पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ। स्ट्यान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन्।
पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गरेका हुन् ।
महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापा मगर विरुद्ध ७–३ को सेटमा जीत दर्ता गरेकी हुन् । यस्तै, अर्को सेमिफाइनलमा एपीएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६–४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् ।
शनिबार वरियता निर्धारणका क्रममा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्ती मगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुगे भने महिलातर्फ पहिलो अनुश्का शेरचन र दोस्रो भएकी शारदा विक अन्तिम दुईको यात्रा तय गर्न सकेनन् । तेस्रो स्थानकी सोनु जया र चौथो स्थानकी योगिता फाइनल पुगेका हुन् ।
रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फ वरियता निर्धारण
आइतबार रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फको र्याङ्किङ राउण्ड सकिएको छ । रिकर्भ (७० मिटर) पुरुषतर्फ गण्डकीका गंगा बहादुर कुँवर पहिलो वरियतामा रहेका छन् ।
६५४ स्कोर ल्याएका कुँवरकोे १ स्कोर कम हुँदा रेकर्ड भेट्न सकेनन् । सन् २०१० मा बैंककको एशियन गेममा प्रेमप्रसाद पुनको नाममा रहेको नेपाली खेलाडीको उच्च रेकर्ड ६५५ स्कोर हो ।
यस्तै, पुलिसका तिलक पुन ६३५ स्कोर र गण्डकीका असिम शेरचन ६३० अंकका साथ तेस्रो स्थानमा रहन सफल भए । कम्पाउण्ड (५० मिटर) महिलातर्फको विधामा एपीएफी पार्षदा आचार्य ६६१ अंकका साथ वरियताको शीर्ष स्थानमा रहिन् ।
१३ औं सागमा इमायुङ राईले गरेको ६३४ स्कोरको उच्च रेकर्ड पार्षदाले तोडिन् । आर्मीकी इमायुङ भने अहिले ६२७ स्कोरका साथ दोस्रो वरियतामा रहिन् । यस्तै, ६११ स्कोरका साथ निर्मला राई कामवाङ तेस्रो स्थानमा रहिन् ।
सोमबार विहान रिकर्भ वुमनका वरियता निर्धारण, रिकर्भ मेनको इलिमिनेशन राउण्डका खेल हुनेछन् भने रिकर्भ मेन र कम्पाउण्ड वुमनका सेमिफाइनल खेल पनि हुनेछन्।
यस्तै विभिन्न विधाका क्वार्टर तथा सेमिफाइनल खेल पनि सोमबार नै हुनेछन् । स्टान्डर्ड विधामा कास्य पदकका लागि पनि सोमबार नै खेल हुने नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए। -ढोरपाटन न्यूज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










