गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका ७ र ८, वामी र वामीटक्सार अर्थात साविक वामी गाविस। शिक्षा, व्यापार र प्रवुद्ध व्यक्तित्वहरुको खानीका रुपमा चिनिने यो ऐतिहासिक भूमि, बैसाख १२ र १३, २०८३ को दिन एक अनुपम भावनात्मक र सांस्कृतिक तथा प्रकृति संगको उत्सवको साक्षी बन्यो। आफ्नो जन्मभूमिको माटो र कलालाई बैदेशिक रोजगारीको बाध्यतामा बिर्सेर होइन थप जिवन्त र सिंचित गर्ने एउटा कलाकार बैकुण्ठ रायमाझीको परिकल्पना र आयोजनामा सिंगो वामी झुम्यो।
विश्व र वामीलाई जोड्ने परिकल्पनाकार, वामी विश्व सम्पर्क मञ्चका सांस्कृतिक संयोजक समेत रहनुभएका रायमाझिको सक्रियताको गुरु सम्मान कार्यक्रमले शिक्षाको जगहाल्ने गुरुहरु र सफल चेलाहरुबीचको सम्बन्धलाई थप जिवन्त बनाइदियो भने सांस्कृतिक पहिचान र शालिमे पर्यटनलाई जोडिदियो।
गुरुको महिमा र कृतज्ञताको भाव
महेन्द्र आदर्श नमुना माविको सभाहलमा आयोजित पहिलो दिनको समारोह एउटा औपचारिक कार्यक्रम मात्र थिएन, त्यो त आफ्ना गुरुहरुप्रति कृतज्ञता व्यक्त गर्ने एउटा पवित्र अवसर पनि। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. जिवलाल सापकोटाको समुपस्थिति र प्रस्तुत गर्नुभएका गहन विचारहरुले भावुकता मात्रै होइन उपस्थित विद्वतवर्गको मथिङ्गल नै हल्लाइदियो। पूर्वीय शिक्षा, गुरुकुलिय परम्पराको अन्त्य संगैको सभ्यता लोपको चरण र पुनःर्जिवित गर्नुपर्ने अभिभाराको सन्दर्भले हरेक मथिङ्गलमाथी विमर्स गर्यो। शिक्षा केवल प्रमाणपत्रमा सिमित नभई संस्कार र चेतना संगै नैतिकतामा आधारित हुनुपर्ने भन्दै प्रा.डा. सापकोटाले आफ्नो सफलताको श्रेय गुरुजनलाई दिँदा कार्यक्रम स्थल नै भावुक बन्यो।
राष्टिूय सभा सदस्य रहनुभएको माननिय विष्णु कुमारी सापकोटाले अक्षर चिनाउने र समाजमा स्थापित गराउने गुरुहरुको योगदान राज्यले गर्ने सम्मान भन्दा ठूलो हुने बताउँदै पेसागत सुरक्षा र मर्यादा कायम राख्न नितिगत तहमा समेत आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्दैगर्दा गुरुहरुले सम्मानवोध गर्नुभयो।
शिक्षासेवी शारदा शर्मा पौडेलले अहिलेको शिक्षा प्रणालीमा ज्ञान भएपनि संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै गुरु सम्मान जस्ता कार्यक्रमले विद्यार्थीमा गुरुप्रतिको आदरभाव पुनः जागृत गराउने विश्वास व्यक्त गर्दा उपस्थित सज्जनहरु आसावादी बने।
आयोजक बैकुण्ठ रायमाझिले आफूलाई अक्षर चिनाउने र कला क्षेत्रमा प्रेरणा दिने गुरुहरुलाई विशेष सम्मान गर्दै गर्दा र गुरु(शिष्य परम्परा र नैतिक शिक्षाको चर्चा गर्दा समारोह नै भावुक बन्यो स्वयं रायमाझि पनि भावुक बन्नुभयो।
सो कार्यक्रममा उपस्थित भई बालब्रह्मचारी, १००८ विभूषित स्वामी भाष्कारानन्द महाराज भानु गुरु, टिकाराम खरेल, टंकनाथ भण्डारी, देवीराम शर्मा, गजाधर सापकोटा, मुक्त गौतम, बेद प्रसाद सापकोटा, पदम खत्रि, बोधशाली गौतम सम्मानित हुनुभयो। सम्मानित सबै गुरुहरुको वाणिले गुरु र शिष्यको सानिध्यता प्रष्ट्याउँदै थप सम्बन्धर प्रेम उजागर गर्यो। गुरु र शिष्यबीचको भावनात्मक सम्बन्ध मञ्चमै प्रत्यक्ष बोध भयो। कार्यक्रम एउटा बौद्धिक र सांस्कृतिक उत्सवको रुपमा स्थापित भयो।
कलाको रङ र प्रतिभाको मञ्च
गुरु सम्मानको गाम्भिर्यतासँगै आयोजना गरिएको खुल्ला रेकर्ड नृत्य प्रतियोगिताले वामीको कलात्मक पक्षलाई उजागर गर्यो। स्थानीय प्रतिभाहरुले आफ्नो नृत्य कौशलमार्फत दर्शकलाई मन्त्रमुग्ध पारे। मौलिक लोक भाकाहरुमा आधारित नृत्यले वामीटक्सारको वातावरणलाई नै सांगितिक बनायो। प्रतियोगिताले ग्रामिण भेगमा लुकेर रहेका प्रतिभाहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दियो। प्रतिस्पर्धा स्थानीय कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने माध्ययम बन्यो। कलाको माध्यमबाट शिक्षा र संस्कारलाई जोड्ने यो प्रयास आफैमा प्रशंसनिय थियो।
सोहि कार्यक्रमको अवसरमा गुरुसम्मान गितको छायांकन गरियो। गुरुको महिमा बर्णन गरिएको गितको छायांकनमा विजय महर्जनको टिमको लगाव, गितका श्रजक दधिराम शर्माको सम्मान, त्रिभुवन माविका विद्यार्थीहरुको नृत्यमा तिलका घिमिरेको संयोजन अनुकरणीय देखिए।
गुल्मी चिनाउने गायक रामचन्द्र चन्द, वामीको सोरठी संगै आफ्नो पहिचान झल्काउने कमल बराल, गोविन्द विसि, स्थानिय कलाका धनि विर बहादुर विश्वकर्मा, सहितको प्रस्तुतीले संगितमय वामीलाई थप गुञ्जयमान बनायो।
प्रकृतिको काखमा शालिमे पदयात्रा
कार्यक्रमको अन्तिम चरण अर्थात दोस्रो दिनको शालिमे दह पदयात्रा आफैमा महत्वपूर्ण थियो। मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारबाट पालिकाकै शिर, शालिमे दहमा भएको पदयात्रा केवल शारीरिक अभ्यास मात्रै थिएन, यो त ओझेलमा परेको पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने एउटा अभियान नै थियो। वामी क्षेत्रकै अगाध आस्थाको शक्तिपिठ वामीकोट हुँदै ऋषिमुनिहरुकै तपस्यास्थल शालिमे पुग्नु, त्यो पनि वामीमै जन्मिएर देशविदेशमै लब्धप्रतिष्ठीत व्यक्तित्वहरु पुग्नु आफैमा गौरवपूर्ण सन्दर्भ थियो।
समुद्री सतहबाट २४८६ मिटर उचाइमा रहेको शालिमे दहको प्राकृतिक सुन्दरता, वरिपरिको हरियाली र त्यहाँबाट देखिने मनोरम हिमश्रृङ्खलाले पदयात्रीहरुको थकान मेटाएको थियो नै। जब आश्रम स्थलको केहि माथिपट्टीबाट देखिने बागलुङ जिल्लामा पर्ने गल्कोट, घुम्टे, गाजा सहित म्याग्दी, धौलागिरि हिमाल संगै हिमश्रृङ्खला, माछापुछूे, गुल्मीकै कुर्घा मालिका, रेसुङ्गा हुँदै पाल्पा, अर्घाखाँची हुँदै प्यूठानको स्वर्गद्वारी सम्मको दृश्यले मनलाई उमङ्ग संगै शान्तिको आभाष दिन्छ।
धार्मिक रुपमा आस्थाको केन्द्र रहेको सो दहको विकासका लागि सहभागी विशिष्ट व्यक्तित्वहरुको ऐक्यवद्धता, मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका संगै स्थानियको चासोले सो क्षेत्र, विकासको सन्निकटमा छ सहजै भन्न सकिन्छ। निलो आकाशमुनि पहाडको काखमा टलपल गरिरहेको सितका थोपा संगै शिक्षालाई प्रकृतिसंग र व्यक्तिलाई आफ्नो भूगोलसंग जोड्ने कामले गाउँको मौलिक संस्कृति बचाउन र पर्यटन मार्फत आर्थिक विकास गर्न आगामी दिनमा मार्गप्रशस्त पक्कै गर्नेछ।
निष्कर्षः एक प्रेरणादायी पहल
बैकुण्ठ रायमाझिको नेतृत्वमा सम्पन्न कार्यक्रमले वामीटक्सारको शैक्षिक र साँस्कृतिक गरिमालाई नयाँ उचाइमा पुर्याएको छ। गुरुलाई भगवानका रुपमा पुज्ने हाम्रो संस्कारलाई आधुनिकताको भेलमा हराउन नदिन यस्ता कार्यक्रमहरु कोशेढुंगा सावित पक्कै हुनेछन्।
शिक्षा, कला र प्रकृतिलाई एउटै सूत्रमा गाँस्न सफल यो कार्यक्रमले मुसिकोट नगरपालिका भित्र नभई सिंगो देशका लागि एउटा सकारात्मक सन्देश दिएको छ। आफ्नो जगलाई कहिल्यै नबिर्सिनु र आफ्नो भूगोलको सुन्दरतालाई सधैं माया गर्नु भन्ने सन्देश कार्यक्रमले पक्कै दिएको छ। त्यसैले त भन्न सकिन्छ वामीको यो कार्यक्रम एउटा इतिहास हो, जहाँ कलाले प्रकृतिलाई चुम्यो र चेलाले गुरुलाई पुज्यो। यस्ता कार्यक्रममले नै हाम्रो समाजलाई सभ्य र सुसंस्कृति बनाइराख्न मद्धत पुर्याउनेछ।
र अन्त्यमा, कार्यक्रममा वडा नं. ७ का पूर्व अध्यक्ष प्रकाश काफ्लेको आत्मिय रात्रि भोजन संगैको सहयात्रा, गम्भीर शारीरिक अपांगता भएका सालिक खत्रीको डिजिटल संयोजन, रेडक्रसकर्मि समेत रहनुहुने रामचन्द्र सापकोटाको संयोजन आदि कार्यक्रमका अनुकरणीय पक्ष रहे। शालिमे क्षेत्रको विकासका लागि वडा नं. ८ का पूर्व अध्यक्ष नारायण सापकोटाको पहललाइ स्मरण गर्दै औपचारिक कार्यक्रम सञ्चालकको हिसावले सिंगो कार्यक्रमको साक्षि बन्ने अवसरको लागि पुनः आयोजकलाई धन्यवाद ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |













