गुल्मी: मुसिकोट नगरपालिकाको केन्द्र वडा नं –७ स्थित वामीटक्सार बजारमा सञ्चालित पसल व्यवसायहरुको अनुगमन गरिएको छ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजना, मुसिकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतको समन्वयमा बजार अनुगमन गरिएको हो।
वामीटक्सारको मुख्य बजार क्षेत्रहरु पल्टार, जिपपार्क, बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला पारिएका म्याद सकिएका अखाद्य वस्तु र घर निर्माण गर्दा प्रयोग हुने पेन्ट जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका अधिकृत राजिव अर्यालले जानकारी दिनुभयो । सो क्रममा ७८ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका विभिन्न सामाग्री फेला पारेर नष्ट गरिएको उहाँले बताउनुभयो।
बजार क्षेत्रमा सञ्चालित किराना पसल, मदिरा पसल, हार्डवयर, औषधि पसल, कपडा पसल तथा होटेलहरु गरी ६५ वटा पसलहरुमा अनुगमन गरिएको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको अर्यालले बताउनुभयो ।
अनुगमनका क्रममा केही व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएकोले त्यस्ता व्यवसायीहरुलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिईएको छ । त्यस्तै उपभोक्ता हित संरक्षणको लागि सचेत गराउँदै सुधारका लागि सुझाव सहित आवश्यक लिखित निर्देशन दिईएको अर्यालले जानकारी दिनुभयो ।
मंगलबार पनि चन्द्रकोट गाउँपालिका स्थित शान्तिपुर बजार अनुगमन गरिएको थियो । उक्त स्थानमा ४० हजार रुपैयाँका म्याद गुज्रिएका सामान जफत गरि नष्ट गरिएको कार्यालयले जनाएको छ।
सचेत बन्दै व्यवसायी
बजार अनुगमनका क्रममा यस पटक धेरै व्यवसायीहरु सचेत बनेको भेटिएको छ । स्थानीय तह र जिल्ला स्थित कार्यालयबाट विभिन्न चरणमा हुने अनुगमनमा यस अगाडी वामीटक्सारमा सञ्चालित अधिकांश किराना पसलहरुमा अखाद्य र म्याद गुज्रेका सामाग्रीहरु भेटिने गरेका थिए । तर यसपटकको अनुगमनमा भने खाद्यान्न तथा किराना पसलहरुमा कमै मात्रामा म्याद गुज्रेका सामाग्रीहरु भेटिएका छन् ।
गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका महासचिव सुन्दर प्रधानले पटक पटकको बजार अनुगमन र उद्योग वाणिज्य संघले पनि समयसमयमा विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दा बजार सुधारोन्मुख देखिएको बताउनुभयो । कुनै समय वामीटक्सार क्षेत्रका खाद्यान्न पसलहरुमा अनुगमन गर्दा अत्यधिक मात्रामा म्याद गुज्रेका सामाग्रीहरु भेटिने र पसल व्यवसायको दर्ता नविकरण नहुने अवस्था रहँदै आएको थियो ।
बजार क्षेत्रमा रहेका व्यवसायीक फर्महरू सुधार भएको भन्दै उहाँले आगामी वर्ष अझै बढी सुधार हुने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो पटक अनुगमनका क्रममा म्याद नाघेका वा उपभोगका लागि असुरक्षित मानिने वस्तु बिक्रीमा धेरै सुधार आएको दाबी उहाँले गर्नुभयो ।
बुधबार भएको अनुगमनमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनाथ गिरी, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रेमराज खनाल, भेटेरीनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रका रञ्जित महतो, जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका गोपाल कार्की, कृषि ज्ञान केन्द्रका कृषि अधिकृत केशवराज खनाल, मुसिकोट नगरपालिका कृषि अधिकृत आयुष्मा घिमिरे, नगरपालिकाका प्रशासन सहायक सुमन खरेल, गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मण फुल्लेल, प्रहरी चौकी वामीटक्सारका ईन्चार्ज प्रकाश शाही, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष सागर भण्डारी लगायत सुरक्षाकर्मी, नगरपालिकाका कर्मचारी, नगरप्रहरी लगायतको उपस्थिति रहेको थियो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |