Smoking Causes Cancer

जेनजी आन्दोलन र चुनाव दुवै चमत्कार थिए, तर परिवर्तनमा चमत्कार देखिएन



ओझेलका खबर
२ मिनेट अगाडि


Place for ads

 

 

सिंचाई
Forest
Ad.

एक वर्षअघि देशको राजनीतिमा दुईवटा असाधारण घटना भए । पहिलो—जेनजी आन्दोलन । दोस्रो -त्यसपछि भएको निर्वाचन । दुवैलाई नेपाली राजनीतिक इतिहासका चमत्कार भन्न सकिन्छ । तर, विडम्बना के छ भने जुन परिवर्तनका लागि आन्दोलन भयो, जुन परिवर्तनको आशामा चुनाव भयो, त्यो परिवर्तनको अनुभूति भने जनताले अझै गर्न सकेका छैनन् ।

०८२ भदौ २३ । जेनजी पुस्ता सडकमा आयो । माग ठूलो थिएन—सरकारले बन्द गरेको सामाजिक सञ्जालखोलियोस्, भ्रष्टाचार र बेथिति अन्त्य होस्, सुशासन कायम होस्, शासन शैली बदलियोस् ।

माइतीघरबाट सुरु भएको जुलुस बानेश्वरस्थित संसद् भवनसम्म पुग्दा आन्दोलन शान्तिपूर्ण नै थियो । तर, जब संसद् भवनभित्र प्रवेश गर्ने क्रम सुरु भयो, स्थिति बदलियो । सुरक्षाकर्मीको गोली चल्यो । कलिला युवाहरू सडकमा ढल्न थाले ।एकपछि अर्को युवा ढल्दै गए ।

त्यो दिन २३ जनाले ज्यान गुमाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए । त्यो खबर सुन्दा धेरै नेपालीलाई लागेको थियो—अब सरकार झुक्छ । सायद प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन्छन् । सायद बन्द गरिएको सामाजिक सञ्जाल खोल्ने घोषणा हुन्छ । सायद युवाको आवाज सुनिन्छ ।

Awareness by SKF

तर, त्यस्तो भएन । त्यसको परिणाम भदौ २४ मा अझ भयावह रूपमा देखियो । आन्दोलनको राँको बल्यो । देशका महत्वपूर्ण संरचना जले । सिंहदरबारदेखि संसद् भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत र निजी सम्पत्तिसम्म अर्बौंको क्षति भयो । थप मानिसले ज्यान गुमाए । अन्ततः ओली नेतृत्वको सत्ता ढल्यो ।

त्यसपछि नेपालको राजनीतिमा अर्को चमत्कार भयो ।
सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भयो । संसद् विघटन भयो । नयाँ निर्वाचनको घोषणा भयो । र, तोकिएकै समयमा चुनाव पनि भयो ।

तर त्यो चुनाव केवल एउटा नियमित निर्वाचन थिएन ।
देशभित्र रहेका मात्र होइन, विदेशमा रहेका थुप्रै युवाले समेत सामाजिक सञ्जाल र आफन्तको माध्यमबाट एउटा मौन अभियान चलाए—पुराना दलप्रतिको असन्तुष्टिलाई मतमा बदल्ने अभियान ।

कांग्रेस, एमाले वा माओवादीप्रति आस्था राख्नेहरूलाई समेत कतिपय अवस्थामा एउटा सन्देश सुनियो—“तिमी जहाँ देखिए पनि भोटचाहिँ घण्टीमा ।” त्यसको परिणाम पनि अर्को चमत्कारकै रूपमा आयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ नजिकको जनमत प्राप्त गर्‍यो । बालेन शाह नेतृत्वमा सरकार गठन भयो । वर्षौँदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, महँगी, बेथिति र पुराना राजनीतिक शैलीबाट वाक्क भएका नेपालीमा फेरि ठूलो आशा पलायो । जनताले सोचे—अब केही त बदलिन्छ ।

विशेषगरी वर्षौँदेखि समस्या बोकेर बसेका गरिब, भूमिहीन र सुकुम्बासीले सोचे—अब हाम्रो पीडा कसैले बुझ्छ । पुराना राजनीतिक दलहरूले वर्षौँदेखि चुनाव आउँदा बाख्रालाई घाँस देखाएर आफ्नो स्वार्थको गन्तव्यमा पुर्‍याएझैँ गरिबका समस्या देखाएर मत मागे ।

अब नयाँ सरकारले वास्तविक सुकुम्बासीको समस्या समाधान गर्छ भन्ने आशा हुनु स्वाभाविक थियो । तर, त्यही ठाउँमा अर्को प्रश्न उभियो । समस्या समाधान गर्ने कि समस्या नै हटाउने ?

सुकुम्बासी समस्या समाधान गर्ने नाममा डोजर चल्न थाल्यो । सीमित हुकुम्बासीका नाममा गरिएको कारबाहीको औचित्य जे भए पनि वास्तविक र वर्षौँदेखि बसेका मानिसका झुपडीमा समेत विकल्पबिनै डोजर पुग्दा उत्पन्न भएको रुवाबासीलाई सहजै बिर्सन सकिँदैन ।गरिबको झुपडी भत्काउनु सजिलो छ । तर, त्योझुपडीभित्रको जीवन पुनर्निर्माण गर्नु कठिन छ राज्यको डोजर केवल टिन र बाँसमा ठोक्किँदैन । त्यो डोजर कुनै परिवारको आश्रय, बालबालिकाको भविष्य र वर्षौँको संघर्षमाथि पनि ठोक्किएको हुन्छ ।

नेपालको राजनीतिक इतिहासमा कम्युनिष्टहरूले आफूलाई गरिब, सर्वहारा र श्रमजीवी वर्गको प्रतिनिधि भन्दै आए । तर, व्यवहारमा त्यस्तो आदर्श स्थापित हुन सकेन । त्यसैको असन्तुष्टिबाट नयाँ शक्तिहरू जन्मिए । र, जनताले नयाँलाई अवसर दिए ।

तर, नयाँ शक्ति पुरानै शैलीमा हिँड्न थाल्यो भने प्रश्न स्वाभाविक हुन्छ—फेरि परिवर्तन भयो चाहिँ के ?
जेनजी आन्दोलनको मूल प्रश्न यही थियो । जेनजीले केवल केपी ओलीलाई हटाउन खोजेका थिएनन् । उनीहरूले केवल सरकार परिवर्तन मागेका थिएनन् । उनीहरूले शासन गर्ने तरिका परिवर्तन मागेका थिए ।

उनीहरूलाई यस्तो राज्य चाहिएको थियो, जहाँ सरकार जनताभन्दा माथि नहोस् । जहाँ आलोचना अपराध नहोस् । जहाँ प्रश्न गर्ने नागरिकलाई शत्रु नठानियोस् । जहाँ निर्णय केही सीमित व्यक्तिको घेराभित्र होइन, पारदर्शी प्रक्रियाबाट होस् । जहाँ संविधान केवल किताबमा होइन, व्यवहारमा पनि देखियोस् ।

तर, आज जेनजी आन्दोलनमा जोडिएका युवाहरू नै विभाजित छन् । एकथरी सत्ता र शासनको संरचनाभित्र पुगेका छन् । ठूलो हिस्सा अझै सडकमा छ । सडकमा रहेका जेनजी अगुवाहरूको आरोप छ—जुन परिवर्तन र सुशासनका लागि आन्दोलन गरिएको थियो, सरकार विस्तारै हिजोकै पुराना दल र शासकहरूको शैलीतर्फ अघि बढिरहेको छ ।

यदि यो आरोप गलत हो भने सरकारले व्यवहारबाट खण्डन गर्नुपर्छ । किनभने बलियो जनमत आफैँमा उपलब्धि हो, शासनको प्रमाणपत्र होइन । झण्डै दुई तिहाइको जनमत प्राप्त गर्नु ठूलो राजनीतिक पूँजी हो । तर, त्यही जनमतले सरकारलाई आफूले चाहेको जे पनि गर्ने छुट दिँदैन । बरु, जनमत जति ठूलो हुन्छ, जवाफदेहिता त्यति नै ठूलो हुन्छ ।

       आजको सरकारसामु सबैभन्दा ठूलो चुनौती यही होलोकप्रियतालाई शासन क्षमतामा कसरी बदल्ने ? सरकारले संविधानको मर्मलाई आत्मसात् गर्नुपर्छ । संसदीय प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बोझ होइन, शासनको आधार मान्नुपर्छ । संवैधानिक तथा प्रशासनिक संस्थाहरूलाई कानुनको सीमाभित्र स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ । निर्णय प्रक्रियामा पारदर्शिता बढाउनुपर्छ ।

आलोचना गर्नेहरूलाई विरोधी र प्रश्न गर्नेहरूलाई शत्रु ठान्ने संस्कार अन्त्य गर्नुपर्छ । किनभने लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो परीक्षा प्रशंसा सुन्ने क्षमतामा होइन, आलोचना सहने क्षमतामा हुन्छ ।

सरकारले जनताबाट टाढिएर होइन, जनतासँग घुलमिल भएर शासन गर्नुपर्छ । प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा छिटो, सरल र झन्झटरहित बनाउनुपर्छ भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कागजमा होइन, व्यवहारमा देखाउनुपर्छ ।

संविधान संशोधन आवश्यक छ भने त्यो पनि प्रधानमन्त्रीका सल्लाहकार वा सीमित घेराको इच्छाले होइन, संसद्, राजनीतिक दल, नागरिक समाज, प्रबुद्ध समूह र सरोकारवालालाई विश्वासमा लिएर संवैधानिक बाटोबाट हुनुपर्छ ।

भूराजनीतिक रूपमा संवेदनशील मुलुक नेपालमा विदेश नीति पनि आवेगले होइन, विज्ञता, राष्ट्रिय हित र सन्तुलनका आधारमा सञ्चालन हुनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा—जेनजीले खोजेको परिवर्तनलाई कसैले आफ्नो राजनीतिक सम्पत्ति नबनाओस् ।

न त पुराना दलले जेनजीको आक्रोशलाई आफ्नो विरोधीमाथि प्रहार गर्ने हतियार बनाऊन्, न नयाँ शक्तिले जेनजीको बलिदानलाई आफ्नो सत्ताको वैधताको प्रमाणपत्र मात्र बनाओस् ।

जेनजी आन्दोलनमा ज्यान गुमाएका ती कलिला युवाहरूको प्रश्न आज पनि उस्तै छ— हामी किन मर्‍यौँ ? केवल सरकार बदल्न ? केवल सिंहदरबारको कुर्सीमा नयाँ अनुहार हेर्न ? केवल चुनावमा नयाँ चिन्ह जिताउन ?
यदि त्यसैका लागि थियो भने त्यो बलिदानको अर्थ अत्यन्त साँघुरो हुन्छ ।

उनीहरूले खोजेको परिवर्तन त त्यो थियो, जुन जनताले आफ्नो दैनिक जीवनमा महसुस गर्न सकून् । महँगी घटेको महसुस होस् । भ्रष्टाचार गर्न डर लागोस् । सरकारी कार्यालयमा काम लिन घुस दिनु नपरोस् ।गरिबले राज्यसँग डराउनु नपरोस् ।युवाले भविष्य देख्न विदेशिनैपर्ने बाध्यता नहोस् ।

सरकारसँग प्रश्न गर्दा नागरिकले आफू असुरक्षित महसुस गर्न नपरोस् । र, सत्ता जनताको सेवक हो भन्ने कुरा भाषणमा होइन, व्यवहारमा देखियोस् । त्यही हो शासन परिवर्तन । नत्र एउटा शासक गयो, अर्को आयो ।

एउटा पार्टी गयो, अर्को आयो । एउटा चुनाव भयो, अर्को भयो ।अनुहार फेरिए, तर जनताको जीवन फेरिएन भने त्यसलाई परिवर्तन कसरी भन्ने ? जेनजी आन्दोलन चमत्कार थियो । त्यसपछि आएको चुनाव पनि चमत्कार थियो ।

तर, चमत्कारको सबैभन्दा ठूलो परीक्षा परिणाममा हुन्छ । सत्ता परिवर्तन भइसक्यो । अब शासन परिवर्तन देखिन बाँकी छ । आजको बालेन सत्ता सफल हुने कि असफल हुने भन्ने फैसला बालेनको लोकप्रियताले गर्नेछैन । त्यो फैसला उनका सरकारका निर्णय, लोकतान्त्रिक संस्कार, पारदर्शिता, जवाफदेहिता, संस्थागत शक्ति सन्तुलन र जनताको जीवनमा आएको वास्तविक परिवर्तनले गर्नेछ ।

सरकार सुध्रियो भने जेनजीको बलिदानले अर्थ पाउनेछ । जनअपेक्षा क्रमशः पूरा हुँदै जानेछ । सुशासन र विकासले गति लिनेछ । तर, सत्ता फेरि अहंकार, अक्षमता, अपारदर्शिता र जनताबाट दूरीको बाटोमा हिँड्यो भने इतिहास फेरि दोहोरिन सक्छ ।हिजोका शासकहरूले असन्तुष्टिबाट बच्न हेलिकप्टर चढेर भाग्ने अवसर पाए ।

तर, इतिहासले अर्को पटक त्यस्तो सुविधा पनि दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यसैले आजको बालेन सत्ता र यसका सञ्चालकहरूले समयमै बुझ्नुपर्ने कुरा एउटै हो— जेनजीले सत्ता परिवर्तनमात्र खोजेका थिएनन् , उनीहरूले शासन परिवर्तन खोजेका थिए ।

र त्यो परिवर्तन भाषणमा होइन, नारामा होइन, सामाजिक सञ्जालको ट्रेन्डमा होइन— जनताको दैनिक जीवनमा देखिनुपर्छ । एक वर्षपछि पनि त्यो परिवर्तनको चमत्कार देखिन नसक्नु नै आजको सबैभन्दा ठूलो राजनीतिक विडम्बना हो ।बलिदानले सत्ता बदल्यो । मतले सत्ता बदल्यो । अब शासनले जनताको जीवन बदल्न बाँकी छ ।
ओझेलका खबर सम्पादकीय

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो