बाबुराम महत, कतार
मेरो जन्म २०३६ साल कात्तिक महिनामा गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३, रामकोटमा भएको हो। सामान्य किसान परिवारमा जन्मिएको मेरो बाल्यकाल गाउँकै परिवेशमा बित्यो। अभाव र दुःखसँगै हुर्किए पनि मनमा केही गर्ने, पढ्ने र जीवनमा अगाडि बढ्ने चाहना थियो।
मैले प्रारम्भिक शिक्षा श्री ठाडुङ्गा माध्यमिक विद्यालय, इस्मा–३ बाट सुरु गरेँ। त्यसपछि माध्यमिक तहको अध्ययनका लागि इस्मा–४ दोहलीस्थित रामराज्य माध्यमिक विद्यालय पुगेँ। परिवारमा हामी छ जना सन्तान थियौँ। दुई दिदी, एक दाइ, म, भाइ यमराज महत र बहिनी। दिदीहरू र दाइको विवाह भइसकेको थियो।
उनीहरू आ–आफ्नो घरजम गरेर छुट्टिएका थिए। घरमा आमाबुबा, भाइ, बहिनी र म थियौँ। मेरो जीवनको सबैभन्दा पीडादायी मोड २०५५ साल पुसमा आयो। म कक्षा १० मा पढ्दै थिएँ। त्यही बेला आमाको निधन भयो। आमालाई क्यान्सर रोग लागेको थियो।
उपचारका क्रममा परिवारले आर्थिक कठिनाइ पनि भोग्नुपरेको थियो। आमाको निधनले घरको आधार नै ढलेझैँ भयो। आमाको अन्त्येष्टि र संस्कारको पीडाबीच पनि मैले कक्षा १० को सेन्टअप परीक्षा दिनुपर्ने अवस्था आयो। म र भाइ यमराजले आमाको निधनपछिको शोक र पारिवारिक जिम्मेवारीबीच परीक्षा दियौँ।
परीक्षा सकिएपछि २०५५ सालमै रोजगारीको खोजीमा काठमाडौं पुगेँ। गाउँमा बसेर परिवारको अवस्था सुधार्ने सम्भावना कम देखेपछि केही गर्ने आशा बोकेर राजधानी छिरेको थिएँ। काठमाडौंमा सुरुका दिन सहज थिएनन्। सडक किनारमा सामान बेच्ने र पत्रपत्रिका बिक्री गर्ने काम गरेँ।
आफ्नो श्रम बेचेर भए पनि जीवन चलाउनुपर्ने बाध्यता थियो। राजधानीको भीडभाड र संघर्षले जीवनका धेरै कुरा सिकायो।
यता भाइ यमराजले एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि बुटवल जाने योजना बनायो। आर्थिक अवस्था कमजोर भएकाले भाडा जुटाउनसमेत कठिन थियो।
ऋण सापटी गरेर ऊ बुटवल पुग्यो र सुरुमा दिदीको घरमा बसेर पढाइ अघि बढाउन थाल्यो। भाइको पढाइ र भविष्यलाई सहयोग गर्नुपर्ने जिम्मेवारी पनि मेरो काँधमा थियो। त्यसैले काठमाडौं छाडेर म पनि बुटवल आएँ।
२०५६ साल माघदेखि बुटवलमा मेरो नयाँ संघर्ष सुरु भयो। ट्राफिक चोकस्थित गुप्ता होटलनजिकैको एउटा खाजा पसलमा काम गर्न थालेँ। बस्नका लागि ज्योतिपथ र बुटवल बहुमुखी क्याम्पस आसपास कोठा भाडामा लिएँ। भाइ यमराजलाई पनि कामको आवश्यकता थियो। त्यसैले अस्पताल लाइनस्थित विशाल पुस्तक सदनमा उसको कामको व्यवस्था मिलाइदिएँ।
बुटवलमा कामसँगै पढाइलाई पनि निरन्तरता दिने प्रयास गरेँ। बिहानदेखि बेलुकासम्मको काम र बाँकी समय अध्ययनमा बित्थ्यो। जीवन चलाउन र परिवारको जिम्मेवारी पूरा गर्न काम नगरी सुख थिएन। त्यसैले पढाइ, रोजगारी र पारिवारिक दायित्वलाई सँगसँगै अघि बढाउनुपरेको थियो।
यसैबीच २०५७ सालमा मेरो विवाह भयो। सुरुमा आर्थिक रूपमा केही स्थिर भएपछि मात्रै विवाह गर्ने सोच थियो। तर बुबाको उमेर र एक्लोपन तथा घरको परिस्थितिले छिट्टै विवाह गर्नुपर्ने अवस्था बन्यो। बुबाले नै “बुटवलतिरै लैजाऊ, मलाई केही दुःख छैन” भन्नुभयो। त्यसपछि श्रीमतीलाई बुटवल ल्याएँ। हामीले बुटवलमै बसेर जीवन अघि बढाउन थाल्यौँ।
बुटवलको बसपार्क र आसपासका क्षेत्रमा पत्रपत्रिका बेच्ने काम पनि गरेँ। त्रिवेणी किनारको बसपार्कबाट सुरु गरेर बसभित्र, सडकमा, घरघरमा र पसलपसलमा पुगेर पत्रपत्रिका बिक्री गर्थें। पत्रिका बेच्नु केवल आम्दानीको माध्यम मात्र थिएन, त्यो मेरो जीवनको अर्को पाठशाला पनि थियो।
♥
मानिसका रुचि, समाजका गतिविधि र देशको राजनीतिक तथा सामाजिक अवस्थाबारे बुझ्ने अवसर त्यही कामले दियो।
पत्रपत्रिका बिक्री गर्दा राशिफलका पाना र क्यालेन्डरसमेत बेच्थेँ। त्यस समयमा जनसंघर्ष दैनिक, लुम्बिनी, मेचीकाली, नयाँ दिशा र देउरालीजस्ता स्थानीय पत्रपत्रिका बिक्री गर्थें।
राष्ट्रियस्तरका कान्तिपुर, नेपाल समाचारपत्र, राजधानी, स्पेस टाइम र अन्नपूर्ण पोस्ट पनि बिक्रीका लागि बोकेर हिँड्थेँ। त्यसैगरी जनादेश, जनआह्वान, महिमा, हाँक, देशान्तर, घटना र विचार, युगबोध, छलफल, दृष्टि, जनआस्था, जनराज्य र रेसुङ्गाजस्ता साप्ताहिक पत्रपत्रिका तथा विभिन्न पत्रपत्रिका र म्यागजिन पनि बिक्री गर्थें।
२०५६ साल माघदेखि २०६० साल भदौसम्मको बुटवल बसाइमा मेरो दिनचर्या यस्तै श्रम, अध्ययन र पारिवारिक जिम्मेवारीबीच बित्यो। कहिले होटलमा काम, कहिले पत्रिका बिक्री, कहिले पढाइ त कहिले घरपरिवारको आवश्यकता पूरा गर्ने दौडधुप। जीवन सहज थिएन, तर संघर्षबाट पछि हट्ने विकल्प पनि थिएन।
त्यसपछि रोजगारीका लागि विदेश जाने निर्णय गरेँ। २०६० साल मंसिर ११ गते कतारका लागि प्रस्थान गरेँ। विदेश जाने रहरभन्दा पनि परिवारको आर्थिक अवस्था सुधार्ने बाध्यता ठूलो थियो। कतार पुग्दा मेरो हातमा खासै सीप थिएन। काम सिक्दै, भाषा र वातावरण बुझ्दै अघि बढ्नुपर्ने अवस्था थियो। सुरुमा मासिक पाँच सय कतारी रियाल तलब पाउने काममा लागेँ।
तलब थोरै भए पनि ओभरटाइम गरेर कमाइ बढाउने प्रयास गर्थें। खर्च कटाएर महिनामा नेपाली १० देखि १२ हजार रुपैयाँसम्म बचत गर्न सक्थेँ। आमाको उपचारका क्रममा लागेको ऋण र विदेश जान लिएको ऋण तिर्नु थियो। परिवारको आर्थिक बोझ कम गर्ने जिम्मेवारी पनि मेरै काँधमा थियो। त्यसैले आफ्नो इच्छा र सुविधाभन्दा परिवारको आवश्यकता प्राथमिकतामा राखेर काम गरिरहेँ।
२०६३ साल असारमा बिदामा नेपाल फर्किएँ। कतारमा पुनः फर्किने तयारी थियो, तर भिसासम्बन्धी प्राविधिक समस्याका कारण निर्धारित समयमा फर्कन सकिनँ। त्यसपछि बुटवलमै बसेर विभिन्न काम गर्न थालेँ। होटलहरूमा खाद्यान्न तथा मदिरा आपूर्ति गर्ने, थोक तथा खुद्रा कारोबार गर्ने काममा संलग्न भएँ।
त्यसपछि पाल्पाको दोभान–झुम्सास्थित रेसुङ्गा मडाने हर्ब एन्ड बायोडिजेल प्रोसेसिङ सेन्टरमा पनि काम गरेँ।
समय र परिस्थितिले फेरि विदेशतिरै धकेल्यो। २०६८ सालतिर पुनः कतार पुगेँ। सुरुमा एउटा सप्लाई कम्पनीमा काम गरेँ। त्यसपछि करिब पाँच वर्ष त्यही कम्पनीमा रहेर काम गरेँ। पछि अर्को कम्पनीमा गएँ र स्पोन्सर परिवर्तन गरेँ। अहिले म अर्को कम्पनीमा कार्यरत छु। विदेशको जीवनमा काम, जिम्मेवारी र परिस्थितिसँग जुध्दै आफ्नो यात्रा अघि बढाइरहेको छु।
जीवनको यस यात्रामा परिवार नै मेरो सबैभन्दा ठूलो प्रेरणा बनेको छ। मेरा तीन सन्तान छन्—छोराहरू शिशिर महत र सुगम महत तथा छोरी सरिस्मा महत। शिशिर उच्च शिक्षाका लागि नेदरल्यान्ड्समा स्नातक तह अध्ययन गर्दै छन्। छोरी सरिस्मा कक्षा १२ र छोरा सुगम गुल्मीमै कक्षा १० मा अध्ययनरत छन्। उनीहरूको भविष्य र शिक्षाका लागि आफूले सकेको मेहनत गरिरहेको छु।
गाउँको सामान्य परिवेशबाट सुरु भएको मेरो जीवनयात्राले काठमाडौं, बुटवल र कतारसम्मको बाटो तय गरेको छ। यस यात्रामा दुःख, अभाव, जिम्मेवारी, पारिवारिक पीडा र अनेकौँ चुनौती आए। आमाको निधन, बुबाको एक्लोपन, भाइको पढाइ, विवाहपछिको जिम्मेवारी र विदेशको संघर्षले मलाई जीवनका फरकफरक पाठ सिकाए।
आज पछाडि फर्केर हेर्दा जीवनमा प्राप्त उपलब्धिभन्दा पनि ती उपलब्धिका लागि गरेको संघर्ष सम्झना आउँछ। कुनै काम सानो हुँदैन र कुनै श्रम व्यर्थ हुँदैन भन्ने कुरा आफ्नै जीवनले सिकाएको छ। सडकमा पत्रिका बेच्दादेखि विदेशमा पसिना बगाउँदासम्मका हरेक अनुभव मेरा लागि जीवनका अमूल्य पाठ हुन्।
जीवन भनेको निरन्तर संघर्ष र जिम्मेवारीको यात्रा रहेछ। परिस्थितिले जहाँ पुर्याए पनि आफ्नो कर्मप्रति इमानदार भएर अघि बढ्न सकियो भने एक दिन त्यसको अर्थ अवश्य भेटिँदो रहेछ।
( लेखक बाबुराम महत, ओझेलका खबरको कतार प्रतिनिधि हुन )
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









