अनिल खत्री, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-७, वामीमा एक महिलाको हत्या आरोप लागेका ३ अभियुक्त पुर्पक्षको लागि कारागार चलान भएका छन्।
वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते हत्या भएको थियो।
शेरचनको शव उनकै होटलभित्र फेला परेकी थिइन् । उनको हत्या आरोपमा बाग्लुङको बडिगाड गाउँपालिका–७ का थम्मनबहादुर घर्ती, मकवानपुर घर भई काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोक घर भई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ बस्ने शिवबहादुर तामाङ पक्राउ परेका थिए।
यो पनि: गुल्मीको मुसिकोटमा घरभित्र हात-खुट्टा बाँधिएको अवस्थामा भेटियो एक महिलाको शव
उनीहरु जिल्ला अदालतमा थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको र हाल जिल्ला कारागार गुल्मीमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए।
होटल सञ्चालक शेरचन मृत भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले गत फागुनमा थम्मनबहादुर घर्तीलाई पक्राउ गरेको थियो।
उनले तीनजना मिलेर हत्या गरेको बयान दिएपछि लोकबहादुर दर्लामी र शिवबहादुर तामाङ २८ चैतमा धुलिखेलबाट पक्राउ परेका थिए । उनीहरुको बयान अनुसार हत्यामा संलग्न अझै एक जना फरार रहेको प्रहरीले जनाएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |