Awareness

Get Vaccinated

गुल्मीमा ५० जना उम्मेदवारको जमानत जफत



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा ५० उम्मेदवारको जमानत जफत भएको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार कुल सदर मतको १० प्रतिशत पनि प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत भएको हो।

प्रतिनिधिसभातर्फ १९ र प्रदेश सभातर्फ ३१ उम्मेदवारको जमानत जफत भएको छ। दुई प्रतिनिधिसभा र चार प्रदेश सभाको लागि कुल ६२ जनाले उम्मेदवारी दिएका थिए । जसमा सत्ता गठबन्धन (काँग्रेस, समाजवादी र माओवादी केन्द्र) र एमाले उम्मेदवारले मात्रै जमानत जोगाएका छन्। अन्य सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले जमानत गुमाएका छन्।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १० जनाले उम्मेदवारी दिएका थिए । कुल ६८ हजार ६६४ सदर मत सदर भएकोमा जमानत जोगाउनको लागि उम्मेदवारले कुल सदर मतको १० प्रतिशत अर्थात छ हजार ८६६ मत ल्याउनु आवश्यक थियो । तर आठ जनाले उक्त मत ल्याउन नसकी जमानत समेत गुमाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश पाण्डे, नेमकिपाका पदम रसाईली, हाम्रो नेपाल पार्टीका भुवनेश्वर अर्याल, मंगोल नेशनल अर्गनाइजेसनका लोक बहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका चन्दा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारी एवम् स्वतन्त्रबाट उम्मेदवारी दिएका कमला श्रेष्ठ र सुधन न्यौपानेले जमानत गुमाएका हुन्।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ११ उम्मेदवारले जमानत गुमाएका छन् । यस क्षेत्रमा ५६ हजार ५९३ मत सदर भएकोमा जमानत जोगाउनको लागि उम्मेदवारले पाँच हजार ६५९ मत प्राप्त गर्नुपर्ने थियो । न्यूनतम मत पनि प्राप्त गर्न नसक्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरे, राप्रापा नेपालका ठाकुर प्रसाद पाण्डेय, हाम्रो नेपाल पार्टीका रामलाल पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनका पदम थापा मगर, स्वतन्त्र उम्मेदवारी दिएका कमला पुन, अमर बहादुर कार्की, नारायण भट्राई, केशर बहादुर थापा, देवराज पाण्डे, तेजेन्द्र बहादुर महत र दामोदर भुसालको जमानत जफत भएको हो।

निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ मा १० जनाले उम्मेदवारी दिएकोमा आठ जनाले जमानत गुमाएका छन् । कुल सदर मत ३१ हजार ८०२ रहेको यस क्षेत्रमा जमानत जोगाउनको लागि कम्तिमा तीन हजार १८० मत आवश्यक थियो । राष्ट्रिय जनमोर्चाका ओम बहादुर कुँवर, मंगोल नेशनल अर्गनाइजेसनका श्रीप्रसाद पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णु विक्रम पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका रुम बहादुर रानाको जमानत जफत भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका इश्वरी प्रसाद पाण्डे, चित्र बहादुर थापा मगर, टंकनाथ अर्याल र देवी प्रसाद न्यौपानेको जमानत जफत भएको छ।

गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ को कुल सदर मत ३७ हजार ४१ हो । जमानत जोगाउनको लागि उम्मेदवारले कम्तिमा तीन हजार ७०४ मत ल्याउनु आवश्यक थियो। तर ११ जनाले उम्मेदवारी दिएकोमा नौ जनाको उम्मेदवारी जफत भएको छ। मंगोल नेशनल अर्गनाइजेसनका शुशिल पुन, राष्ट्रिय जनमुक्ति पार्टीका लुम बहादुर थापाको जमानत जफत भएको छ। स्वतन्त्र उम्मेदवारी दिएका अमर बहादुर कुँवर, उमेश सिंजाली, गगन केसी, दुर्गा बहादुर थापा क्षेत्री, नारायण प्रसाद आचार्य, प्रेम प्रसाद भण्डारी र मेघ बहादुर गाहाले जमानत गुमाएका छन्।

क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ मा १० जनाले उम्मेदवारी दिएकोमा आठ जनाले जमानत जोगाउन सकेनन् । यस क्षेत्रको कुल सदर मत २८ हजार १४९ मतमध्ये जमानत जोगाउनको लागि उम्मेदवारले दुई हजार ८१४ मत ल्याउनुपर्ने थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र विष्ट, जनता समाजवादी पार्टी, नेपालका घनश्याम पाण्डे, मंगोल नेशनल अर्गनाइजेसनका विष्णु सारुले जमानत जोगाउन सकेनन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रेम बहादुर कुमाल, युवराज खरेल, झविन्द्र पाण्डे, नित्यानन्द पाण्डे र सन्त बहादुर थापाको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Awareness by SKF

क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा कुल २८ हजार ६५४ मत सदर भएकोमा जमानत जोगाउनको लागि उम्मेदवारले कम्तिमा दुई हजार ८६५ मत प्राप्त गर्नुपर्ने थियो। कुल आठ जनाले उम्मेदवारी दर्ता गराएकोमा छ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र जिसी, मंगोल नेशनल अर्गनाइजेसनका कमल सिँजाली मगर, स्वतन्त्र उम्मेदवारी दिएका दुर्गा बहादुर विक, राजु विक, बल बहादुर अधिकारी क्षेत्री र बाबुराम कुँवरको जमानत जफत भएको छ।

उम्मेदवारले प्रतिधिसभा सदस्यमा उम्मेदवारी दर्ताको लागि १० हजार र प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ताको लागि पाँच हजार शुल्क बुझाएका थिए। यसरी प्रतिनिधिसभातर्फका उम्मेदवारको एक लाख ९० हजार र प्रदेश सभातर्फको उम्मेदवारको दुई लाख ५० हजार गरी कुल चार लाख ४० हजार रुपैँया राज्यकोषमा जम्मा भएको जिल्ला निर्वाचन कार्यालयका लेखापाल बाबुराम भुसालले जानकारी दिए। जमानत जोगाउने १२ उम्मेदवारले भने उम्मेदवारीबापतको शुल्क फिर्ता लैजान पाउनेछन्। -गुल्मी न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया