गुल्मी, फागुन ७ गते: गुल्मीको मदाने गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता भनभनेस्थित कुडापानी खेलमैदानमा सुरु भएको छ। तेस्रो अध्यक्ष कप अन्तर्गतको अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा आठ टिम र वडास्तरीय महिला भलिबल प्रतियोगितामा मदाने गाउँपालिका भित्रका सातवटै वडाको सहभागिता रहेको छ।
आज राष्ट्रिय प्रजातन्त्र दिवसको दिनदेखि सुरु भएको प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुने भएको हो। प्रतियोगिताको उद्घाटन खेलको पहिलो खेल वडास्तरीय महिला भलिबल प्रतियोगिता वडा नम्बर – १ अग्लुङ्ग र वडा नम्बर – ६ पुर्कोटदहबीच भएको छ। अग्लुङ्गलाई सोझो २ सेटमा हराउँदै पुर्कोटदहले जितेको छ। अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मालिका गाउँपालिकाबीच उद्घाटनको दोस्रो खेल भएको हो। तीन सेटमा मालिका गाउँपालिकाले जितेको छ।
मदाने गाउँपालिकाद्वारा आयोजित तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन गर्ने क्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले खेललाई विकाससंग जोड्न आवश्यक रहेको भन्दै खेलको माध्यमबाट खेलाडीहरुलाई सबल र सक्षम बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले खेलका नियम पूर्णरुपमा पालना गरी अनुशासित भएर प्रतियोगितामा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो।
स्थानीय तहभित्रका भलिबल खेलाडीहरुका बीच प्रतिस्पर्धासंगै आपसमा परिचय पनि हुने त्यसबाट खेलाडीहरुका असल अभ्यास सिक्ने र सिकाउन पनि सहज हुने भन्दै समन्वय प्रमुख खत्रीले महिला खेलाडी उत्पादनमा पनि गाउँपालिकाले देखाएको अग्रसरताप्रति निकै प्रसंशा गर्नुभयो। खेलाडी उत्पादन र खेल क्षेत्रको उपल्लो तहसम्म खेलाडीलाई पुर्याउन प्रतियोगिताबाट निकै सहयोग पुग्ने उहाँको भनाइ छ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसात गरी खेलका माध्यमबाट गाउँपालिकालाई चिनाउन विगतदेखि नै अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताउनुभयो। गाउँपालिकासंगै सबैलाई खेलकुदको माध्यमबाट चिनाउन जरुरी रहेको भन्दै उहाँले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण सबै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताअन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगिता र अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताउनुभयो। वडास्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ रुपियाँ, दोस्रो हुनेलाई २२ हजार २२२ रुपियाँ र तेस्रो हुनेलाई ११ हजार १११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११ रुपियाँ, दोस्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ र तृतीय हुनेलाई २५ हजार ५५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको उद्घाटनमा मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, नेकपा (एमाले) मदाने गाउँपालिका सचिव लोकहरी कुँवर, वडा अध्यक्ष हिमाल खड्कालगायतले शुभकामना मन्तव्य राख्नुभएको हो। कार्यक्रमको सहजीकरण बसन्त कुँवरले गर्नुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |