गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य मालिका मन्दिर र जिल्लाकै पहिलो होमस्टे स्वाँरा सामुदायिक होमस्टेसम्म पुग्ने सडक सहज बन्दै गएको छ।
उक्त सडक खण्डमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मात्रै अत्यधिक जोखिमयुक्त ४ वटा ठाउँमा ३ सय ४२ मिटर सडक ढलान गरिएको छ। गत आर्थिक वर्षमा वर्ष उक्त सडक खण्ड अन्तर्गत २ ठाउँमा २ सय ५० मिटर सडक ढलान गरिएको थियो।
भुवाचिदी देखि स्वाँरासम्म पुग्ने कुल साढे सात किलोमिटर दुरीको सडक खण्ड अन्तर्गत अत्यन्तै जोखिमयुक्त र असहज खण्डमा गत वर्ष र चालु आर्थिक वर्षमा गरी कुल ५ सय ९२ मिटर सडक खण्ड ढलान र केही खण्ड कालोपत्रे गरी सडक सहज बनाईएको छ ।
चालु आर्थिक वर्षमा उक्त सडक ढलानका लागि लुम्बिनी प्रदेश सरकारबाट ५५ लाख र मुसिकोट नगरपालिकाबाट ५५ लाख बजेट विनियोजन भएको थियो । कुल १ करोड १० लाख लागत साझेदारीमा सडक निर्माणका लागि जि.सि. कन्ट्रक्सन एण्ड सप्लायर्ससंग मिति २०८१ मसिंर २३ गते ७३ लाख ३६ हजार ९२ रुपैयाँमा, २०८२ जेठ १५ गते भित्र सक्ने गरी सम्झौता भएको थियो ।
त्यस्तै सोही खण्डमा नाली निर्माण र सडक चौडा गर्ने लगायतका कामहरु पनि भएका छन् । उक्त सडक खण्डलाई स्तरोन्नति गर्ने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३ करोड रुपैयाँ संघिय सरकारबाट समेत विनियोजन भएको नगरप्रमुख जीवलाल खरेल जीवनले जानकारी दिनुभयो ।
लामो समयदेखि उक्त सडक खण्डमा सवारी साधन चलाउँदै आउनुभएका ओलीले निकै अफ्ठयारो क्षेत्रमा ढलान हुँदा सहज भएको बताउनुभयो । उहाँले यसले विभिन्न ठाउँबाट मालिका दर्शनका लागि पुग्ने पर्यटक संगै स्वाँरा होमस्टेसम्म पुग्ने यात्रुका लागि निकै सहज बनाएको बताउनुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |