बागलुङ: युवतीलाई डरधम्की दिएर बलात्कार गर्ने युवकलाइ जिल्ला अदालत बागलुङले पुर्पक्षकालागि थुनामा पठाएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका-१ का २७ बर्षिय बिमल हमाल थुनामा परेका हुन्।
असार २५ गते हमालले बागलुङको मालढुंगामा हिडेकी एक युवतीलाई धम्क्याएर जवरजस्ती करणी गरेका थिए । ती युवतीले उजुरी दिएपछि भागेका हमाल असार २६ गते जैमिनीमा चोरी गरेर भाग्ने क्रममा पक्राउ परेका थिए।
हमालले जैमिनी नगरपालिका वडा नंं ४ का यामबहादुर क्षेत्रीको घरमा पुगेर ९ हजार ५ सय ४० रुपैयाँ नगद सहित सुनको बेरुवा औंठी, सुनको सिक्री र मंगलसुत्र समेत चोरेर भागेका थिए।
क्षेत्रीले तत्काल खबर गरेपछि इलाका प्रहरी कार्यालय कुश्मीसेराले पक्राउ गर्दा हमाल बलात्कारी समेत भएको खुलेको थियो । अदालतको आइतवारको आदेशले उनलाई जेल पठाइएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए ।