गुल्मी, फागुन १० गते: गुल्मीको मदाने गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ मदाने गाउँपालिका र महिलातर्फ वडा नम्बर-३, सिर्सेनीले जितेको छ। तेस्रो अध्यक्ष कपको अवसरमा अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रथम भएको आयोजक मदाने गाउँपालिकाले मुसिकोट नगरपालिकालाई ३-२ को सेटले हरायो।
प्रथम हुँदै मदाने गाउँपालिकाले एक लाख ११ हजार १११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो अध्यक्ष कपको उपाधि जितेको मुसिकोट नगरपालिकाले यस पटक द्वितीय हुँदै ५५ हजार ५५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। तृतीय भएको इस्मा गाउँपालिकाले मालिका गाउँपालिकालाई ३–२ को सेटले हरायो। तृतीय भएको इस्मा गाउँपालिकाले २५ हजार ५५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
मदाने गाउँपालिका अन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम भएको वडा नम्बर–३, सिर्सेनीले वडा नम्बर–५, मलागिरीलाई २–० सेटले हरायो। प्रथम हुँदै सिर्सेनीले ३३ हजार ३३३ रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय भएको मलागिरीले २२ हजार २२२ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय भएको वडा नम्बर–६, पुर्कोट दहले वडा नम्बर–७ भनभनेलाई २–० सेटले हरायो। तृतीय भएको पुर्कोट दहले ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रुपमा अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा मदानेका जीवन विक र वडास्तरीय महिला भलिबल प्रतियोगितामा सिर्सेनीका अनिशा घर्तीलाई नगदसहित ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका खिम बहादुर कुँवरले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, वडा अध्यक्षसहित जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीलगायतले पुरस्कार प्रदान गर्नुभयो।
मदाने गाउँपालिका वडा नम्बर – ७, भनभनेस्थित कुडापानी खेलमैदानमा फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि सुरु भएको तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तर्गत अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा विभिन्न सात पालिका र वडास्तरीय महिला भलिबल प्रतियोगितामा मदाने गाउँपालिका अन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगितामा सात वटै वडाले सहभागिता जनाएका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |