गुल्मी, फागुन ९ गते: लुम्बिनी प्रदेशले सुरु गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान गुल्मीमा पनि सुरु गरिएको छ। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै विद्यालयमा सुरु गरेको यस अभियानको गुल्मीको मदाने गाउँपालिकाको वडा नम्बर -७ भनभनेस्थित दिपक माध्यमिक विद्यालयबाट लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले शुभारम्भ गर्नुभयो।
विद्यालयमा पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले लुम्बिनी प्रदेशले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रदेशका १७ वटा विद्यालयबाट एकैसाथ सुरु गरेको हो। यसै क्रममा मन्त्री पन्थीले आफुले अक्षर प्रारम्भ गर्नुभएको यस विद्यालयमा पुगेर अभियानको सुरु गर्नुहुँदै प्रदेश सरकारले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम ल्याएको बताउनुभयो।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानले विशेष भूमिका खेल्ने भन्दै उहाँले सबै बालबालिकाको रोजाइमा सामुदायिक विद्यालय बनाउन जरुरी रहेको बताउनुभयो। विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, सरोकारवाला सबै पक्ष लाग्नुपर्नें बताउनुभयो।
सामुदायिक विद्यालयप्रति भराेसा र विश्वास बढाउनका लागि अभियानले विशेष टेवा पुर्याउने बताउनुभयो। अभियानको माध्यमबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने लक्ष्य राखिएको मन्त्री पन्थीको भनाइ छ। विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेत समेट्ने विश्वास गरिएको छ। शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको बताउनुभयो।
त्यसैगरी ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको शुभारम्भ गर्न जिल्लाको गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर – ७, दरबारस्थित इश्वरी माध्यमिक विद्यालयमा लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की र कालीगण्डकी गाउँपालिकाको वडा नम्बर – ७, छापचौरस्थित दुर्गा भवन माध्यमिक विद्यालयमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल पुग्नुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |