मुसिकोट, गुल्मी: वामी विश्व सम्पर्क मञ्च, मूल समितिको तेश्रो अधिवेशन सम्पन्न भएको छ। शुक्रबार दरबार रिसोर्ट एन्ड पार्टी प्यालेस, मुसिकोट-७, वामीटक्सार गुल्मीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
सम्पन्न अधिवेशनमा नयाँ कार्यसमितिको रुपमा डिलाराम खरेल अध्यक्ष, महेश्वर घिमिरे वरिष्ठ उपाध्यक्ष, कृष्ण मुरारी सापकोटा उपाध्यक्ष, कल्पना घिमिरे महिला उपाध्यक्ष, रामचन्द्र सापकोटा महासचिव, सुमित्रा भण्डारी सचिव, कमल प्रसाद खराल अर्थ सचिव, राम बहादुर बोहोरा, गोविन्द सापकोटा, फन बहादुर रायमाझी, अनुप लाखे, जनक बहादुर थापा र अनुप लाखे कार्य समिति सदस्य निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष डिलाराम खरेलले जानकारी दिनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय सभा सदस्य माननीय विष्णु कुमारी सापकोटाले वामी विश्व सम्पर्क मञ्चले स्थापना कालदेखि नै सामाजिक कार्यमा क्रियाशील भएर शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती, विपन्न तथा असहाय व्यक्तिको लागि अनुकरणीय कार्य गर्दै आइरहेकोमा आगामी दिनमा अझै बढी क्षेत्रमा काम गर्ने अपेक्षाका साथ कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
सोहि प्रसङ्गमा बोल्दै प्रमुख अतिथि सापकोटाले पछिल्लो समय वैदेशिक रोजगारीले गाउँ सङ्गसङ्गै शहरबजार पनि रित्तिदै जान थालेको प्रति चिन्ता व्यक्त गर्दै वैदेशिक रोजगारीमा गएकाहरुलाई स्वदेश फर्केर आफ्नो सीप र क्षमता प्रदर्शन गर्न आग्रह गर्दै गाउँघरमा मुल्य नपाएका कोदो, सिस्नु, गाँजा आदिलाइ नियमसङ्गत आम्दानीको श्रोतको रुपमा विकास गर्नुपर्ने कुरामा आफूले सदनमा निरन्तर आवाज उठाउदै आएको कुरा स्मरण गराउनुभएको थियो।
अधिवेशनको खुल्ला सत्रमा मुसिकोट नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा, शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष तथा महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक देविराम शर्मा, समितिका पुर्व अध्यक्ष ज्ञानहरी सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वामी-विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिका कोषाध्यक्ष महेश्वर घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष डिलाराम खरेलको रहेको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सापकोटाले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |