गुल्मी: गुल्मीका नेपाली कांग्रेसका नेता चन्द्र केसी प्रतिनिधि सभा निर्वाचनमा दोस्रो पटक पनि पराजित भएपछि “अब चन्द्र केसीको राजनीति ओरालो लाग्यो, उनले विश्राम लिए हुन्छ, नातिनातिना हेरेर घरै बसे हुन्छ” भन्दै थिए उनैका कार्यकर्ताहरू।
तर एउटा कहावत छ– राजनीतिमा थकान र विश्राम भन्ने कुरा हुँदैन। यही उदाहरणका ज्वलन्त पात्र हुन् गुल्मीका कांग्रेस नेता चन्द्र केसी। जो ७० वर्षको उमेर र ५० वर्षे राजनीतिक जीवनसम्म कहिल्यै थाकेनन्।
रेसुङ्गा नगरपालिका-३ भाडगाउँका ज्ञानबहादुर केसी र आमा सुमित्रा केसीको कोखबाट २०१३ साल चैत २१ गते जन्मिएका केसी ७ दिदीबहिनी, ४ भाइसहित ११ सन्तानमध्येका जेठा छोरा हुन्।
बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीमा चन्द्र केसी बहुचर्चित नाम हो। तर २०५६ सालमा गुल्मीको साबिक क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा हारेपछि त्यही चन्द्र केसी नाम गुमनाम हुन पुगेको थियो।
त्यही गुमनाम चन्द्र केसी नाम आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणामपछि गुल्मेली आकाशमा मात्रै होइन देशैभर चम्किन पुगेको छ। उनी आइतबार राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै ३० वर्षपछि पुनः राष्ट्रिय राजनीतिक स्तरको जनप्रतिनिधिका रूपमा स्थापित भएका छन्।
२०६७ सालदेखि पाँच वर्षसम्म नेपाली कांग्रेस गुल्मीको पार्टी सभापतिको जिम्मेवारी सम्हालेका र २०४९ सालमा जिविस गुल्मीका सभापतिमा निर्वाचित चन्द्र केसी ‘हाइहाइ’ बनेका थिए। गुल्मी कांग्रेसलाई उचाइमा पुर्याउन केसीको योगदानलाई उनका कार्यकर्ता अनि पार्टी केन्द्रले कहिल्यै भुल्न हुन्न।
२०२९ सालदेखि नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेको उनी बताउनुहुन्छ। राजनीतिक यात्रामा जेलनेल र यातना भोगेको केसी सुनाउँछन्।
केसीकै जिविस सभापति कार्यकालमा गुल्मीमा पहिलो पटक डोजर भित्रिएको थियो। गुल्मीका कतिपय मोटर बाटालाई कतिपयले अहिले ‘चन्द्र केसीको बाटो’ उपनाम दिन्छन्। त्यस्तै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याएका केसीलाई अनवरत ५० वर्षे राजनीतिक संघर्षले पुनः एकपटक मूल्यांकन र सम्मान गरेको प्रति बधाई अनि सफल कार्यकालको शुभकामना।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










