गुल्मी, फागुन १७ गते: गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन्। रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको आयोजना एवम् गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ५३२ जनाले सेवा लिएका हुन्।
तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आज (शनिबार) एक दिन मात्र सञ्चालन भएको शिविरमा इको २९६ जना, इसिजी २०४ जना र अन्य विभिन्न ल्याब परीक्षण १४६ जनाले गर्नुभएको रोटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा विशेषज्ञ डाक्टरबाट मुटुरोग, मृगौला छातिरोगसहित विभिन्न रोगहरुको जाँच तथा उपचार सेवा प्रदान गरी सबै प्रकारका औषधि नि:शुल्क वितरण गरिएको छ। जनरल फिजिसियन डाक्टरबाट सबै प्रकारका रोगहरुको चेक जाँच गरिएको हो।
यस शिविरमा गुल्मी जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केहि स्थानका नागरिकहरुले समेत सेवा लिनुभयो। नि:शुल्क रुपमा आफ्नै गाउँ ठाउँमा सेवा लिन पाउँदा नागरिकहरु खुसी देखिएका हुन्। शिविरमा रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, इस्मा गाउँपालिका, छत्रदेव गाउँपालिका, धुर्कोट गाउँपालिका, मालिका गाउँपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पनि सहयोग रहेको थियो। त्यस्तै, नविल बैंक, एनएमबी बैंक, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआइ बैंक, एनआइएमबी बैंक सहयोगी संस्थाका रुपमा थिए।
त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले सबैले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। जनताको स्वास्थ्यप्रति राज्यका सबै तह संवेदनशील रहन जरुरी रहेको भन्दै उहाँले हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने बताउनुभयो। स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएको हुँदा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख पन्थीले बताउनुभयो।
रोग लाग्न नदिन स्वास्थ्यप्रति सबै सचेत हुन जरुरी छ। जनताको शिक्षा र स्वास्थ्यको क्षेत्रमा ख्याल गर्नु सरकारको प्रमुख दायित्व रहेको सहभागीहरुले बताएका छन्। शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विशाल केसी, डा. अभिषेक शाक्य, डा. जितप्रसाद घिमिरे र जनरल फिजिसियन डा. मिलन पोख्रेलसहितको ५५ जनाको टोलिले निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्नुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |