Hi-Speed Computer

Awareness Campaign

भूकम्पले उठीबास बनाएकाे गुल्मीका हरिप्रसाद र भारतालाई चटपटेले उकास्यो



सन्तोष महतरा
२ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी: भूकम्पले घर बस्नै नमिल्ने गरी चर्कियो । गोठ भत्किँदा एक लैनोसहित दुई भैंसी मरे । ०७२ सालको भूकम्प सम्झिँदा पनि झसङ्ग हुन्छन्, धुर्कोट गाउँपालिका-७ वाग्ला खर्गेटाका हरिप्रसाद घिमिरे।

०७२ वैशाख १२ मा गएको भूकम्पले घरगोठ र भैंसीमा क्षति मात्र होइन, घिमिरे परिवारलाई गाउँबाटै विस्थापित बनायो । पहिलो चरणको भूकम्प प्रभावित पुनःनिर्माणमा घिमिरेको घर परेन । घिमिरेसँग घरगोठ बनाउने र भैंसी किनेर पुरानै स्थितिमा फर्कने कुनै आर्थिक अवस्था थिएन । त्यसपछि दम्पती दुई छोरा बोकेर गाउँ छाड्न बाध्य भए ।

०७१ अघि भैरहवामा सिकेको काम हरिप्रसादको जीवनमा एक दीर्घकालीन पेसाका रुपमा आइपुग्यो । हरिप्रसाद र उनकी श्रीमती भारता घिमिरेले गुल्मी सदरमुकाम तम्घासमा ‘घिमिरे चटपट’ नामबाट चटपटे व्यापार थाले । ०७२ सालकै कात्तिक १२ मा सदरमुकाम तम्घास पसेका घिमिरे दम्पतीले सुरुबाटै चटपटे व्यापर थालेका हुन् ।

Forest
Forest
Ad.

चटपटेमा राम्रै कमाइ हुने भएपछि सुरुवाती चरणमा एकठाउँमा हुने व्यापार पछि दुई ठाउँबाट गर्न थाले । उमेरले हरिप्रसाद ५० वर्ष पुगे । भारता ४५ वर्ष पुगिन् । उनीहरू बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म तम्घासको चिदीचौर खानीगाउँ निस्कने चोकमा बसेर चटपटे व्यापार गर्छन् ।

दैनिक हरिप्रसादले २ हजार र भारताले १ हजार ५ सय रुपैयाँको चटपटे बेच्छन् । जसबाट ३५ प्रतिशत हाराहारी आम्दानी हुने हरिप्रसादले बताए । थोरै लगानीबाट सुरु गर्न सकिने चटपटे व्यापरमा आफूहरूले २० हजार रुपैयाँमा तम्घासमा आएको र त्यसैबाट व्यापार सुरु गरेको हरिप्रसाद बताउँछन् ।

‘भूकम्पले उठीबास लगाएपछि चटपटे व्यापर रोज्यौं,’ उनले भने, ‘हाम्रा लागि यो व्यापार सन्तोषजनक नै छ ।’ उनले आफ्नो ऋण तिर्न, छोराहरूको अध्ययन र घरखर्च राम्रैसँग पुगेको बताए ।

हरिप्रसादको ३ लाख ऋण थियो । उनी २०७१ मा वैदेशिक रोजगारका लागि कतार गएका थिए । कम्पनी राम्रो नपरेपछि १५ महिनामै फर्कनुपरेको थियो । त्यतिबेलाको उक्त ऋण, घर पुनःनिर्माण गर्दाको ३ लाख ऋण र तम्घास आउँदाको २० हजार ऋण चटपटे व्यापारबाटै तिरे ।

Awareness by SKF

पहिलोपटक घर भूकम्प पुनःनिर्माणमा नपरे पनि पछि त्यसको छनोट भएपछि ३ लाख सहयोग आएको र आफूले ३ लाख थपेर गाउँमै घर बनाएको उनले बताए । एक छोरा माध्यमिक शिक्षासम्मको अध्ययन पूरा गरेपछि वैदेशिक रोजगारीका लागि बाहिर छन् । अर्को छोरा कक्षा १२ मा सिभिल इन्जिनियरिङ पढिरहेका छन् ।

घिमिरे दम्पती तम्घास मिलनचोकमा बस्छन् । रेसुंगा नगरपालिकाले फुटपाथ व्यवसायीलाई स्थान तोकेपछि उनीहरू चिदीचौर खानीगाउँ निस्कने चोकमा बसेर व्यापर गर्छन् । डुलेर चटपटे बेच्दा छिटो र सहज रुपमा बिक्ने हरिप्रसादले बताए । ‘चटपटे व्यापारमा त्यस्तो अरु समस्या त छैन,’ उनले भने, ‘ग्राहक कुरेर बस्नुपर्छ, डुल्दा जस्तो सहज हुँदैन ।’

कोरोना महामारीबाट भएको लकडाउनअघि चटपटेबाट अझ राम्रो आम्दानी हुने गरेको घिमिरे दम्पतीको अनुभव छ । त्यसपछि भने विस्तारै व्यापारमा गिरावट आएको छ । जसका कारण आम्दानी पनि घट्दो छ । तर उनीहरू सन्तुष्ट छन् ।

‘व्यापार बिस्तारै कमी हुँदै गएको छ, चहलपहल नै घट्दो छ,’ हरिप्रसादले भने, ‘हामी सन्तुष्ट छौं, हामी आफैले रोजेको व्यवसाय आनन्द छ ।’ उनले समयमा सिकेको सीप अप्ठ्यारोमा काम लागेको बताए । ‘हामी सँगै बसेर एउटै व्यवसाय गरेका छौं,’ भारताले भनिन्, ‘कमाइ थोरैधेरै भए पनि सन्तुष्ट नै छौं ।’

भूकम्पले दिएको चोट भुल्ने वातावारण पनि चटपटे व्यापारले दिएको छ । त्यसबेला भूकम्पले उठीबास नै लगाए पनि अहिले चटपटेमा घिमिरे दम्पती स्थापित छन् । उनीहरूले अप्ठ्यारो परिस्थतिमा पनि धैर्य गरेर व्यापर व्यावसाय गरेको जसबाट सफलता मिलेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो