Clean Water Campaign

Awareness Campaign

गुल्मीको चुनावी समिक्षा: अन्तर्घातको पासोमा नेता…



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीमा प्रत्यक्ष तर्फको सबै मत परिणाम सार्वजनिक भएकाले विजयी जुलुसले निर्वाचन क्षेत्र उकुसमुकस बनिरहेका छन्। गुल्मी २ मा एमालेले गठबन्धन पत्तासाफ पर्यो। पुर्व सहकर्मी र दुई पार्टीका सचिव गोकर्ण विष्ट तथा रामकुमारी झाँक्री बिचको प्रतिस्पर्धा निकै पेचिलो थियो। देशभरको ध्यानाकर्षण गरेको गुल्मी २ मा एमालेले लालझण्डा फहराउन सजिलो थिएन।

एमाले भित्रकै वरिष्ठ भन्नेहरु निर्वाचनको अन्तिम संघारसम्म पार्टी छोड्ने र फण्डाहरु बेच्ने काममा व्यस्त र मस्त थिए। आफ्नो पोल्टामा मत ल्याउन एमाले र गठबन्धनले गर्न र सकेसम्मका सबै उपायहरु अपनाए। मंसिर ४ गते निकै शान्तिपूर्ण रुपमा गुल्मी २ को मतदान सकियो। मंसिर ५ गतेदेखिको मतगणनाले जिल्लाकै ध्यान खिच्यो । किनभने गुल्मी १ को मतगणना रोकिएको थियो। गोकर्ण विष्टको पालिका इस्माबाट सुरु भएको मतगणना र अग्लिएको मतान्तरले नै अन्तत: विजयी बनायो।

इस्माको मतले प्रदेशमा डिल्लीराज भुसाललाई समेत सांसद बनायो । किनकी भुसाललाई आफ्नै पालिका रेसुंगाका नागरिकले निकै कम मत दिए । फर्केर हेर्दा त्यहि इस्मा गाउँपालिका हो जहाँ हिरा एसी, बिमला खत्री र राजेन्द्र बिक्रम कुवंर जस्ता व्यक्तिहरुले स्थानीय तहमा पराजय व्यहोरे । यता एमालेको गण मानिएको मुसिकोटले फेरि सोचे अनुसार मत दिएन । स्थानीय तहमा प्राप्त मतका आधारमा मुसिकोट ३, ४ र ५ मा अन्तर्घात भयो । अरु वडामा पनि सोचे अनुसारको मत आफ्नो उमेद्वारलाई दिएनन्।

सिंचाई
Forest
Ad.

धुुर्कोट रजस्थल र नयाँगाउँ तथा बाँझकटेरीमा एमाले माथि ठुलो धोका आफ्नै मान्छेले दिए । स्थानीय सत्ताका कारण आएको निराशाले पनि उम्मेदवार प्रभावित भए । गुल्मी २ मा मुसिकोट बाहेक अन्त स्थानीय तहको नेतृत्वमा एमाले थिएन । मुसिकोटमा एमालेलाई कम मत आएको कारण सत्ता हो । इस्मा, मालिका, धुर्कोट र मदानेमा नागरिकले सत्ताकै कारण मत परिवर्तन गरे । त्यो बिषयमा एमालेले ठुलो मुल्यांकन गरेर रणनीति बनाएको थियो । गुल्मी २ मा स्थानीय तहमा पत्तासाप हुँदाको पीडालाई कार्यकर्ताले अहिले बदला लिए।

गुल्मी २ मा गोकर्ण बिष्ट परिचालनको पाटोमा निकै अब्बल छन् । उनको सूचनाको समपरिक्षण, जनसम्पर्क र फलोअप गर्ने बानीको धेरैले प्रसंसा गर्छन् । त्यो बाहेक बिष्टले बनाएको डिल्लीराज भुसाल र दिनेश पन्थीसहित आफ्नो चुनावी अभियानमा खट्ने सचिवालय र जिम्मेवारी दिने व्यक्तिहरुको बफादारिता राम्रो थियो । धेरै ठाउँमा सचिवालय र नेताहरुले निकालेका डाटाले मिस खाएन । बिबाद समाधानमा बिलम्ब भएन । आन्तरिक रणनीति, चुनावी अभियान र संचार परिचालनमा गुल्मी २ को व्यवस्थापन लोभ लाग्दो भएको गठबन्धनकै नेताहरु अहिले बताउँछन्।

गुल्मी १ मा एमालेले एउटा राम्रो भविष्य भएका नेता प्रदिप ज्ञवालीलाई बिजयी बनाउन सकेन । गुल्मी १ मा एमालेले निकै आश गरेका ठाउँबाट मत सोचे अनुसार आएन । सुरुमै अग्रता लिएका ज्ञवालीले अन्तिमसम्म प्रतिस्प्रर्धी गठबन्धनका चन्द्र भण्डारीसंग पाँच पटक लुकामारी गर्ने स्थिती बन्यो । गठबन्धनको आडमा ज्ञवालीलाई सजिलै पराजित गर्ने प्रतिपक्षको दाउ थियो । उनले निर्वाचनको पछिल्ला दिनहरुमा गुल्मी २ भन्दा १ को आशा एमालेले गरेको हो। गठबन्धनलाई चुनावी अभियानमा ज्ञवाली परास्त गर्न निकै चुनौति बन्यो । ज्ञवालीले महसुस गरे वा गरेनन् । व्यक्त गर्लान वा नर्गलान् । तर, पार्टी नेताभित्रको अन्तर्घातको शिकार बन्नु परेको छ ।

कालिगण्डकीमा जनमोर्चाको आश एमालेलाई थियो । स्थानीय तहमा एमालेको बुइ चढेको माओवादी अहिले सहयोगभन्दा प्रतिस्प्रर्धामा थियो । त्यसैले कालिगण्डकीमै सोचे अनुसारको परिणाम आएन् । चन्द्रकोट गाउँपालिमामा गठबन्धन ठुलो मतान्तरको आश ब्रेक एमालेले गरेकै हो । तर, एमालेको पकड भनिएको सत्यवतिले एमालेलाई धोका दियो । उत्साह बोकेर खोला तर्नुपर्ने ज्ञवाली निराशा बोकेर उक्लिनुपर्यो। सत्यवतिमा एमालेकै नेताले खेलेको अन्तर्घातको खेल नेतृत्वले बेलैमा सम्हाल्न सकेन । रुरु एमालेको गण नै हो । स्थानीय तहको निर्वाचनमा ध्वस्त थियो संरचना । अहिले त्यो क्षतिपूर्ति भयो । तर, सोचे अनुसार त्यहाँ पनि भएन।

Awareness by SKF

अर्को एमाले पकड क्षेत्र छत्रकोट थियो । आफुहरुले छत्रकोट १ हुँगा बिगारेको भन्ने एमालेसंग मिथ्या विश्वास थियो । तर, कांग्रेसले एमालेकै नेता प्रयोग गरेर दिगाम बिगारेको पत्तो एमालेले पाएन वा त्यो रोकथामको उपाय खोजेन । रुरु र छत्रकोटका एमाले नेताको सवैभन्दा ठुलो आत्मघाती गोलकै कारण आज ज्ञवाली र फर्सुराम पाण्डेय पराजित बने । उमेद्वारको पेरिफेरीमा घुम्नेहरुको हराउ रणनीति र फेक डाटाको आशंका बेलैमा कसैले गर्ने फुर्सद भएन।

एमाले १ को सबैभन्दा ठुलो गल्ती आफ्नो क्षेत्र सुरक्षित गर्ने भन्दा अर्काको क्षेत्रलाई विचलित बनाउने खेलले आफु व्यवस्थित बन्न सकेन। आफ्ना विश्वास पात्रहरु काममा भन्दा अघिपछि देखिन रुचाउने गरेको कारण चुनाव प्रतिकुल बन्न सक्ने पुर्व संकेतलाई प्रदिपले बेलैमा चिन्न, बुझ्न र निर्मुल गर्न नसकेको आरोप अहिले एमाले भित्रकै नेता र शुभचिन्तकहरुले गर्ने गरिरहेका छन्। ज्ञवालीले टिममा कसैलाई चिढाउन रुचाउँदैनन्, औधी विश्वास गर्छन र कामको प्रचार कम मात्रै गर्छन् । उनले बलियो सचिवालय बनाउन नसक्नु, सहकर्मीहरुको मिथ्यांकको समपरिक्षण नगर्नु, आन्तरिक बिबादलाई निर्वाचन अघिनै व्यावस्थापन गर्न नसकेको विषय अहिले चियागफहरुले आउने गरेका छन्।

गठबन्धनका दुई सारथी समाजवादी र माओवादी जिल्लामा शुन्य भए । चन्द्र भण्डारी र धनेन्द्र कार्की बिजयी भए । कांग्रेसको बिजयी उत्सवमा माओवादी उभिएर फोटो खोज्ने हिम्मत छैन । प्रतिनिधी सभामा समाजवादीको केन्द्रिय सचिव रामकुमारी झाँक्री पराजित बनिन् । पार्टी अध्यक्ष श्रीराम महतले पार्टीबाट राजिनामा दिए । गठबन्धनको चुनावी यात्रा कांग्रेसको लागि सुखद भएपनि समाजवादी र माओवादी पत्तासाप हुँदा निकै पीडादायी बन्यो। रामकुमारीले मनको बह पोख्ने खास मान्छे चुनावी अभियानमा नभएको पक्का हो । किनकी पार्टीको संरचना नै थिएन । केहि युवाले सामाजिक संजालमा प्रतिपक्ष सरापेर मात्रै बसे । उनले बिगतमा कांग्रेस र माओवादीको अन्तर्घातको खेल एमालेमा रहेर बुझेकै थिइन्।

गत स्थानीय तहमा एमाले आवेगका कारण बिचलित भएका अस्थिर मत जोडेर झाँक्री गठबन्दनसंग दौडिरहिन् । व्यवस्थित कुनै कार्यक्रम भएनन् । सवैभन्दा ठुलो रणनीति मतको भेरिफाइ र मतदान प्रक्रियासम्म उपस्थित गराउने बिषयमा गठबन्धन कम्जोर रह्यो । प्रतिनिधी सभा सदस्यको उमेदवार र पुर्वमन्त्री भएकाले चुनावमा सफल बनाउने भन्दा श्रोतको उपभोगका लागि मात्रै नजिक घुमेकाहरुलाई झाँक्रीले पनि बेलैमा चिन्न सकिनन् । विभिन्न आशा बोकेर झाँक्रीसंग कांग्रेस नेतृत्व दौडिँदा आफ्नो असल उमेदवार पराजित भएकोमा अहिले कांग्रेसीहरुलाई पीडा भएको बुझ्न सकिन्छ।

आन्तरिक पार्टी भित्रको घातका कारण कांग्रेसको जग र शालिन व्यक्ति भुवनप्रसाद श्रेष्ठ पराजित बने । अझ बिडम्बना त रेसुंगा नगरपालिकामा ०७४ मा मेयरमा पराजित श्रेष्ठ पुन: डिल्लीराज भुसालसंगै हारे । ठुलो कांग्रेसी घातको पीडामा श्रेष्ठ छन् । उनी नगरबाटै डराएका थिए । किनकी नगरभित्र घात तथा अन्तर्घातको नराम्रो प्रतिस्प्रर्धा चल्छ । नगरबाट मत निषेध गर्दा पोल खुल्ने डरले इस्माबाट भुवन प्रसाद श्रेष्ठ पराजित भए। उनले मुसिकोटमा समेत आफुलाई राम्रोसंग उभ्याउने दाउ गरे । किनकी इस्माको मिथ्या सूचनाकै विश्वास श्रेष्ठमा थियोे । उनी स्थानीय तहमा पाएको मत यथावत भएर पार्टी अन्तर्घातको मिसाइल इस्मामा नपड्किएको भए रेसुंगाको मतले बिजयी बन्नेमा दुई मत थिएन् ।

बुद्धि जिसी माओवादीभित्र संभावना बोकेका मान्छे हुन्। धुर्कोट र मालिकामा स्थानीय सत्ता थियो । गुल्मी पश्चिममा केहि आश गर्ने संगठन पनि थियो । त्यो माथि कांग्रेसको मतमा बुद्धि जिसीले दौडमा सफलता खोज्नु स्वभाविक थियो । तर, आफ्नै संगठनको आत्मघाति रणनीतिको ब्रेक गर्न र कांग्रेस समाजवादीका नेताहरुले आफुहरुलाई मात्रै मत मागेका सूचनाको समपरिक्षण गर्न सकेनन्। वास्तविक धरातलको अवस्था मुल्यांकलन नगरेर पहिलेनै प्रतिस्प्रर्धीसंगको मतान्तर बताउने र ओभर कन्फिडेन्सकै कारण जिसीलाई क्षती भएको बिश्लेषण एमाले तथा माओवादीकै नेता तथा कार्यकर्ताहरुले गर्न थालेका छन्।

एमालेले कम र माओवादीले बढि आशा गरेको गुल्मी २ प्रदेश २ एमालेले पछिल्लोे अवस्थामा जोडेको आशा हो । गठबन्धनभित्र सवैभन्दा ठुलो घात भो । माओवादीलाई सवैभन्दा धेरै कांग्रेसले नै मत नदिएको बिषय छताछुल्ल भएका छन् । जसको अर्को पीडा सुर्दशन बरालले भोगे । स्थानीय सत्ता भएकै ठाउँमा कार्यकर्ता जोगाउन सकेनन् । कांग्रेसले मत दिने संभावना कम रहेको स्थानीय तहबाटै प्रमाणित भएको बिषयलाई थप गृहकार्य नगर्ने माओवादी नेतृत्वप्रति पार्टीभित्रै आलोचना सुरु भएको छ।

अहिले गठबन्धनको निकै कोलाहल मच्चिएको छ। प्रमुख प्रतिस्प्रर्धीभन्दा गठबन्धनकै आरोपप्रत्यारोपले सामाजिक संजाल रंगिएका छन् । यो अन्तर्घातको पासोमा प्रत्येक निर्वाचनमा नेताहरु पर्ने गरेका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले समेत आधा करोडसम्म खर्च गरेको हल्ला नचलेका हैनन्, त्यसै अनुसार पालिका प्रमुखसहितको नेतृत्वले कति खर्च गरेका होलान कल्पना गरौँ । त्यस्तै प्रदेश र संघिय निर्वाचनमा आयोगको आँखा छलेर ५० लाख देखि सात करोड खर्च गरेको सूचना बजारमा सुनिने गरेका छन् । यो खर्चको भिडमा असल राजनैतिककर्मी देखि आडम्बरीहरु पनि छन्। तर, अन्तर्घातका कारण असल व्यक्तिको सम्पति र भविष्य सकिएको छ।

(अर्याल नेपाल पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष हुन्। उनी लामो समय देखि जिल्लामा रहेर क्रियाशील पत्रकारिता गर्दै आएका छन्।)

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया