गुल्मी: साता-दश दिन सम्म निरन्तर रिमझिम-रिमझिम पानी परिरहन्थ्यो। चिसो साँठ (बतास) चलिरहन्थ्यो। न्यानो ओढ्ने कपडा भइदिए साह्रै मिठो निद्रा लाग्थ्यो। जसलाई माघे झरी भनिन्थ्यो। उतिबेला ठुला घरानामा हिमाली भेगबाट बेच्न ल्याईएका राडीपाखी किनेर राख्थे। गरिब परिवारमा पहिल्यै भुल्ला भुल्ली तुनेर ओढ्ने कपडाको जोहो गर्थे।
सिलाङ्गे बर्को र रेडियोको च्यादर झिकाएर ओढेर हिँड्थे मानिसहरु। आमा दिदिबहिनीहरुले सुईटर, टोपीहरु कुरुसले गाउँ मै बुनेर राख्थे। यसपालिको माघ भरि त्यसै माघे झरीको व्यग्र प्रतिक्षा गरियो। माघ सकिएर फागुन लाग्यो तर माघे झरी एकादेशको कथा जस्तै बन्न पुग्यो।
हामी गाउँ-घरका पुरानो पिढीँलाई माघे झरीको मिठो स्मरण छदैछ। माघे झरीलाई ध्यानमा राखी पशु चौपायाका लागि नल परालको व्यवस्था गरिन्थ्यो। केहि हरियो घाँसको जोहो पनि गरेर बसिन्थ्यो।
आगो ताप्नका लागि चिरुवा दाउरा साता-दश दिनका लागि पुर्व तयारी गरिन्थ्यो। भुटेर खाने मकै भट्ट (भटमास) चुलोको वरिपरि बसेर आगो ताप्दै खाइन्थ्यो।
तातो झोलिलो पदार्थका लागि गहतको दाल, झिलिङ्गे (सिल्तुङ्ग) लगायतका गेडागुडी आमा, हजुरआमाहरुले जोहो गरेर बसेका हुन्थे। सिद्रा र जिम्बुले झानेको मासको फाडो र ढिडो तात्तै खाईन्थ्यो।
दलित जनजातीहरुको घरमा कोदोको तीनपाने (रक्सी) बनाउथे। लोकल कुखरा काट्थे। विशेषतः जनजाती वस्तीमा डम्फु, मादल संगै सुनिमाया, यानिमाया, ठाडो भाका लगायतको झाम्रेको खाल जम्थ्यो। एक प्रकारको पर्व जस्तै बन्थ्यो माघे झरी। तर, जलवायु परिवर्तनले माघे झरीलाई प्रेमी-प्रेमीकालाई जस्तो गरी चुँडेर लगेको महसुस भएको छ।
आज फागुन ३ गते बिहानै देखि गुल्मीको सदरमुकाम तम्घासमा फागुनमै भए पनि माघे झरी पर्छ कि जस्तो मौसम देखियो। तर बिहानभरी प्रतिक्षा गर्दा पनि माघे झरीको सुरताल देखिएन र केहि बर्ष अघि सम्मको माघे झरीको निकै याद आयो। सायद तपाईंलाई पनि आयो कि?
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |