बागलुङ: गल्कोट नगरपालिका-४, चमुवास्थित निलुवा क्षेत्र अहिले दिनदिनै सुनसान बन्दै गएको छ। वैदेशिक रोजगारी, शिक्षा र आधारभूत सेवाको खोजीमा गाउँवासी पलायन भएपछि कहिल्यै नथाक्ने चहलपहलले भरिएको निलुवा आज सुनसान गल्ली र घाँसेमैदानमा मात्र सीमित भएको छ।
स्थानीय अम्मर बहादुर थापा सुबेदि भन्छन्, “पहिले करिब ४० वटा गोठ हुने ठाउँमा अहिले शून्यता मात्र छ, गाउँभर काम गर्ने उमेरका सबै विदेशिएका छन्, हामीजस्ता वृद्ध मात्र बाँकी छौं।”
संघीयतापछि सडकसहितका केही संरचना पुगे पनि रोजगारी र जीवनयापनका विकल्प नहुँदा गाउँ झनै खाली हुँदै गएको हो। खेतीपाती गर्ने जनशक्ति कमी भएपछि जमिन बाँझो बन्न थालेको स्थानीयले बताएका छन्।
निलुवामा सयपत्री बहुउद्देश्य सहकारीले दुई वर्ष चक्लाबन्दी गरी काम गरे पनि परिणाम देखिएन। त्यस्तै, सम्भावना हेरेर लगाइएका ओखरका बोटबिरुवाहरू पनि मौसम र वातावरण अनुकूल नहुँदा फस्टाउन सकेका छैनन्।
पुराना गोठहरू भग्नावशेष बनेका छन् भने त्यहाँ निर्माण गरिएको मन्दिरसमेत जनसंख्या घट्दै गएपछि अस्तित्वमै संकटमा पर्न सक्ने चिन्ता स्थानीय समाजमा छ।
समाजसेवी सुवेदी भन्छन्, “तत्काल रोजगारी सिर्जना, कृषि प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवा बलियो पार्न सके मात्र निलुवालाई बञ्जंगल हुनबाट जोगाउन सकिन्छ।”
यातायातका लागि मोटरबाटो पुगे पनि अहिले झाडीले ढाकिँदै गएको छ। चमुवाबाट ४५ मिनेटको यात्रापछि पुगिने निलुवामा पहिले विद्यालयहरूले वनभोज गर्ने परम्परा थियो, तर अहिले त्यो रमझम हराउँदै गएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |