टोपलाल अर्याल, गुल्मी: छापहिले माविमा अक्षयकोष स्थापना गरिएको छ। मालिका गाउँपालिका ५ को छापहिले माविमा यम बहादुर पछाईको परिवारले तीन लाख तीन तीन सय ३३ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो।
यम बहादुरले छोरी एलिसा पछाईको जन्मदिनको उपलक्ष्यमा दिवंगत बुबा सुर्य बहादुर पछाई र छोरी एलिसाको नामबाट ‘सुर्य बहादुर एलिसा पछाई’ अक्षयकोष स्थापना गरेको बिद्यालयका प्रध्यानाध्यावक धनु गिरीले जानकारी दिए ।
पछाईले विद्यालयलाई आमा र श्रीमती मार्फत कोष हस्तान्तरण गरेका थिए । यम बहादुर पछाई रोजगारीको शिलसिलामा जापानमा रहेका छन् । सोहि बिद्यालयमा पछाईले पनि अध्ययन गरेका थिए।
अक्षयकोषको बार्षिक व्याजको १० प्रतिशत रकमले कोष व्यावस्थापन गर्ने, २० प्रतिशत रकमले कक्षा १ देखि ९ सम्म अध्ययनरत उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्ने, ३० प्रतिशत रकमले बिपन्न बिद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री वितरण गर्ने बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष ओम कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार कोषबाट छात्रबृतिको समेत व्यावस्था गरिएको छ । कक्षा १–९ मा अध्ययन गर्ने बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको लागि कोषको व्याजबाट प्राप्त ३० प्रतिशत रकम प्रदान गरिनेछ । त्यस्तै कोषको १० प्रतिशत रकम एसइई परिक्षामा गणित, बिज्ञान र अंग्रेजी बिषयमा ८० प्रतिशतभन्दा माथि बिद्यार्थी उर्तिण गराउने शिक्षकलाई प्रोत्साहन स्वरुप प्रदान गरिने कार्कीले बताए ।
त्यस्तै विद्यालयका व्यावस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका ढाल बहादुर पछाईले पनि बुबा बलबहादुर पछाई र आमा पम्फा पछाईको स्मृतिमा २१ हजार रुपैयाँको ‘पम्फा बल बहादुर’ अक्षयकोष स्थापना गरेका थिए ।