प्रेम सुनार, गुल्मी: गुल्मीमा आइतबार बिहान आफ्नै होटलमा मृत फेला परेकी महिलाको घटना अनुसन्धानका लागि भैरहवाबाट लगिएको तालिमप्राप्त कुकुरबाट काम सुरु भएको छ। गुल्मी मुसिकोट नगरपालिका-७, न्वाराकी ५७ वर्षीया गंगादेवी शेरचन आफ्नै होटलमा मृत अवस्थामा फेला परेकी हुन्।
हात-खुट्टा सेलो टेपले बाँधेर घोप्टो अवस्थामा रहेकको गंगादेवीको मुखमा समेत टेपले बाँधिएको हुन सक्ने प्रहरीले जनाएको छ।अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले आइतबार दिनभरी तालिम प्राप्त कुकुरको पर्खाइमा शवलाई नछोएर नै राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए।
यो पनि: गुल्मीको मुसिकोटमा घरभित्र हात-खुट्टा बाँधिएको अवस्थामा भेटियो एक महिलाको शव
तालिमप्राप्त कुकुर पुगेपछि शिल गरेर राखिएको घटनास्थलबाट अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए। आइतबार साँझदेखि अनुसन्धान अघि बढेको हो। घटनास्थलमा पुगेको कुकुरले गन्ध पच्छ्याउँदै वामिटक्सातर्फ लागेको प्रहरीले जनाएको छ।
‘ठेकेदार’ भनिने अपरिचित व्यक्तिप्रति स्थानीयको आशंका
गंगादेवीको हत्यासँग एक अपरिचित ‘ठेकेदार’ भनिएका व्यक्तितर्फ स्थानीयले आशंका गरेका छन्। ती व्यक्तिसँगै अन्य दुई जना मिलेर हत्याको योजना बनाएको आशंका रहेको स्थानीयले प्रहरी समक्ष बताएका छन् । दरमखोला पारी बाग्लुङ्गको हाँडी खोला बजारमा घर र वारि गुल्मीतर्फ पुलको मुख नजिकै विगत ३० वर्षदेखि होटेल गर्दै आएकी गँगादेवीको हात खुट्टा सेलो टेपले बाँधेर मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटना स्थलको होटल अगाडि सडकमाथि एउटा ठूलै पक्की घर छ, कोखैमा अर्को र होटलभन्दा बायाँ तर्फ बाटोमाथि अर्को टिनले छाएको कच्ची घर छ। होटल अगाडि गुल्मी मुसिकोट नगरपालिकाबाट बाग्लुङ्गको हाँडी खोला हुँदै मध्ये पहाडी लोक मार्ग जोड्ने सडक छ। व्यस्त सडक भएपनि अधिकांश समय उक्त स्थान एकान्त नै रहने स्थानीयहरु बताउँछन्।
होटेलको ठिक अगाडि घरमा डेरा गरेकी स्थानीयवासी जोइकला कुमालसँग शनिबार दिउसो मृतक गंगादेवीले केही कुरा गरेकी थिइन्। मृतक गँगादेवीलाई उदृढ गर्दै उनले भनिन, ‘हिजो दिउँसो ११-१२ बजेको समयमा आफूलाई ठेकेदार भएको बताउने एक पुरुष आएका थिए। ति पुरुषले होटलमा दुई वटा अण्डा राखेर नास्ता बनाउन लगाई हतारहतार त्यहाँबाट आएर निस्किए।
ती पुरुषसँगै आएका कामदार भनिने व्यक्तिहरुलाई भने उनले नास्ता खान दिएनन्। ती पुरुषसँग अन्य दुई जना पुरुष पनि थिए। उक्त व्यक्तिहरु सोही दिन साँझसम्म त्यही बसेको र भात पकाउन लगाएका थिए।’ त्यसपछिको घटना बारे आफूलाई जानकारी नभएको स्थानीय जोइकलाले बताइन्। शनिबारको उक्त घटना क्रमलाई समेत आधार मानि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटना स्थलबाट करिव दुई तीन किलो मिटर नजिक गुल्मीतर्फ वामीटक्सार प्रहरी चौकी छ भने बाग्लुङतर्फ खर्बाङ्ग प्रहरी चौकी छ। प्रहरी चौकीबाट नजिकैकै स्थान भए पनि नियमित गस्ति तथा प्रहरी गतिविधि नहुँदा घटना घटेको स्थानीय बिमल भण्डारीले गुनासो गरे।
शनिबार साँझ मात्रै मृतक गंगादेवीका दाजु सुनिल शेरचन होटल नजिकै आएर पनि भेट नगरी घरतर्फ लागेका थिए। शनिबारको घटना सुनाउँदे उनका दाजु सुनिलले भने ‘म वामीटक्सार बजार हुँदै बहिनीको होटल अगाडि छुस्स हेरेर मात्र अगाडि घरमा आएका् थिए। बाइकमा थिए। यस्सो रोकेर बहिनीलाई बोलाउ कि भने। चेन गेटमा पर्दा लगाएको थियो। भित्र धेरै मान्छे भएजस्तो गनगन सुनेँ। भैगो भनेर म पसिन, हिँडे। अहिले पछुतो लागेको छ।’
घटना सुनियोजित भएको र अपराधी धेरै टाढाको हुन नसक्ने दाबी गर्दै उनले यसअघि उक्त स्थानमा यस्तै प्रकृतिमा दुई जनाको हत्या भएको स्मरण गराए। गंगादेवी व्यवसायी मात्र नभई त्यस क्षेत्रको सामाजिक व्यक्ति समेत भएको दाजु सुनिलले बताए। गंगादेवीको मृत्युसँगै वारू गुल्मी र पारी बाग्लुङ्गका स्थानीय शो’कमा डुबेका छन्। सधैँ हँसिलो अनुहार लिएर सामाजिक क्रियाकलापमा समेत सक्रिय गँगादेवीको मृत्युले आफूहरु आश्चार्यमा परेको स्थानीय बताउँछन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |