बागलुङ: ताराखोला गाउँपालिकाले स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यसहित आगामी शैक्षिक सत्र २०८३ सालदेखि केही सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ सुरु गर्ने तयारी गरेको छ।
मगर भाषाको अध्यापन सम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको र त्यसकै आधारमा विद्यालय तहमा पढाइ सुरु गर्न लागिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख युवराज शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय मगर समुदायले प्रयोग गर्दै आएको भाषाको प्रकार छनोटका लागि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति संयुक्त मोर्चा नेपालका संयोजक सुरेश आले मगरले नेपालको मगर भाषाको विगत, वर्तमान र भविष्यबारे चर्चा गर्नुभएको थियो। उहाँले स्थानीय सरकारले विद्यालय तहबाटै मगर भाषाको अध्यापन सुरु गर्नु भाषा संरक्षणका दृष्टिले अत्यन्त प्रशंसनीय कार्य भएको बताउनुभयो।
कार्यक्रममा **गण्डकी प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर बुढा मगर (सागर)**ले सबै सरोकारवालासँग छलफल गरी यस क्षेत्रका लागि उपयुक्त मगर भाषाको प्रकार र लिपी छनोट गरेर अघि बढ्न सुझाव दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा सूर्यबहादुर घर्ती मगर, बिर्बलाल घर्ती मगर, अमृत घर्ती मगर, टोपबहादुर रोका मगर, उदित थापा मगर लगायतले मगर भाषाको अध्यापनले नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिप्रति जोड्ने विश्वास व्यक्त गर्नुभएको थियो।
ताराखोला गाउँपालिकाले सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष जितबहादुर खत्रीको संयोजकत्वमा मगर भाषा अध्ययनका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेको छ। समितिले विभिन्न विद्यालयमा पुगेर अभिभावक, शिक्षक तथा सरोकारवालासँग चरणबद्ध अन्तरक्रिया गर्ने जनाएको छ।
अन्तरक्रियामा सहभागी अधिकांशले भौगोलिक अवस्था र स्थानीय मगर समुदायको प्रयोगअनुसार ‘ढुट’ मगर भाषा उपयुक्त हुने निष्कर्ष निकालेका थिए।
गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले मगर भाषाको पढाइ सम्बन्धी सबै कानुनी प्रक्रिया र कार्यपालिका बैठकको निर्णय भइसकेको जानकारी दिँदै अब शिक्षक तालिम तथा पाठ्यपुस्तक छपाइको काम अघि बढाइने बताउनुभयो।
पहिलो चरणमा वडा नम्बर ५ स्थित दुर्गा भवानी माध्यमिक विद्यालय र वडा नम्बर २ को अर्गल माध्यमिक विद्यालयमा कक्षा १ देखि ऐच्छिक विषयका रूपमा मगर भाषाको पढाइ सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।
अन्तरक्रिया तथा छलफल कार्यक्रम गाउँपालिका अध्यक्ष धनबहादुर विकको अध्यक्षता, उपाध्यक्ष भीमबहादुर रोकाको स्वागत मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत बिमल रिजालको सञ्चालनमा सम्पन्न भएको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










