– गोविन्द कंडेल
लिस्वन: पोर्चुगल (República Portuguesa) दक्षिण-पश्चिमी यूरोपको इबेरियन प्रायद्वीपमा अवस्थित एउटा प्राकृतिक रुपमा सुन्दर अनि सार्वभौम देश हो। यो विश्वका धेरै देशहरुमा राज गरिसकेको युरोप महादेशको पहिलो स्वतन्त्र देश हो, हाम्रो छिमेकी देश भारतको गोवा राज्य पनि पोर्चुगलकै भास्का दोमी गामाले पत्ता लगाएका थिए।
पोर्चुगलले गोवामा पनि धेरै वर्ष राज गरेको थियो फलस्वरूप गोवामा अझै पनि धेरै मात्रामा पोर्चुगिज भाषा बोलिन्छ। यो देश अटलान्टिक महासागरको पश्चिम र दक्षिणमा क्याडिजको खाडी र उत्तर अनि पूर्वमा स्पेनको सिमानामा पर्दछ। यहाँको राष्ट्रिय भाषा पोर्चुगिज हो जुन भाषा विश्वमा छैटौँ सबैभन्दा धेरै बोलिने भाषा हो भने ब्राजिल, गिनी, अंगाला, मोजाम्बिक लगायतका ९ देशको आधिकारिक भाषा समेत हो।
पोर्चुगल संसारको १७ औँ सबै भन्दा सुरक्षित देशको रुपमा परिचित छ। यहाँको मुख्य आम्दानीको स्रोत पर्यटन अनि कृषि हो।
हरेक वर्ष १ करोड ५० लाख भन्दा धेरै पर्यटक यहाँ घुम्नको लागि आउने गरेको तथ्याङ्कमा पढ्न सकिन्छ ।
यो देशले मुख्य गरि कपडा, जुत्ता, रसायन, मेशिनरी, कागज आदि उत्पादन र निर्यात गर्दछ साथै पोर्चुगललाई ” टाइल्सको देश ” पनि भनिन्छ यहाँका प्रायः घरहरू टाइल्सले सजाएको पाइन्छ। यहाँको आप्रवासन नीति युरोपेली अरू देशहरूको भन्दा सजिलो छ त्यसैले गर्दा धेरै नेपाली युवाहरूको रोजाइ अनि सपनाको देश हो पोर्चुगल। युरोपका सबैजसो देशहरुबाट नेपालीहरु पिआर बनाउनका लागि पोर्चुगल आउने गर्दछन्। आजभोलि पोर्चुगलको लिस्वन (Lisbon) शहरमा नेपालीहरूको संख्या निकै रहेको छ।
यहाँका हरेक चोक, सार्वजनिक यातायात, पार्क जतापनि सहजै नेपालीहरू भेट्न सकिन्छ।
आजभोलि सामाजिक सञ्जालमा धेरै जसो यहाँका समस्याहरूको बारेमा मात्र लेखेको पाइन्छ। स्वभाविक पनि हो जहाँ धेरै मान्छे हरू हुन्छन् त्यहाँ समस्याको सुरुवात हुन्छ, यहाँ पनि त्यसै भएको हो।
पोर्चुगल नेपालको तुलनामा युवा पुस्ताको लागि अलि बढीनै स्वतन्त्र मुलुक हो । त्यसको दुरुपयोग गर्दै कुलतमा अनि गलत सङ्गतमा पर्ने र धैर्य गर्न नसक्दा कतिपय युवाहरू depression को सिकार समेत भएका छन् । विशेषतः युवा पुस्ताका साथीहरूले यथार्थभन्दा धेरै ठूलो महत्वाकांक्षी सपना बोकेर यहाँ आउनुहुन्छ तर त्यस्तो खालको सपना यहाँ मात्र होइन सन्सारको जुनसुकै कुनामा गएपनि रातारात पूरा हुन सम्भव छैन।
पछिल्ला वर्षमा यहाँ आउने आप्रवासीहरूको संख्या अत्यधिक भएको छ, यसो हुनुको कारण कोरोनाले बन्द भएको विश्व चलायमान हुन सुरु हुनु र Russia र Ukraine युद्ध हो।
यसै क्रममा यहाँ नेपालीहरूको आगमन पनि दैनिक जसो बढ्दै छ, फलस्वरुप आजभोलि यहाँ काम र कोठा मुख्य समस्याको रुपमा रहेको छ । विस्तारै पर्यटनको सिजन सुरू भए सँगै केही कामका अवसर आउन थाले पनि कोठाको समस्या भने कायम छ।
यसको मुख्य कारण भनेको यहाँ बसोवास गर्ने पुराना नेपालीहरूका घरहरू कम छन् भने नयाँ मान्छेलाई सुरुमा घर भाडामा लिनको लागि त्यत्ति सजिलो छैन।
कामको सन्दर्भमा पनि कुरा उस्तैउस्तै हो, पहिलो कुरा त हामी अधिकांश नेपाली हातमा सिप हुँदैन भने अर्को मुख्य समस्या यहाँको भाषा पनि हो।
यहाँ English भाषा चल्दैन यदि हामीले पोर्चुगिज भाषा सिकेको अवस्थामा भने यहाँ काम पाउन धेरै सजिलो छ। पोर्चुगिज नागरिकहरू आफ्नो भाषा र भाषा बोल्ने मान्छे लाई सम्मान गर्दछन्। यदि तपाईँ पनि पोर्चुगल आउँदै हुनुहुन्छ भने थोरै मात्रामा भएपनि यहाँको भाषा सिकेर आउनु होला । तपाईंले थोरै भएपनि भाषा सिकेर आउनु भयो भनेपनि धेरैनै उपयोगी हुनेछ। त्यसैगरि सुशी, कन्टिनेन्टल खानाहरु, बार्टेण्डर, Parlour & massage, सैलुनजस्ता कामहरू सिकेर आउनुभयो भने पनि धेरै उपयोगी हुन्छ।
नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु अन्य युरोपेली देशको तुलनामा सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) को आशाले पोर्चुगल आउने गर्दछन्।
पछिल्लो समय नेपालबाट रातो पासपोर्ट सहित युरोपियन जीवनशैलीमा सपरिवार रमाउने सपना बुनेर पोर्चुगल आइपुगेका युवाहरू मध्ये केही युवाहरू भने विभिन्न समस्यामा पर्ने गरेका छन्।
साहुसँग चर्को ब्याजमा ऋण काढेर युरोप आएका तिनै नेपाली युवाहरू यहाँ समस्यामा पर्दा उता नेपालमा परिवार समेत विचलित भएका खबरहरू यदाकदा सुनिन्छ।
पोर्चुगल नेपालको तुलनामा युवा पुस्ताको लागि अलि बढीनै स्वतन्त्र मुलुक हो । त्यसको दुरुपयोग गर्दै कुलतमा अनि गलत सङ्गतमा पर्ने र धैर्य गर्न नसक्दा कतिपय युवाहरू depression को सिकार समेत भएका छन् । विशेषतः युवा पुस्ताका साथीहरूले यथार्थभन्दा धेरै ठूलो महत्वाकांक्षी सपना बोकेर यहाँ आउनुहुन्छ तर त्यस्तो खालको सपना यहाँ मात्र होइन सन्सारको जुनसुकै कुनामा गएपनि रातारात पूरा हुन सम्भव छैन।
महत्त्वाकाङ्क्षी सपना नदेख्ने होर कूलतमा नफस्ने हो भने विभिन्न चुनौतीका बाबजुद पोर्चुगल आफैमा पर्याप्त सम्भावना भएको रोजगारीको गन्तव्य हो। खाशमा यो सुन्दर सपना देख्ने र सपना पूरा गर्न अनवरत लाग्नेहरूको शहर हो । अध्ययन वा रोजगारीको सिलसिलामा विदेश आउने सबै नेपालीहरूले स्थायी रूपमा आफूसँगै आफ्नो परिवारलाई पनि विदेशमा ल्याउन् र सँगै बस्न चाहना राख्नु स्वाभाविक हो । आजभोलि युरोपका अन्य देशहरू भन्दा पोर्चुगल नेपाली युवायुवतीहरूको पहिलो रोजाईको देश भएको छ। सुरुवाती दिनमा यहाँ कमाईँभन्दा पनि युरोपमा बसोबास गर्न सजिलो हुने, residensi कार्ड बन्ने अनि कार्ड बनेको ५ वर्षमा स्थायी नागरिक बन्न सकिने भएकोले नेपालीका अतिरिक्त अन्य देशका नागरिकको रोजाइमा पनि यो देश परेको हो।
यहाँको अस्थायी residensi प्राप्त गरेपछि नेपालमा रहेको आफ्नो परिवारलाई सजिलै सँग यहाँ ल्याउन सकिन्छ । यहाँ शिक्षा र स्वास्थ्य पूर्णत निःशुल्क छ ।अन्य युरोपेली देशहरूमा श्रीमान्/ श्रीमती र छोराछोरीलाई मात्र स्थायी रुपमा बस्नेगरी ल्याउन सकिन्छ तर बाबुआमा लगायतका परिवारका सदस्यलाई भ्रमण visa मा मात्र ल्याउन सकिन्छ भने पोर्चुगलमा यो पनि लचक छ, अस्थायी बसोवास प्राप्त व्यक्तिका साठी वर्ष माथिका बाबुआमाले समेत यहाँ सोही खालको कार्ड प्राप्त गर्न सक्दछन्।
कार्ड प्राप्त गरिसके पछि उहाँहरूलाई समेत पोर्चुगिज नागरिकलाई सरह सेवा सुविधा उपलब्ध हुन्छ।
यहाँको अस्थायी बसोवास अनुमति प्राप्त गरेपछि अन्य युरोपेली मुलुकमा सजिलै आवतजावत गर्न सकिने र स्थायी बसोवास अनुमति प्राप्त गरेपछि युरोपको जुनसुकै देशमा पनि स्थायी रुपमा बसोवास गरि काम गर्न सकिने भएकोले हामी जस्ता अल्पविकसित देशका नागरिकको रोजाइमा पोर्चुगल परेको हो।
– गोविन्द कँडेल
मुसिकोट नगरपालिका-७, गुल्मी
हाल: लिस्वन, पोर्चुगल