घोराही: सडक, गोरेटो तथा पुल अभावमा ग्रामीण बस्तीका बालबालिकालाई विद्यालय पुग्न घण्टौँ समय लाग्ने गरेको छ। प्राथमिक तहको शिक्षा आर्जनका लागि पनि निकै सङ्घर्ष गर्नुपरेको छ।
लुम्बिनी प्रदेशको राजधानी दाङ राप्ती गाउँपालिका-९, घोसखोलाका वीरेन्द्र गाहा मुलाबारीमा रहेको विद्यालय पुग्न दैनिक तीन घण्टा हिँड्ने गर्छन्। कक्षा ६ मा अध्ययनरत वीरेन्द्रका लागि तीन घण्टाको हिँडाइ पढाइका लागि भन्दा सास्ती धेरै भएको छ। जंगल र पहाडको बाटोमा तीन घण्टा हिँडेर विद्यालय पुग्नु आफैँमा सकस र जोखिम छ।
वीरेन्द्रजस्तै सोही गाउँबाट दैनिक करिब १५ जना विद्यार्थी हिँडेर विद्यालय पुग्ने गरेका छन्। “घरनजिकै विद्यालय भएको भए पढ्नलाई राम्रो हुन्थ्यो। विद्यालय टाढा हुँदा धेरै दुःख पाउनुपरेको छ,” अर्की विद्यार्थी गाहाले जानकीले भन्नुभयो, “विद्यालय जाँदा आउँदा थकाइ लागिहाल्छ। कहिले स्कुल पुग्दा पढाइ सुरु भइसकेको हुन्छ, घर आउँदा रात पर्छ। लामो समय हिँडेर विद्यालय जानुपर्ने बाध्यताका कारण बिहान जुरुक्क उठेर स्कुल र बेलुकी अबेर घर पुग्दा विद्यार्थीलाई विद्यालयमा आउजाउबाहेक घरमा पढ्ने समय नै नहुने गरेको शिक्षक वीरेन्द्रकुमार न्यौपाने बताउँछन्।
शिशुदेखि १२ कक्षासम्म अध्यापन हुने यो विद्यालयमा करिब ६७० विद्यार्थी अध्ययनरत छन्। सडक, यातायात र घुमाउरो बाटोका कारण आधाभन्दा बढी विद्यार्थी दैनिक एकदेखि तीन घण्टा लगाएर विद्यालय पढ्न आउने गरेको प्रधानाध्यापक खगराज लम्सालले बताए।
उक्त विद्यालयमा बङ्गलाचुली गाउँपालिका–३, ४ र ८ सँगै घोराही उपमहानगरपालिका वडा नं। १ र राप्ती गाउँपालिका वडा नं। ९ बाट बालबालिका पढ्न आउने गरेका छन्। “भौगोलिक विकटताका कारण विद्यार्थीलाई अन्यत्र जाने ठाउँ छैन,” प्रधानाध्यापक लम्सालले भन्नुभयो, “त्यसैले रोकिनेडाँडा र घोसखोलालगायत टाढाका गाउँबाट बालबालिका पढ्न आउने गर्छन्।” टाढाबाट आउने विद्यार्थी ढिला पुग्ने, थाक्ने र छिट्टै भोकाउने समस्याले पठनपाठनमा समस्या हुने गरेको शिक्षकहरू बताउँछन्। २०३५ सालमा स्थापना भएको यो प्राथमिक विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन थालेको छ। स्थापनाको ४४ वर्षसम्ममा पनि विद्यालयको आर्थिक तथा शैक्षिक स्तरमा आमूल सुधार हुन सकेको छैन।
यहाँ शिक्षकसँगै विद्यार्थीसमेत पर्याप्त छैनन्। विद्यालयमा दस कक्षासम्म पढाउने शिक्षकले १२ सम्म पढाउने गरेका छन्। कक्षा ११ र १२ मा शिक्षा सङ्कायमा पढाइ हुन थालेपछि गत वर्ष १६ जना भर्ना भएका थिए। प्रधानाध्यापक लम्सालका अनुसार, विद्यालयमा दरबन्दी शिक्षक तीन, राहतको तीन, केन्द्रीय अनुदान र बालबालिका सहयोगी तथा नौ जना करारका शिक्षक रहेका छन्। -ग्लोबल आवाजबाट
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |