गुल्मी: गुल्मीमा ६५ लाख खर्चिएर बाख्रा पालन सुरु गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका-३ मा नारायण प्रसाद पन्थले सोही रकम लगानीमा बाख्रा पालन सुरु गरेका हुन्।
विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा वैदेशिक रोजगारका लागि कतारमा रहेका पन्थले आफु गाउँ फर्केर बाख्रा पालन व्यवसाय सुरु गरेको बताए। कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने र जस्तो सुकै परिस्थतीमा पनि व्यवसायमा नोक्सान नहुने भएकोले बाख्रा फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन्। पन्थले छत्रदेवी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका छन्। नारायणलाई श्रीमती पार्वती पन्थले पनि साथ दिइरहेकी छिन्।
बाख्रा पालनसँगै घाँस र सुन्तला खेती गरेका नारायणले गर्दै वार्षिक छ लाख आम्दानी गर्दै आएका छन्। पन्थले घाँस खेती अन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला र मुलाटो लगायतका बिरुवाहरु रोपण गरेका छन् । “कोरोनाले विदेशमा जागिर भरपर्दो नहुने भन्ने स्पष्ट बुझेँ”, नारायणले भने, “घरपरिवार सँगै बसेर कृषि र पशुपालन गर्न सकिने भएकोले बाख्रा पालन सुरु गरेको हुँ।” कतारमा मासिक एक लाख २० हजार कमाउँदै आएका नारायणले त्यो त्यागेर गाउँघरमै व्यवसाय सुरु गरेका हुन्।
श्रीमान् नारायणसँगै बाख्रा पालनमा तल्लीन पार्वती पनि गाउँघरकै व्यवसायबाट सन्तुष्ट छिन्। विदेशमा गएर धेरै रकम कमाउनु भन्दा गाउँमै जीविकोपार्जनका बाटाहरु खोजेमा राम्रो हुने पार्वतीको अनुभव छ। श्रीमानको १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्दा आफुहरु निकै सन्तुष्ट रहेको पार्वती पन्थले बताइन्। पन्थको आधुनिक बाख्रा फर्म छ।
फर्ममा ४० माउ बाख्रा, ४० रोपनी जग्गामा घाँस खेती र आठ रोपनी जग्गामा सुन्तला खेती गरेको पन्थले बताए। विदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित लगानी गरेका पन्थले फर्मलाई थप व्यवस्थित बनाउँदै लगेका छन्।
परम्परागत बाख्रा पालनलाई त्यागेर गाउँमै आधुनिकता तर्फ प्रवेश गरेका पन्थको फर्ममा आधुनिक खोर, घाँस काट्नको लागी च्याँपकटर, दानाको लागि कुटानी पिसानी मिल, मुत्र व्यवस्थापन र सानाठुला बाख्राको लागि छुट्टाछुट्टै खोर निर्माण भएको छ। बाख्रा फर्ममा जमुना पारी र खरी जातका स्थानीय बाख्राहरु छन्।
पन्थको बाख्राको फर्मलाई छत्रकोट गाउँपालिकाले दुई लाख, कृषि ज्ञान केन्द्रले एक लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीले एक लाख रुपैयाँ अनुदान अघिल्लो वर्ष सहयोग गरेका थिए। कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा लाग्ने वास्ताविक कृषकहरुको साथमा आफुहरु रहेको बताउँछन्। छत्रकोट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नको लागि योजना बनाइरहेको बताएका छन्। -लाइभ गुल्मी
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










