गुल्मी: गुल्मीबाट हवाई सेवा सुरु भइरहँदा पहिलो चरणमै यात्रुको निकै चाप बढेको छ। १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको रेसुङ्गा नगरपालिकाले जनाएको छ। यहाँबाट अर्को शुक्रबार सम्म पनि आउने जाने यात्रुका लागि टिकट बुकिङ गरिसकेका छन्।
रेसुङ्गा नगरपालिकाले विमानस्थलको व्यवस्थापन र यात्रुको चाप बढेपछि हप्तामा दुई दिन उडानको लागि आग्रह गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । रेसुङ्गा विमानस्थलमा नियमित उडानका लागि रेसुङ्गा विमानस्थलले व्यवस्थापनको काम गर्दै आएको छ।
गत शुक्रबारदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेपछि नगरपालिकाले विमानस्थलमा यात्रुको सहजताको लागि थप व्यवस्थापन गरेको छ ।
यसअघि विमानस्थलमा नियमित उडान सुरु भएपनि विमानस्थलको व्यवस्थापन भने बाँकी रहेको थियो । एयर कन्ट्रोलरको लागि आवश्यक व्यस्थापन, यात्रुको लागि प्रतिक्षालयको सहज व्यवस्थापन, शौचालयको व्यवस्थापन, यात्रु प्रस्थान र बहिर्गमनको लागि सहज व्यवस्थापन गरिएको छ ।
सम्भावित जोखिम न्यूनीकरणको लागि दमकल र एम्बुलेन्सको व्यवस्थापन लगायतका विभिन्न व्यवस्थापन विमानस्थलमा रेसुङ्गा नगरपालिकाले गरेको हो । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरुगरेसँगै गुल्मी जिल्लाबाट काठमाडौंसम्म पुग्ने १३ घण्टाको यात्रा करिव एक घण्टामा सीमित भएको छ ।
विमानस्थलबाट हप्ताको एक दिन शुक्रवार उडान हुनेछ । नागरिक उड्डयन प्राधिकरणले हप्ताको दुई दिन उडान गर्ने स्वीकृत दिएपनि सुरुमा हप्ताको एक दिन मात्रै उडान हुने भएको छ ।
यात्रुको चाप हेरिकन र साना जहाजको कमी भएकोले पनि सुरुमा हप्ताको एक दिन मात्रै उडान हुनेभएको हो । काठमाडौंबाट झण्डै एक दिने यात्रा गरेर आउ–जाउ गर्नुपर्ने बाध्यतामा रहेका नागरिकहरु जिल्लाबाटै नियमित उडान हुन थालेपछि हर्षित छन् ।
रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ। -नेपाल टेलिभिजन
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |