गुल्मी: लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मुसिकोट नगरपालिका वडा नं-७ वडा कार्यालयले सरोकारवालाहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सहित मनाएको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा कार्यालयको आयोजनामा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले कसैले पनि कसैलाई स्वीकृती बिना केही व्यवहार गर्न नपाईने भन्दै यदी त्यस्तो व्यवहार कसैले गरेमा त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो । हिंसा हुन नदिन सबैले आआफ्नो क्षेत्रमा सामाजिक विकास र मानव अधिकारको सम्मानमा लाग्नुपर्ने उहाँको भनाई थियो । हिंसाविरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको उहाँको भनाई थियो ।
त्यस्तै नगर उपप्रमुख गंगा श्रेष्ठले समग्रमा महिलाहरु माथि हेर्ने दृष्टिकोण नै फरक रहेको भन्दै प्रथमत हेर्ने नजर नै बदलिनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाबाट प्रवाह हुने सेवा महिला तथा लक्षित वर्ग मैत्री हुनुपर्ने भन्दै हिसां सहन्न र हिंसा गर्दिन भन्ने उद्धेश्य राखेर अगाडी बढ्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा वामी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ सइ लक्ष्मण विश्वकर्मा, पूर्व कार्यपालिका सदस्य सत्या जिसि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा सहित जनप्रतिनिधि, बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रम पश्चात उपस्थित सम्पूर्णले म हिंसा गर्दिन भन्ने प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर गरेका थिए । कार्यक्रमको सञ्चालन मुसिकोट नगरपालिका वडा नं-७ का वडासचिव सुमन खरेलले गर्नुभएको थियो ।
नेपालमा महिला हिंसाविरुद्धको दिवस सन् १९९७ देखि मनाउने गरिए पनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष नोभेम्बर २५ लाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका रुपमा मनाउने घोषणा गरेको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








