यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना माननीयज्यूहरू चीन भ्रमणमा हुनुहुन्छ। यस अवसरमा उहाँहरूसमक्ष केही कुरा राख्न मन लाग्यो।
माननीयज्यूहरू, क्रान्ति जेनजी आन्दोलनजस्तो रातारात सम्पन्न हुने विषय होइन। कुनै आन्दोलनले छोटो समयमा राजनीतिक परिवर्तन ल्याउन सक्ला, तर त्यसबाट प्राप्त उपलब्धिको दीर्घकालीन व्यवस्थापन, संस्थागत विकास र जनताको जीवनमा अनुभूत हुने परिवर्तन नै मुख्य चुनौती हो।
चीनको इतिहास हेर्नुस्। चिनियाँ कम्युनिस्ट पार्टीको क्रान्ति, त्यसका पछाडिको संघर्ष, बलिदान, राष्ट्रिय स्वाभिमान, नेतृत्व निर्माण, राजनीतिक अनुशासन र विकासको लामो यात्रा अध्ययन गर्नुस्।
चीनले आफ्नो राष्ट्रिय हित र स्वाभिमानको प्रश्नमा कुनै शक्तिसामु सहजै झुक्ने नीति लिएको देखिँदैन। आर्थिक विकास र राष्ट्रिय सामर्थ्य निर्माणमा उसले देखाएको निरन्तरता पनि अध्ययनयोग्य छ।
नेपालको वर्तमान राजनीतिमा देखिएको पपुलिजम अर्थात् लोकप्रियतावादको प्रवृत्तिलाई पनि एकपटक गम्भीरतापूर्वक समीक्षा गर्नुस्। लोकप्रिय नारा र तत्कालीन वाहवाहीले मात्रै देश बन्दैन। देश बनाउन दीर्घकालीन सोच, स्पष्ट नीति, संस्थागत क्षमता, जवाफदेहिता र अनुशासन चाहिन्छ।
हामीलाई लोकतन्त्र चाहिन्छ। नागरिक स्वतन्त्रता चाहिन्छ। अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धा पनि चाहिन्छ। तर लोकतन्त्रको नाममा अनुशासनहीनता, एकअर्काप्रतिको अपमान र असहिष्णुता स्वीकार्य हुन सक्दैन। फरक विचार राख्नेबीच पनि पारस्परिक सम्मान र राष्ट्रिय हितप्रतिको साझा प्रतिबद्धता आवश्यक छ, माननीयज्यूहरू !
चीनको विकास मात्रै होइन, त्यसको पछाडिको इतिहास, संघर्ष, बलिदान, राष्ट्रिय स्वाभिमान, सभ्यता, अनुशासन र दीर्घकालीन व्यवस्थापनको अभ्यास पनि बुझेर आउनुहोला।
चीनको राजनीतिक प्रणाली जस्ताको तस्तै नेपालमा लागू गर्नुपर्छ भन्ने होइन। नेपालको मौलिकता, संविधान र लोकतान्त्रिक मूल्यभित्र रहेर सिक्न र अपनाउन सकिने कुरा ग्रहण गर्नुस्।
भ्रमणको सम्झना र तस्वीर मात्रै होइन, देश बनाउने दृष्टिकोण, राष्ट्रिय स्वाभिमान र जिम्मेवारीबोध बोकेर फर्कनुहोला।
शुभयात्रा तथा सार्थक अध्ययनको शुभकामना !
चिन्तक : प्रेम सुनार
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









