अनुसारको स्तरवृद्धि सँगै गेखुङ्ग हुग्दीखोलामा सडक पुल निर्माण र नियमित यातायात संचालनको व्यवस्था गरिनेछ ।
३. कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटबाट ग्वाघा शान्तिपुर इन्द्रेगौडा सडकलाइ पुर्कोट प्युठान भालुवाङ्ग जोड्ने राष्ट्रिय राजमार्गको रुपमा अगाडी बढाइनेछ, इन्द्रेगौडा शान्तिपुर कालोपत्रे सँगै बाँकी पूर्तिघाट ग्वाघा शान्तिपुर कालोपत्रेलाई पहल गरिनेछ ।
४. सबै वडाहरुका कार्यालयमा पुग्ने वडा पहुँच मार्गहरु स्तरवृद्धि गर्न पहल गरिनेछ ।
५. रुद्रबेणी-अस्लेवा-ठूलोलुम्पेक-जयखानी-पुर्तिघाट सडक, जुहाङ्ग-जुनिया-भार्से-ग्वाघा-आरुखर्क-बरेङ सडक, गुलम्दी चेहेमी थुम्का शिवमनोज शहिद मार्ग, साहाघाट लिम्गा सत्यवती सडक, शाहाघाट स्याङ्ग कुटडाँडा ठुलोलुम्पेक सडक, चोरकाटे जुनिया टोलाकोट भार्से चन्द्रकोट सडक लगायत निर्माणाधिन प्रादेशिक र स्थानिय सडकहरु स्तरवृद्धि गर्न पहल गरिनेछ ।
६. शान्तिपुर-हराचौर-वलीवाङ्ग-सिन्दुरघसे-गल्कोट सडक, शान्तिपुर डाँडावन चन्द्रकोट सडक, शान्तिपुर रेमी टिमुरे सडक, मजुवा पिपलपाटा किसिकोट भञ्याङ्ग खालिडाँडा घामपानि सडक, हर्राचौर झरखर्क सुखौरा सडक, मजुवा दमुका म्यालपोखरा सिद्धबाबा सडक, रामपुर कालिकागाउँ झुर्म सल्यार सडक, शान्तिपुर क्वाङ्गदी खादीकोट भार्से सडक लगायत प्रादेशिक र स्थानिय सडकहरु स्तरवृद्धि गर्न पहल गरिनेछ ।
७. घुमाउने-छापचौर-बरेङ्ग सडक, बरलवा-लुङ-बरेङ्ग सडक, लुङ्गखोला अमराई खनियापाटा मल्यङ्ग लपरतुङ्ग पुर्तिघाट सडक, पुर्तिघाट सत्यवती लम्सराङ्ग पुर्तिघाट रिङ्गरोड, अर्वेनी रिङ्गरोड, ग्वाघा खारपानि सानकोट सडक, वुजुंग गिदुवा तुथुम देउराली जयखानी लमसरांग पुर्तिघाट सडक लगायत सडक आयोजनाहरु सम्पन्न गर्न र सुचारु गर्न पहल गरिनेछ ।
८. मजुवा हुल्टुङ घुर्मी भेडुवा सडक, गैंडाकोट राटामाटा परार्मी इन्द्रेगौंडा सडक, रेसुङा वार्ड नम्बर १२ को उर्लेनि बसारी सिमिचौर एयरपोर्ट हुदै अर्घाखाँची छत्रगन्ज सडक, रेसुङ्गा नगर चक्रपथ लगायत सडक आयोजना सम्पन्न गर्न पहल गरिनेछ ।
९. रातामाटा बम्घाकोट सडक, जौखोला आमपोखरा सडक, काउले रिमुवा रुद्रबेणी सडक, लामपाटा बगाउने सडक, टाहाटिम उल्लीखोला सडक, श्रस्वर रिङरोड एकलेपिपल भट्टकुंवा सातमुरे सडक लगायत का अपुरा सडक पुर्ण गराउन पहल गरिनेछ ।
१०. गैरीखुट्टा दौघा सडक, गाउंटोला सातमुरे सडक, गाउंटोला मनभाग तथा अमराइ गैरीखुट्टा सडक, हर्दिनेटा खर्ज्याङ् अपुरो सडक, भेढुवा पल्लीकोट बिरवास सडक लगायत का अपुरा सडक पुर्ण गराउन पहल गरिनेछ ।
११. विभिन्न निर्माणाधिन सडक पुल आयोजनाहरु समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजनको लागि पहल गरिनेछ ।
१२. महत्वपुर्ण बस्तीहरुलाई एकआपसमा जोड्ने साना मझौला र ठुला झोलुङ्गे पुलहरु निर्माणको लागि ठोस कार्य अगाडी बडाइनेछ ।
१३. सडकसँगै आवश्यक पुल निर्माण गरी बाह्रै महिना यातायात सञ्चालन हुने सुनिश्चित गरिनेछ ।
कृषि, पशुपालन र उद्यमशिलता
१. हानिकारक वन्यजन्तुहरु वाँदर, दुम्सी र बँदेल लगायतका जनावरहरु नियन्त्रणमा लिने नीति बनाउन पहल गरिनेछ ।
२. स्थानिय रैथाने बालीहरुको संरक्षण र व्यवसायीक विस्तारका साथै औषधीजन्य प्रयोगका लागि भाँगो खेतीलाई वैधानिकता दिने नीति निर्माणको लागि प्रभावकारी पहल गरिनेछ ।
३. स्थानिय उत्पादन र कच्चा सामग्रिमा आधारित स्थापना भएका उधोगहरु जस्तै थोर्गा रुरुक्षेत्र उखुजन्य उधोग र पैचो पसल द्वारा रुरुक्षेत्र मा स्थापित कृषि प्रशोधन उधोग, रेसुंगा जल उधोग र स्थानिय स्लेट ढुंगा उधोग हरु जस्ता उधोगहरुलाई टेवा पुग्ने निति निर्माणमा पहल गरिनेछ ।
४. कृषि र कृषकको बीमाको व्यवस्था साथै किसान पेन्सनको नीतिगत व्यवस्थाको लागि पहल गरिनेछ । कृषि र लघु उधममा परियोजना वैक स्थापना गरी कामका आधारमा सहुलियत कर्जा उपलव्ध गराउने निती निर्माण मा पहल गरिनेछ ।
५. चक्रिय कृषि प्रणाली लाई प्रोत्साहन, चक्लावन्दी र व्यवसायीक खेती विस्तार, कृषिमा यान्त्रिकिकरण र आधुनिकिकरण गरिनेछ ।
६. उचाइका वस्तीहरु विशेषगरी भार्से, हर्मिचौर लगायतमा विस्तार भएको किवी खेतिलाई विस्तार गरिनेछ । ओखर, स्याउ, टिमुर, सुन्तला, कागती, उखु र कफी लगायत संभावीत नगदेवालीहरु माटो परिक्षण र हावापानी अध्ययनका आधारमा सघन विस्तारको लागि ठोस कार्यक्रमको लागि पहल गरिनेछ । सुन्तला, कफि र उखु प्रशोधन उधोग र शित भण्डारण को व्यवस्था गरिनेछ ।
७. बाखा, पाडा, बँगुर र कुखुरा पालनमा आधारित मासु व्यावसाय र गाई भैसीमा आधारित दुग्धजन्य व्यवसायलाई प्राथमिकतामा राखिनेछ ।
८. नवप्रर्वद्धनमा आधारित जडीबुटी खेती विस्तार र प्रशोधनमा जोड दिइनेछ । जसको लागी रेसुङ्गा संरक्षित वन क्षेत्र एवं थाप्ले, सत्यवती, दिब्रुङ्ग, शालिमे वन क्षेत्रमा आधारित जडीबुटी संरक्षण र विस्तारलाई ठोस योजनामा संचालन गरिनेछ ।
९. भु-वर्गीकरण व्यवस्थापनको लागि पहल गरिनेछ । अव्यवस्थित जमिनको डिजिटल नापी प्रक्रिया अगाडी बढाइनेछ ।
सिँचाइ, नदीतट संरक्षण
> खर्ज्याङखोला, रिडीखोला, कालीगण्डकी किनार, हुग्दी खोला, भुग्दी खोला, भार्से खोला, गिदीखोला, खैरनी खोला, त्रिवेणी खोला, लुङखोला, तालखोला लगायतका जलाधार क्षेत्रहरूको संरक्षण, तटबन्ध र व्यवस्थित सिँचाइ विस्तार गरिनेछ ।
>
> विशेषगरी रामपुर फाँट, मजुवा फाँट, सोता फाँट, दमका फाँट, चोरकाटे फाँट, उल्लीखोला फाँट, खैरेनी साँघाट क्षेत्र, रुद्रबेनी फाँट, जयखानी, अर्वेनी, हर्मीचौर, चेमी, अगाह, खर्ज्याङ्ग, ग्वादी फाँट, गब्दे फाँट, फोक्सिङ्ग फाँट हरेवा टारी फाँट, भुग्दीफाँट, शान्तिपुर फाँट, टाहाटीम फाँट, बोहा फाँट, घ्युबेसी फाँट, साहाघाट फाँट, राङ्गबास, भरहर्वा फाँट, टारी फाँट लगायतका सबै उर्वरा फाँटहरूमा सिँचाइ कार्यक्रम प्रभावकारी र व्यवस्थित गरिनेछ ।
>
> अगाह, खर्ज्याङ, रिडीबजार, मजुवा, रामपुर, चोरकाटे, सोता, खल्कुकारुख, खैरेनी बजार, उल्लीखोला, रुद्रवेणी र चेहमी पादी क्षेत्रसहीत पूर्तिघाट बजार नदीकटानबाट संरक्षणको लागी तटबन्ध कार्यक्रम प्रभावकारी बनाइनेछ ।
>
पर्यटनको समग्र गुरुयोजना
गुल्मी क्षेत्र नं. १ का ऐतिहासिक, धार्मिक र प्राकृतिक धरोहरहरूको योजनाबद्ध विकास गरिनेछः
१. गुल्मी चारपाला दरबार क्षेत्र, चन्द्रकोट क्षेत्र, छत्रकोट, बम्घाकोट, खङ्गकोट, भार्सेकोट, ठुलोलुम्पेकको हचिङ्गकोट, फोक्सिङ्गकोट, कौडे दरवार लगायत इतिहास सँग जोडिएका ऐतिहासिक क्षेत्रहरुको थप खोज अनुसन्धान सहित पर्यटकीय सर्किट सम्भावनाको खोजी गरिनेछ ।
२. रेसुङ्गा क्षेत्र छत्रकोट देवालय क्षेत्र, ऐतिहाँसिक रुरुक्षेत्रधाम, दिब्रुङ्ग शिवालय क्षेत्र, भगवती मन्दिर क्षेत्र, रुद्रवेणी राम मन्दिर क्षेत्र, जयखानी कनौटा क्षेत्र, सिद्धबाबा धाम रुपाकोट, गोबन्दी सिद्धबाबा, सत्यवती क्षेत्र लगायतका धार्मिक साँस्कृतिक क्षेत्रहरुको सर्किट निर्माण गरि धार्मिक पर्यटन मार्फत स्थानीय रोजगारीको समेत सृजना हुने व्यवस्था मिलाइनेछ ।
३. चन्द्रकोट अर्जेवा झरनामा रकक्लाइमिङ्ग, छत्रकोट जिपलाइनको दिगोपन, रुरु क्षेत्रघामको तिनमुखे पुलको दिगो संरक्षण र सोन्दर्यकरण, टिमुरे तालको विकास, होसमादी झरना, भार्से देउराली डाँडा लगायतका प्रकृतिक पर्यटकीय स्थलहरुमा साहासिक पर्यटकीय सम्भावनाहरुको विकास गरिनेछ ।
४. रेसुङ्गा सामुदायिक होमस्टे रेसुङ्गा न.पा १३, धुवाखोला सामुदायिक होमस्टे कालिगण्डी ७, रानीबन सामुदायिक होमस्टे सत्यवती ८ भार्से एवम् टिमुरे सामुदायिक होमस्टे चन्द्रकोट ४ रेमीमा स्थापना भएका होमस्टेहरुलाई क्षमता वृद्धि गरी पुर्ण व्यवसायीक बनाउनेतीर ठोस योजना संचालन गरिनेछ । सम्भावीत अन्य सघन बस्तीहरुमा होमस्टे संचालनको सम्भावना खोजी गरी विस्तार गरिनेछ ।
५. वन पर्यटनका लागि रेसुङ्गा संरक्षित वन र, थाप्ले सत्यवती, दिब्रुङ्ग, शालिमे क्षेत्र कौडे हरूमा जडीबुटी, वन्यजन्तु संरक्षण र कृषि पर्यटन विकास गरिनेछ ।
६. लुम्विनी वौद्द जन्म भुमिलाई सत्यवति क्षेत्र, भार्से वौद्द स्तुपा हुदै निर्माणाधिन दिब्रुग दह वौद्द स्तुपा सँग जोड्दै सर्कीट स्थापना को लागी पहल गरिनेछ ।
७. रेपका, सिरकोट, हिलेसिद्दवावा, सत्यवति, भार्से देउराली, ग्वाघा, कौडेदरवार, कालि लेक, भुर्तुंग, वरल्वा पदमार्ग विकास गरिनेछ ।
८. रेसुंगा क्षेत्र मा पदमार्ग को विस्तार गरीने छ । अन्य सम्भावित पैदल पर्यटन ( Foot Trekking) मार्गहरुको सम्भावना खोजि गरिनेछ ।
खानेपानी, विद्युत र खनिज
१. उचाइका बस्तीहरूमा लिफ्टिङ खानेपानी प्रणाली विस्तार गरिनेछ । आयोजनाहरुको दिगोपनको लागि मर्मत संभार कोषको स्थापना र विद्युत महशुलमा सहुलियतको लागि नीतिगत व्यवस्था गर्न पहल गरिनेछ ।
२. “एक घर एक धारा” कार्यक्रमलाई नागरिकको अधिकारका रूपमा प्रभावकारी कार्यान्वयन गरिनेछ ।
३. विद्युतको पहुँच नपुगेका विपन्न नागरिकलाई निःशुल्क विद्युतीकरणको लागि सहजिकरण गरिनेछ । लोड असन्तुलन भएका भूभागमा थप ट्रान्सफर्मर र सबस्टेशन स्थापनाको लागि पहल गरिनेछ । नयाँ जलविद्युत आयोजनाको अध्ययन र सम्भावित क्षेत्रहरुमा खनिज अन्वेषणमा पहल गरिनेछ ।
४. समस्याग्रस्त सामुदायिक विद्युतीकरणलाई संस्थागत सुधारको लागि सहजिकरण गरिनेछ ।
५. खनिज पदार्थ धातुहरू रहेका सम्भावित खानीहरूको अबस्था भौगर्भिक / पुरातात्विक अध्ययन तथा उत्खनन गरि ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने नीति अबलम्बन गरिने छ ।
शिक्षा र स्वास्थ्य
> समुदाय स्तरबाट संचालित सामुदायिक क्याम्पासहरु संचालनको लागि दिगो नीतिगत व्यवस्था र उपायहरुको खोजी गरिनेछ । सामुदायिक क्याम्पसका समस्या संघीय तहबाट समाधान गर्ने पहल गरिनेछ ।
>
> सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार प्रविधिकरण र गुणस्तरियताको लागि पहल गरिनेछ । सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षकहरु, कर्मचारीहरुको वृत्तिविकास र पेशागत सुरक्षाको सुनिश्चिताको लागि नीतिगत व्यवस्था गर्न पहल गरिनेछ । विद्यालयहरुमा आवासीय सुविधा उपलब्ध गराउन ठोस पहल गरिनेछ ।
>
> प्राविधिक शिक्षालयहरुको दिगोपन प्रभावकारिताको लागि ठोस योजना निर्माण गरिनेछ ।
>
> तम्घास अस्पताल सुदृढीकरण, श्रृङ्गा, रुरु, जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति, गुल्मी दरबार र चन्द्रकोट आधारभूत अस्पतालको दिगो सञ्चालन, छत्रकोट, रुरुक्षेत्र, कालीगण्डकी र सत्यवती आधारभूत अस्पतालहरूको शीघ्र निर्माण कार्य सम्पन्न गर्न पहल गरिनेछ ।
