गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, चितवन शाखाले दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन यही असार ३ गते सम्पन्न गरेको छ। सभाले डा. कृष्णहरि सापकोटाको नेतृत्वमा १३ सदस्यीय कार्यसमितिको पुनर्गठन गरेको छ।
निवर्तमान अध्यक्ष शारदा शर्मा पौडेलको अध्यक्षता र होटल व्यवसायी संघ केन्द्रीय अध्यक्ष तथा वरिष्ठ समाजसेवी श्री दिनेश कुमार चुकेको प्रमुख आतिथ्यतामा भरतपुर पुलचोक स्थित गंगोत्री होटलमा वामी-विश्व सम्पर्क मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष प्रा. डा. ईश्वरी प्रसाद पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सम्पर्क मञ्चका विभिन्न शाखा मध्ये सबैभन्दा सक्रिय शाखा बौद्धिक नेतृ शारदा शर्मा पौडेलको नेतृत्वमा रहेको चितवन शाखाले मुल समिति र अन्तर्राष्ट्रिय समन्वय समितिले समेत अधिवेशन डाक्न नसकिरहेको अवस्थामा शाखाको अधिवेशन भव्यताका सम्पन्न गरेर जिवन्तता देखाएको छ र मञ्चका सबै शाखा र इकाइलाई सुन्दर पाठ पढाएको छ।
नवगठित कार्यसमितिमा कृष्णहरि सापकोटा अध्यक्ष, विक्रम सापकोटा वरिष्ठ उपाध्यक्ष, शेषकान्त खरेल उपाध्यक्ष, कमला काफ्ले महिला उपाध्यक्ष रहनुभएको छ। त्यसैगरी सचिवमा चन्द्रकान्त काफ्ले, कोषाध्यक्षमा सुशिल पाण्डे, सह-सचिवमा दिनेश खाती, सञ्चालक सदस्यहरुमा शिशिर सापकोटा, काशिराम सापकोटा र लक्ष्मी लामिछाने, लेखा संयोजकमा भक्त बहादुर केसी र लेखा सदस्यहरुमा सुरज सापकोटा र भिमलाल खराल सर्वसम्मत निर्वाचित हुनुभएको बताइएको छ।
वामीमा जन्मेर चितवनलाई कर्मथलो बनाउँदै आउनुभएका नवनिर्वाचित अध्यक्ष कृष्णहरि सापकोटा पेशाले चिकित्सक हुनुहुन्छ। कार्यक्रममा मन्तव्य प्रस्तुत गर्दै उहाँले सम्पर्क मञ्च अझै विस्तार वा फैलाउनु पर्ने बताउनुभयो।
निवर्तमान अध्यक्ष शारदा शर्मा पौडेलले संस्थाले प्राकृतिक विपदबाट पिडित र विपन्नहरुको शिक्षा र स्वास्थ्यका क्षेत्रमा राहत पुर्याउदै आएको र यस्ता परोपकारी कार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।
वामी-विश्व सम्पर्क मञ्च गुल्मीको साविक वामी गाविस (मुसिकोट-७ र ८) मा जन्मेर देश विदेशमा छरिएर रहनुभएका वामेलीहरुको संगठन हो। यसले थुप्रै परोपकारी र सामाजिक कार्यहरु गर्दै आइरहेको छ।
वामी-विश्व सम्पर्क मञ्चको सांस्कृतिक समितिले प्रत्येक दुई वर्षमा नौमती सांस्कृतिक महोत्सवको आयोजना गर्दै आइरहेको छ। यस वर्ष पनि कात्तिक ३ र ४ गते प्रतियोगितात्मक नौमती सांस्कृतिक महोत्सवको चौथो संस्करणको आयोजनाको तयारी गरिरहेको बताइन्छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |