कुनै समय गुल्मीको सदरमुकाम तम्घास र सेरोफेरोका विभिन्न टोलमा आजकल जस्तो व्यवस्थित शौचालयको व्यवस्था थिएन। चिलाउनेको ठुटो र बाँसको घारी नै शौचालयका रूपमा प्रयोग हुन्थे। त्यहाँ कसले दिसा गरेको हो भन्ने कुरा रङ हेरेर छुट्याउन सकिने अवस्था थियो।
त्यतिबेला बिहान कुनै पाहुना शौचालय गएपछि छिमेकीहरू पुग्थे र ठट्टा गर्दै भन्थे, ‘हजुरबुवा, आज यस गाउँमा मुसिकोट, इस्मा, धुर्कोट वा पुर्कोटतिरका कुनै न कुनै कोदे पाहुना आएका रहेछन्।’
यो सामान्य ठट्टा मात्रै थिएन, पहाडका ग्रामीण भेगबाट आएका मानिसलाई उनीहरूको खानपान र पहिचानका आधारमा हेप्ने सामाजिक मनोवृत्तिको एउटा उदाहरण थियो।
कोदोको ढिँडो र रोटी खाने मानिसलाई मान्छे नगन्ने, उनीहरूको खानालाई गरिबी र पिछडिएको अवस्थाको प्रतीक ठान्ने थुप्रै दृष्टान्त छन्। यति मात्र होइन, ग्रामीण क्षेत्रमै कतिपय समुदायले ढिँडो खानुलाई अशुद्ध र तल्लो स्तरको खानपान मान्ने गरेको पाइन्थ्यो।तर समय सधैँ एउटै रहेन।
आज हिजो ढिँडो खानेहरूलाई ‘कोदे’ भन्दै उपेक्षा गर्नेहरूमध्ये कतिपय मानिस आफैँ कोदोको ढिँडो कहाँ पाइन्छ भन्दै खोज्दै हिँड्छन्। कम्तीमा बिदाको दिन घरमै ढिँडो खाने पार्टीको योजना बनाउँछन्। घरमा नपाए ढिँडो पाइने होटल रेस्टुरेन्ट पुग्छन्।
हिजो गरिबको खाना भनेर हेपिएको कोदो आज महँगो बासमती चामलसँग तुलना हुने गरी प्रतिष्ठित परिकार बनेको छ। कोदो मात्रै होइन, कुनै समय गरिब परिवारको भात मानिने मकैको आँटो र च्याख्लासमेत आज सहरीया प्रतिष्ठित परिवारको भोजन सूचीमा पर्न थालेका छन्।
यसले एउटा गम्भीर प्रश्न जन्माउँछ– कुनै समय मानिसलाई उसको खानाका आधारमा होच्याउने समाजले आज त्यही खानालाई किन सम्मान गर्न थालेको छ? के कोदो र मकैको गुणस्तर आज मात्रै फेरिएको हो? कि हाम्रो सोच र सामाजिक दृष्टिकोण फेरिएको हो?
वास्तवमा कोदो र मकैको गुण आजै जन्मिएको होइन। ती अन्न हाम्रा पुर्खाले पुस्तौँदेखि खाँदै आएका हुन्। खेतबारीमा फल्ने, आफ्नै श्रमले उत्पादन गर्ने र परिवारको भोक मेटाउने यी अन्न कुनै समय बाध्यता थिए। अहिले भने स्वास्थ्य, मौलिकता र परम्परागत खानपानको महत्त्व बुझ्दै जाँदा तिनै अन्नप्रति नयाँ पुस्तासमेत आकर्षित हुन थालेको छ।
अझ रोचक पक्ष के छ भने, आधुनिक सहरी खानपानका कारण स्वास्थ्य समस्या भोगिरहेका कतिपय मानिस फेरि पुरानै अन्नतर्फ फर्किन थालेका छन्। कोदो र मकैको खाना खान थालेपछि स्वास्थ्यमा सुधार भएको अनुभव सुनाउने बिरामीहरू पनि भेटिन्छन्।
तर यसलाई कुनै रोगको निश्चित उपचारका रूपमा बुझ्नु हुँदैन। कोदो र मकैका पौष्टिक गुणलाई वैज्ञानिक आधारमा बुझ्नु आवश्यक छ। खाद्य तथा कृषि संगठन (FAO) का अनुसार कोदोका विभिन्न प्रजाति र सम्पूर्ण अन्नमा आहारीय रेसा, खनिज पदार्थ, भिटामिन तथा प्रोटिन पाइन्छ। विशेषगरी रागी अर्थात् मन्डुवा कोदोमा क्याल्सियमको मात्रा उल्लेख्य हुन्छ। यसको रेसाले पाचन प्रणाली, दिसाको नियमितता र पेट भरिएको अनुभूति कायम राख्न सहयोग गर्न सक्छ।
नेपाल सरकारको सन् २०२३ को ‘Millets in Nepal’ अध्ययनले पनि कोदोका केही प्रजातिमा चामल र मकैको तुलनामा फलाम, क्याल्सियम तथा अन्य खनिज पदार्थ बढी रहेको देखाएको छ।
त्यस्तै, मकै पनि ऊर्जा, केही प्रोटिन, रेसा र विभिन्न सूक्ष्म पोषक तत्त्वको स्रोत हो। विशेषगरी प्रशोधन गरेर बाहिरी पोषक तह नहटाइएको सम्पूर्ण अन्नको सेवनलाई पोषणका दृष्टिले उपयोगी मानिन्छ।
हार्वर्ड विश्वविद्यालयको जनस्वास्थ्यसम्बन्धी अध्ययन सामग्रीले सम्पूर्ण अन्नको नियमित सेवनलाई मुटुरोग र टाइप–२ मधुमेहको जोखिम कम हुने अवस्थासँग जोडेको छ। तर कोदो वा मकै खाँदैमा कुनै रोग निको हुन्छ भन्ने प्रमाणित निष्कर्ष भने छैन। खानाको मात्रा, पकाउने तरिका र समग्र आहार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
यसैले कोदो र मकैको महत्त्व बुझ्नु राम्रो हो, तर हिजोका खानालाई आजको फेसन बनाउने क्रममा फेरि तिनलाई महँगो होटलको परिकारमा मात्र सीमित गर्नु हुँदैन। गाउँमा उत्पादन गर्ने किसानले उचित मूल्य पाउनुपर्छ र आफ्नै माटोमा फल्ने अन्न सामान्य परिवारको पहुँचमा पनि रहनुपर्छ।
आज एउटा पुरानो उखान स्मरण आयो– ‘जसलाई गर्छ हेला, एक दिन उसैको पर्छ फेला।’ यो उखान कोदो र मकैमा मात्रै लागू हुँदैन। मानिसलाई उसको आर्थिक अवस्था, पेसा, जातीय पहिचान, भूगोल र खानपानका आधारमा सानो ठान्ने प्रवृत्तिमाथि पनि लागू हुन्छ।
हिजो कोदो खाने पहाडियालाई ‘कोदे’ भन्दै हेप्नेहरू आज त्यही कोदोको ढिँडो खोज्दै हिँडिरहेका छन्। तर प्रश्न यति मात्रै हो– ढिँडोको सम्मान बढ्दा के ढिँडो खाने मानिसको पनि सम्मान बढेको छ?
खाना बदलियो, स्वाद बदलियो, बजार बदलियो। अब मानिसलाई हेर्ने हाम्रो दृष्टिकोण पनि बदलिनुपर्छ।
चिन्तक : प्रेम सुनार
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









