अनिल खत्री, गुल्मी: लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गर्ने भएको छ। प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको अवसरमा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ९, उपल्लो तम्घास माध्यमिक विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए।
प्रतिष्ठान गुल्मीले यहिँ मंसिर २९ गते देखि पुस २ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर संस्थाको सातौं जिल्ला अधिवेशन गर्न लागेको छ। अधिवेशनको अवसरमा मंसिर २९ गते उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष वसन्त खत्रीले बताए।
चिसो बढेसँगै फरक क्षमताका विद्यार्थीलाई सहयोग स्वरुप २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने अध्यक्ष खत्रीले बताए अधिवेशनको पुस २ गते हुने मञ्चको कार्यक्रममा राष्ट्रिय कलाकारसँगै बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीले जनाएको छ।
प्रतिष्ठान गुल्मीले अधिवेशनको अवसरमा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट कार्यसमिति सम्मान र संस्थालाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए। अधिवेशनको तयारी स्वरुप बिभिन्न समिति बनाएका काम अगाडी बढाइएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बताए।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ। प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा नयाँ कलाकारलाई पोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो। तर यसपटक विविध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ। -गुल्मी अपडेट
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |