बागलुङ: बागलुङलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित ‘बागलुङ मिडिया मेला’ आयोजना गरिने भएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो स्थापनाको २५ औँ वर्षको अवसर पारेर चैत २० र २१ गते मेला आयोजना गर्न लागेको हो।
बागलुङ बजारस्थित जोजोलोपा ब्याङ्केटमा सञ्चालन हुने मेलाको तयारी तीव्र पारिएको छ। शाखाका अध्यक्ष राम थापा अविरलको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढाइएको जनाइएको छ।
मेलामार्फत बागलुङको पहिचान उजागर गर्दै समृद्धि निर्माणमा टेवा पुर्याउने, निजी क्षेत्रको लगानी भित्र्याउने तथा बागलुङमा जन्मिएर विभिन्न स्थानमा कार्यरत पत्रकारहरूबीच पुनर्मिलन गराउने लक्ष्य राखिएको छ। साथै, बागलुङ बजारको करिब ५० वर्ष पुरानो इतिहास झल्काउने तस्बिर प्रदर्शनी समेत गरिनेछ।
कार्यक्रममा पत्रकारिता, सञ्चार माध्यम, बदलिँदो पत्रकारको भूमिका तथा ग्रामीण पत्रकारिताको महत्वबारे केन्द्रित ८ वटा प्यानल डिस्कसन आयोजना गरिने आयोजकले जनाएको छ। यसका साथै विद्वत् प्रवचन, भित्तेपत्रिका लेखन प्रतियोगिता, लाइभ पेन्टिङ, पुराना सञ्चार सामग्री तथा उपकरणहरूको प्रदर्शनी पनि रहनेछ।
मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री, महासंघका पदाधिकारी तथा प्रदेशका ११ जिल्लाका पत्रकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिनेछ।
शाखाका कोषाध्यक्ष खेमराज गौतमका अनुसार मेलाका लागि करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यस्तै, उपाध्यक्ष सुवास आचार्यले करिब २५ हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए।
मेलामार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ। आगन्तुकहरूलाई बागलुङका सञ्चार माध्यम, पुस्तकालय, धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको भ्रमण गराइने शाखाका सचिव नारायण रिजालले बताए। साथै, निजी क्षेत्रका व्यवसायिक स्टलहरू पनि मेलामा समावेश गरिनेछ।
मेला चैत २० गते उद्घाटन गरिने कार्यक्रम रहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