>
> सबै स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाइनेछ ।
>
> विपन्नहरुको स्वास्थ्य सेवाको सारथी बनीरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पहल गरिनेछ ।
>
एकीकृत शहरी बस्ती विकास कार्यक्रम
१. जिल्लाको उपल्लो तम्घास, गौंडाकोट, खर्ज्याङ्ग, भेडुवा, बिरबास, बलेटक्सार, रिडी, पुर्तिघाट, खैरेनी, मजुवा र शान्तिपुर जस्ता शहरउन्मुख बजारहरुको दिगो विकासको गुरुयोजना तयार गरि व्यवस्थित आर्थिक र शैक्षिक केन्द्रको रुपमा विकास गरिनेछ ।
२. सिमान्तकृत समुदाय दलित, बोटे, माझी, कुमाल र अल्पसङ्ख्यक र आर्थिक रुपमा विपन्न नागरिकहरुको लागि एकीकृत बस्ती विकास गरी सुरक्षित आवासको व्यवस्था गरिनेछ ।
युवा तथा खेलकुद
१. युवाहरुलाई स्वदेशमै जिविकोपार्जन गर्ने वातावरण निर्माण गर्न पहल गरिनेछ । वैदेशिक रोजगारी बाध्यता होइन विकल्पको रुपमा लिइनेछ। युवामैत्री नीति निर्माणमा पहल गरिनेछ ।
२. प्रत्येक स्थानिय तहहरुमा पालिका स्तरको रङ्गशाला निर्माणलाई प्रभावकारि बनाइनेछ । विभिन्न खेल विधासँग सम्बन्धित खेलमैदानहरुलाई प्राथामिकतामा राखिनेछ । प्रत्येक वडाहरुमा भएका खेल मैदान र कभर्डहल हरु लाई व्यवस्थित गर्ने साझेदारीको नीति लिइनेछ ।
३. सफल खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गर्ने नीतिको लागि पहल गरिनेछ ।
सामाजिक समावेशिकरणमा हाम्रो दृष्टिकोण
सदियौंदेखि पछाडी पारिएका वर्ग, जात, लिङ्ग, समुदाय र भुगोललाई नीति निर्माणको मुख्य स्थानमा सहभागीता बनाउने र शशक्तिकरण गर्ने सन्दर्भमा राज्य र नेतृत्वको मुख्य भुमिका रहेको हुन्छ । महिलाहरु, जनजातीहरु, दलितहरु, सिमान्तकृत समुदाय, अपाङ्गता भएका नागरिक, बालवालिका एवम् वृद्ध वृद्धाहरुमैत्री नीति नियम संरचना दृष्टिकोण र आचरण हाम्रो मुख्य प्रथामिकता रहेको छ ।
अन्त्यमा
आदरणीय न्यायप्रेमी मतदाता महानुभावहरू,
गुल्मी क्षेत्र नं. १ का प्रत्येक नागरिकहरु, बस्ती, फाँट, खोला, डाँडा र धामसँग मेरो आत्मीय सम्बन्ध छ । यो प्रतिबद्धता कागजमा सीमित शब्द होइन । भूगोल, इतिहास र जनभावनासँग जोडिएको साझा संकल्प हो। यहाँहरुको भाइ, छोरा, साथी र सेवक हुनुको नाताले यहाँहरुको विश्वास डगमगाउन दिने छैन ।
आफ्नो अमुल्य मत चुनाव चिन्ह तारामा मतदान गरि सेवा गर्ने अवसर दिनुहुन सबैमा हार्दीक अनुरोध गर्दछु ।
धन्यवाद ।
२०८२/११/०३
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










