गुल्मी: बागलुङको बुर्तिबाङमा २ दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दुको अप्रेशन शिविर सुरु भएको छ। लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा सुरु भएको आँखा शिविरको पहिलो दिन ५ सय ७३ जनाले सेवा लिएका छन्।
पश्चिम बागलुङका ४ स्थानीय तह संगै छिमेकी गुल्मी जिल्लाका लाभग्राहीहरु समेत शिविरमा आँखा चेकजाँचका लागि पुगेका थिए । शिविरमा आँखाको चेकजाँच, आवश्यकता अनुसार चस्मा तथा औषधी वितरण संगै परामर्श तथा मोतिया बिन्दुको निःशुल्क अप्रेशन समेत गरिने लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले जानकारी दिनुभयो ।
कार्यक्रमको लायन्स डिस्ट्रिक ३२५ को गर्भनर सुचित्रा थापाले उद्घाटन गर्नुभएको थियो । शिविरको पहिलो दिन ४२ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको उहाँले जानकारी दिनुभयो।
शिविरमा आएका विरामी मध्ये १ जना रिफेल जलविन्दु र १ जनाको आँखाको पर्दामा समस्या देखिएकाले हिमालय आँखा अस्पताल पोखरा रेफर गरिएको नेपाल नेत्र ज्योति संघ बागलुङका इन्चार्ज विनम लामिछानेले जानकारी दिनुभयो।
त्यस्तै १ सय ५० जनालाई चस्मा वितरण, आवश्यक औषधी तथा परामर्श सेवा प्रदान गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका आँखा रोग विशेषज्ञ रुद्ध्र खत्रीले बताउनुभयो । शिविर भोली पुनः बिहान ८ बजेदेसुरु हुनेछ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्योति संघ बागलुङ र हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर चलिरहेको छ। -जिटिभी