जिटिभि, गुल्मी: नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले ९ वटै वडाका पार्टी कार्यालयहरुमा शोक सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेस नगर कार्यसमिति सभापति एवम् वडा नं १ का वडाध्यक्ष स्व. मोहन घिमिरेको ७ औँ दिनको पूण्य तिथिको अवसरमा काँग्रेसले सबै वडामा शोक सभा सम्पन्न गरेको हो।
वडा नं ७ वडा कार्यसमितिको आयोजनामा वामीटक्सार स्थित पार्टी कार्यालयमा सम्पन्न शोक सभामा नेपाली काँग्रेसमा आस्थावान व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित व्यक्तिहरुले स्व. घिमिरेको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेका बताएका थिए । उनीहरुले घिमिरे प्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकसन्तप्त परिवारजनमा समेवदना समेत व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य बिष्णु कुमारी सापकोटाले मुसिकोट नगरपालिका र सिंगो नेपाली काँग्रेसले एक असल नेतृत्व र एक उर्जावान अभिभावक गुमाएको बताउनुभयो । उहाँले स्व. घिमिरेको निधन शंकास्पद रहेको भन्दै निष्पक्ष छानविनका लागि दबाब दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पूर्वसचिव हरिनारायण सापकोटाले अन्यायमा परेका नागरिकको आवाजको अवसान भएको भन्दै घटना रहस्यमय र शंकास्पद रहेको बताउनुभयो । उहाँले विगत केही समयदेखि खरो रुपमा विभिन्न विकृति विसङ्गति विरुद्ध आवाज उठाउने स्व. घिमिरेले पछ्याएको बाटोलाई अनुसरण गर्न सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो।
कार्यक्रममा नेपाल विद्यार्थी सघं रुद्रावती बहुमुखी क्याम्पस पूर्व ईकाई सभापति भुवन काफ्लेले नेपाल विद्यार्थी संघलाई नेतृत्व गर्ने प्रेरणा दिने स्व. घिमिरेको निधनले नेविसघंले एक अभिभावक गुमाएको बताउनुभयो।
नेपाली काँग्रेस वडा नं ७ वडा कार्यसमिति सभापति सालिकराम सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव डिलाराम सापकोटाले गर्नुभएको थियो।
साथै नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले भोलि शनिवार घिमिरेको निवास मुसिकोट नगरपालिका वडा नं १ आडचौरमा शोक सभा कार्यक्रम आयोजना गरेकाले सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
वि.स. २०४३ साल पौष ७ गते साविकको नेटा गाउँ विकास समिति वडा नं-४ हालको मुसिकोट नगरपालिका वडा नं १ आडचौरमा जन्मिनुएका स्व. मोहन घिमिरे यही भाद्र २ गते मृत अवस्थामा फेला पर्नुभएको थियो।
नेपाल विद्यार्थी सघंबाट राजनैतिक यात्रा प्रारभ्म गर्नुभका घिमिरे नेपाली काँग्रेस मुसिकोट नगर समितिको प्रथम नगर सम्मेलनबाट सभापति पदमा निर्वाचित हुनुभएको थियो।
त्यस्तै उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । स्व. घिमिरे जुझारु, स्पष्टवक्ता र खरो नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










