तम्घास, रासस: गुल्मीका पशुमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । त्यसले गर्दा किसान त्रसित भएका छन् ।
रुरुक्षेत्र गाउँपालिका-५ टाहाटिमका तुला गिरीको होलस्टाइन जातको लैनो गाईको एक महिना अगाडि खुट्टा सुन्निने र फोका उठ्ने भयो । त्यसको केही समयपछि घाँटी र शरीरका अन्य भागमासमेत खटिरा तथा फोका उठ्न थाले । त्यसको पनि केही दिनपछि गाई मर्यो । पोखरामा गाईको रगत परीक्षण गराउँदा लम्पी रोग भएको पुष्टि भयो ।
“बिहान र बेलुका आठ/आठ गरी दैनिक १६ लिटर दूध दिने गाई मर्यो”, उहाँले भन्नुभयो । अहिले उक्त गाउँका मात्रै ३२ गोठमा रहेका ४५ गाईमा लम्पी रोगको सङ्क्रमण देखिएको स्थानीय मेघराज गिरीले जानकारी दिनुभयो । उहाँले आफ्नो गोठमा रहेका बाच्छी र गाईमा नै सङ्क्रमण देखिएको तथा उपचारपछि माउ सामान्य अवस्थामा रहे पनि बाच्छी भने गम्भीर अवस्थामा नै रहेको बताउनुभयो ।
लम्पीको सङ्क्रमण हुँदा गाईले घाँस, पानी नखाने, दूध घटाउने, शरीरमा खटिरा उठ्ने लगायतका लक्षण देखा पर्ने गिरीको भनाइ छ । रोग नियन्त्रणका लागि भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र, रुरुक्षेत्र गाउँपालिका र हेफरले पहलकदमी लिए पनि रोग पूणर्रुपमा नियन्त्रणमा आउन नसक्दा आफूहरु त्रसित भएको उहाँले बताउनुभयो ।
अहिले जिल्लाभर पशुमा यो रोग बढी मात्रामा देखिएको छ । भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत काफ्लेका अनुसार अहिले जिल्लाको मदाने, गुल्मीदरबार, रुरुक्षेत्र लगायतका ठाउँका पशुमा लम्पी रोग देखा परेको छ । यो रोग नयाँ भएकाले सुरुमा पहिचान गर्न र पछि उपचार गर्न गाह्रो भएको काफ्लेले बताउनुभयो ।
रोगको निदानका लागि कार्यालयसँग पर्याप्त खोप नभएको उहाँले बताउनुभयो । लम्पी रोग लाग्नै नदिनका लागि पशुको सरसफाइमा ध्यान दिने, झिँगा तथा अन्य जनावरको आक्रमणबाट पशुलाई जोगाउन, पशुलाई चराउन लैजादा विशेष ध्यान दिने लगायतका सुरक्षाका उपाय अपनाउन काफ्लेले आग्रह गर्नुभयो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








