मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका वडा नं-८ वामीमैदानमा अवस्थित खड्क निशान देवी कोत मन्दिर (वामी कोत) मन्दिरमा विभिन्न दाताहरुको सहयोगमा निर्मित प्रवेशद्धार, घण्टा र खुडाको उद्घाटन गरिएको छ।
खड्क निशान देवी कोट मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरी उक्त संरचनाहरुको समुद्घाटन गरेको हो । नवनिर्मित प्रवेशद्धार संगै खुडाको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल र घण्टाको पूर्वनगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो ।
मुसिकोट नगरपालिका वडा नं ८ निवासी स्व. हरिलाल सापकोटा र बुद्धिकला सापकोटाको स्मृतीमा छोराहरु कृष्ण सापकोटा र सुदिप सापकोटाले झण्डै २२ लाख लागतमा कोत मन्दिर प्रवेशद्धार निर्माण गरिदिनुभएको हो।
त्यस्तै वडा नं ८ दाल्का दिगामी परिवारबाट स्व. बुबा मोतिलाल सापकोटा र स्व. आमा तनकला सापकोटाको स्मृतीमा आमा कृष्णा कुमारी सापकोटा, छोरा बुहारीहरु कृष्ण सापकोटा, जमुना सापकोटा, घनश्याम सापकोटा, गोमादेवी सापकोटा, गोपाल प्रसाद सापकोटा, हिरा सापकोटा, भिमलाल सापकोटा, गोमा सापकोटा, राम सापकोटा र कल्पना सापकोटा तथा सपरिवाद्धारा मन्दिर परिसरमा खुडा सहयोग गर्नुभएको हो ।
त्यस्तै स्व. मणिरत्न घिमिरेको स्मृतीमा धर्मपत्नी डिलादेवी घिमिरे तथा छोरा र सपरिवारद्धारा कोटलाई १ सय ३ केजीको घण्टा सहयोग गर्नुभएको हो । उक्त दाताहरुकै उपस्थितिमा कोत व्यवस्थापन समितिलाई हस्तान्तरण सहित समुद्घाटन गरिएको व्यवस्थापन समिति अध्यक्ष भिमसेन केसीले जानकारी दिनुभयो । उहाँले कोटलाई प्रतिष्ठानकै रुपमा अगाडी बढाउन लागिएको जानकारी समेत दिनुभयो।
समुद्घाटन समारोहको अवसरमा दाताहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिकाका पूर्व नगरप्रमुख सोमनाथ सापकोटाले खड्क जयन्ती कोटलाई मुसिकोट नगरपालिकाले नगरको गौरवको योजनाको रुपमा अगाडी बढाएर डिपिआर समेत गरि कोट मन्दिर निर्माण सम्पन्न गरेको भन्दै दाताहरुको यस्तो सहयोगले झनै उत्साह थपेको बताउनुभयो।
उक्त कोतमा राखिएको खुडा नेपालकै सबैभन्दा ठुलो रहेको दाबी गरिएको छ । जिटिभि नेपालसंग कुराकानी गर्दै प्रवेशद्धार निर्माणदाता कृष्ण सापकोटा र खुडा दाता कृष्ण सापकोटाले धार्मिक आस्थाको धरोहर खड्क जयन्ती देवी कोट मन्दिरको विकासका लागि आफुहरुले सहयोग गरेको बताउनुभयो । उहाँहरुले आगामी दिनमा पनि कोतलाई सहयोग गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा कोत मन्दिरमा फुलपाती समेत भित्र्याईएको छ । बाजा गाजा सहित परम्परागत रुपमा कोत मन्दिरमा पुजाआजा सहित फुलपाती भित्र्याईएको हो ।
कार्यक्रममा नगरप्रमुख जीवन खरेल, पूर्व नगरप्रमुख सोमनाथ सापकोटा, वडाध्यक्ष रमेश विश्कर्मा, पूर्ववडाध्यक्ष नारायण सापकोटा, समाजसेवीहरु प्रकाश काफ्ले, हरिनारायण सापकोटा लगायत दाताहरु र स्थानीयको उपस्थिति रहेको थियो ।