Place for ads

Awareness

वामी-विश्व सम्पर्क मञ्चले ११ औँ वार्षिकोत्सव तथा स्मारिका विमोचन कार्यक्रम आयोजना गर्ने



ओझेलका खबर संवाददाता
२ हप्ता अगाडि


Place for ads

गुल्मी: तत्कालिन वामी गा.वि.स. (वर्तमान मुसिकोट न.पा. वडा नं. ७ र ८) र यस आसपासलाई आफ्नो जन्मथलो वा कर्मथलो मान्ने सबैलाई एकसुत्रमा बाँधी उक्त क्षेत्रको स्वास्थ्य, शिक्षा, कला-संस्कृति, सामाजिक विकास एवं समग्र मानवीय उत्थानमा सहभागी हुने र विभिन्न खाले प्रकोपमा परेकाको लागि राहत तथा सहायता जुटाउने अभिप्रायले गठित वामी-विश्व सम्पर्क मञ्च विधिवत स्थापना भएको एक दशक पूरा भएको अवसरमा वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा एघारौँ वार्षिकोत्सव तथा संगम नामक स्मारिका विमोचन कार्यक्रम आयोजना गर्न लागिएको छ।

जुम मार्फत भर्चुअल कार्यक्रम आयोजना गरी प्रतिनिधि सभा सदस्य गोकर्ण विष्ट, राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा, वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष प्रा.डा. ईश्वरी प्रसाद पाण्डेय, संस्थाका विभिन्न शाखा वा समितिका पदाधिकारीहरुको विशेष आतिथ्यतामा सम्पन्न हुन गइरहेको कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकारहरु र समाजसेवी व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको छ।

Get Vaccinated

संस्थाले प्रकाशन गरेको स्मारिका ‘संगम’ को बारेमा प्रकाश पार्दै अध्यक्ष प्रा.डा. ईश्वरी प्रसाद पाण्डेयले भन्नुभयो, ‘यस दश वर्षको अवधिमा मञ्चको तर्फबाट भए गरेका प्रमुख कार्यक्रमहरुको विवरण, गाउँ र नगरको वर्तमान र इतिहास संग सम्बन्धित खोजमुलक लेख, मौलिक लेख रचना, स्थानीय क्षेत्रका प्रेरणादायी एवम् ऐतिहासिकरुपमा महत्वपूर्ण केहि व्यक्तित्वहरुका जीवनी, महत्वपूर्ण शैक्षिक एवं अन्य संस्थाहरुको विषयमा महत्वपुर्ण जानकारी एवं मंचको सांगठनिक एवं आर्थिक विवरण सहितका केहि मौलिक लेख-रचना संलग्न गरेर ‘संगम’ को पहिलो अंक प्रकाशन गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ।’

उहाँले मञ्च गठनको दशौँ वार्षिकोत्सवको पुनित अवसरमा यस संस्थाका क्रियाकलापहरुलाई सफल पार्न प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरुलाई हार्दिक कृतज्ञता प्रदान गर्दै विभिन्न इकाई/शाखा सहित संस्थाका सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुमा हार्दिक बधाई पनि ज्ञापन गर्नुभएको छ।

वामी-विश्व सम्पर्क मंचको स्थापनाकाल देखि नै वामेली मनमुटुहरुलाई एउटै शुत्रमा उनेर एक-आपसका सुख-दुःखमा साथ दिने सुन्दर माला बन्ने उद्देश्य प्राप्तिको लागि नेपालको कानुन अनुसार विधिवत दर्ता भएको मूल समिति वामीमै कार्यरत रहने र विभिन्न देशमा छरिएर रहेका दाजु-भाफ, दिदि-बहिनीहरुका बिचमा समन्वय गर्नको लागि एक अन्तर्राष्ट्रिय समन्वय समिति रहेको छ। पूर्णरुपमा गैर-राजनैतिक र गैर-नाफामुलक संस्था एक निरन्तर अभियान हो।

आपसी सद्भाव र सम्पर्क विस्तार बाहेकका संस्थाका क्रियाकलापहरुलाई समग्रमा निम्न चार किसिममा वर्गिकरण गर्न सकिने अध्यक्ष पाण्डेयले बताउनुभयो:

Awareness by SKF

क) वामी र आसपासको छेत्रका प्राकृतिक प्रकोप पिडित र असहाय एवम आर्थिकरुपमा कम्जोर दुखि-पिडितको राहत तथा स्वास्थ्योपचारको लागि तात्कालिक सहयोग,

ख) दिर्घकालिन महत्वका शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा बिबिध कार्यक्रमहरु तथा उल्लेख्य सर-सहयोग,

ग) लोपोन्मुख स्थानीय कला-संस्कृतिको संरक्षण र सम्बर्धनको लागि द्विबार्षिक नौमती सांस्कृतिक महोत्सव एवं अन्य कार्यक्रमहरु, र

घ) शैक्षिक, सामाजिक, साँस्कृतिक, एवम् सामुदायिक हितका संरचना निर्माण-सम्भारमा सरसहयोग !

COVID-19

संस्थाका कार्यक्रम र क्रियाकलापहरूको सम्पूर्ण जानकारी संस्थाले प्रकाशन गर्न लागेको स्मारिका ‘संगम’ मा उल्लेख गरिएको बताइएको छ। मंचका सदस्यहरु माझ र अन्य संघ-संस्थाहरु संग गरिने निरन्तरका अन्तरक्रिया, छलफल, र समन्वयका आधारमा आगामी दिनमा ति कार्यक्रमहरु अझै प्रभावकारी, परिणाममुखी, र विस्तारितरुपमा संचालन हुने पनि बताइएको छ।

संगमको यो अंक यसको ऐतिहासिक चरित्रको कारणले मात्र नभइ गुणात्मक हिसाबले पनि विशेष रहेको अध्यक्ष पाण्डेयको भनाई छ । यसमा संलग्न लेख रचनामा उल्लेखित तथ्यहरुको पुनर्पुष्टी गरेर मात्र राखिएको बताइएको छ। यसका प्रधान सम्पादक प्रा.डा. ज्ञान थापा रहनुभएको छ भने लेख-रचनाको संकलन एवं परिमार्जन र तथ्यगत प्रमाणीकरणको प्रक्रियामा मंचका महासचिव रोमकान्त सापकोटाको उल्लेख्य योगदान रहेको छ। यस अंकमा संलग्न जीवनीहरुको सम्पादनमा प्रा.डा. तारा प्रसाद सापकोटा, प्रा.डा. जिवलाल सापकोटा र शारदा शर्मा पौडेल समेत संलग्न रहनु भएको छ।

यस संस्थाका परिकल्पनाकार तथा संस्थापक बैकुण्ठ रायमाझी हुनुहुन्छ। उहाँले हाल वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। जसको महासचिवमा हेमनाथ खराल रहनुभएको छ।

(यो समाचार यस संस्थाका अध्यक्ष प्रा.डा. ईश्वरी प्रसाद पाण्डेयको लेखका आधारमा तयार पारिएको हो।)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो