गुल्मी: साना किसान विकास आयोजनाको रुपमा वि.सं. २०४५ सालमा साविक बडागाउँ गा.वि.स. मा स्थापित यस संस्था वि.सं. २०६१ माघ २९ गते सहकारीको रुपमा हस्तान्तरण भएको थियो। हस्तान्तरण अघि र पछि विभिन्न कालखण्डहरुमा आरोह अवरोह पार गर्दै आज संस्था आन्तरिक श्रोत र नाफाको हिसाबले सक्षम भईसकेको छ।
यस संस्थाले साना किसानहरुसंग छरिएर रहेको पूँजीलाई शेयर र बचतको रुपमा संकलन गर्ने, संकलित बचतलाई सदस्यको आयमूलक क्षेत्रमा ऋणको रुपमा लगानी गर्ने, रेमिट्यान्स सेवा, शेयर सदस्य र सदस्यले पालेका पशुहरुको बिमा गर्ने/गराउने, मकै बीउ उत्पादन, कोशेली घर संचालन लगायतका धेरै वित्तीय तथा गैह्र वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ।
यसका अतिरिक्त चालू आ.व. २०८१/०८२ मा संस्था, नगरपालिका र यस क्षेत्रकै गौरवको विषय कफि पकेट कार्यक्रमलाई मुसिकोट नगरपालिका, गुल्मी र संस्थाको ५०/५० प्रतिशत (१२/१२ लाख) लागत साझेदारीमा पहिलो चरणको कार्यक्रम सञ्चालन हुनेछ। कफिको ३ मोडेल (Model block, Demostration block, coffee school block) मा बगैंचा निर्माण हुनेछन। अर्सौँदीको द्वाटा र रिङ्दाली स्थान तोकिएको छ। परियोजनालाई सफलता पूर्वक सम्पन्न गर्न यम बहादुर घिमिरेको संयोजकत्वमा लेखा समिति, प्रेम जिसीको संयोजकत्वमा जनशक्ति व्यवस्थापन समिति, चुरा बहादुर पछाईको संयोजकत्वमा भौतिक सामाग्री व्यवस्थापन समिती, हरि प्रसाद छन्त्यालको संयोजकत्वमा बाह्य समन्वय समिती र गुप्त बहादुर कार्कीको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन समिति समेत गठन गरिएको छ।
संस्थाका अध्यक्ष हरि छन्त्याल र संयोजक गुप्त बहादुर कार्कीले भन्नुभयो, ‘यस परियोजना सञ्चालन गर्न गइरहेका छौँ। यस परियोजनालाई पनि अन्य कार्यक्रमलाई जस्तै सफल बनाउन शेयर सदस्य ज्यूहरुको साथ र सहयोग रहनेछ भन्ने कुरामा विश्वास लिएको छौँ। संस्थाको पूर्ण स्वामित्व र व्यवस्थापनमा मुसिकोट नगरपालिका-२ मा संचालन हुने परियोजनाले धेरै शेयर सदस्यहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै अरेविका जातका (बर्बोन, पाकस, सेलेक्सन, पाकामारा, कटुरा, टिपिका) जातको अर्गानिक कफिको उत्पादन समेत गर्नेछ। करिब १४० रोपनी क्षेत्रफलमा लगाईने कफिले करिब ४ वर्ष पछि उत्पादन दिन शुरु गर्नेछ।’
अर्गानिक उत्पादनको लागि गोठे मलको प्रयोग गर्नुपर्ने, बाहिर मल खरिद गर्नका लागि मलको अभाव, ढुवानी खर्च बढी लाग्ने आदि कारणले यो वर्ष लगाईने कफि र फलफुलका करिब १८,००० बिरुवाको लागि गोठे मलको आवश्यकता परेको हुँदा प्रत्येक शेयर सदस्यहरुबाट प्रति शेयर सदस्य १ बोरा (गाई, भैंसी, बाख्रा) को मल उपलब्ध गराई सहयोग गर्नुहुन हार्दिक अनुरोध गरेको पनि संस्थाका अध्यक्ष हरि छन्त्याल र संयोजक गुप्त बहादुर कार्कीले जानकारी गराउनु भएको थियो।
साथै ५० के.जि. बोराको १ बोरा मल बराबर रु. ५० रकम समेत उपलब्ध गराईनेछ र मल अन्तर समूह मार्फत टोल टोलमा ट्रयाक्टर मार्फत ढुवानी गर्ने व्यवस्था संस्थाले गर्ने पनि जानकारी गराउनु भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |