Hi-Speed Computer

Awareness Campaign

बागलुङका दर्जी परिवारलाई अन्धविश्वासले घर-सम्पत्ति छाडेर सडकमा पुर्यायो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

डम्मर बुढा मगर, बागलुङ्ग: बुर्तिबाङ-बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ। छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला। त्यही छाप्रोमा बस्छन्, ६७ वर्षीय देवीराम दर्जीको परिवार।

काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन। देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ। ढोरपाटन नगरपालिका-२, दुलेमा पर्ने बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ।

छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन। सार्वजनिक ठाउँ भए पनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन्। उनको श्रीसम्पत्ति ढोरपाटन नगरपालिका-३ सामागाउँमा छ। गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ। तर उनी कहिल्यै त्यो घरमा जाँदैनन्। घर सम्झिँदा पनि उनी झसंग हुन्छन्। उनी यसरी झस्किनुको कारण अन्धविश्वास हो। तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जीले घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि परिवार लिएर गाउँ छोडेका हुन्।

Forest
Forest
Ad.

दर्जी भन्छन्- तीन वर्षमा मेरा तीन भाइ छोरा, दुई बहिनी छोरी, आमाबाबु र छ वर्षकी भतिजी मरे, मेरो छोराछोरी ठुल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ।

घरमा वर्षैपिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छाडेका उनले बताए।

‘घरमा वर्ष दिन नबित्दै तीन छोराछोरी मरे, तीन वर्षमा आठ जना आफन्त गुमाएँ, मलाई जति पिर कसलाई परेको होला त्यो बेला,’ दर्जीले भने,‘अति भयो र काठमाडौंमा ज्योतिषलाई हात हेराउन गएँ, ज्योतिषले घरमा राक्षसले बास गरेको छ, अरूको पनि प्राण लिन्छ भन्नुभयो, छोरा र श्रीमती पनि डराए, घर अशुभ रैछ त्यही भएर गाउँ नै छाडेर हिँडेको हुँ।’

अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी छन्। छोरीहरू विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाति, नातिनी र बुहारी उनीसँगै बस्दै आएका छन्। दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ। घर सडक छेऊमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ।

Awareness by SKF

‘आफ्नो भएभरको घर सम्पत्ति सबै छाडेर यहाँ आइयो, यस्तो बाटोको छेऊमा छ छाप्रो पनि, गाडी चल्दा बर्खामा हिलो छ्याप्छन्, हिउँदमा धुलो उडाउँदै जान्छन्, कसलाई के भन्ने?, यस्तो ठाउँमा बसेर होला सबैले हेला गर्छन्, बूढेसकाल लाग्यो, काम गरी खान पनि सकिन्नँ,’ उनले भने।

दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बूढेसकाल लागेपछि परिवार पाल्न गाह्रो भएको बताए। छोराले पनि काम नपाएर यत्तिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गरे।

‘अहिले त बूढेसकाल लागेछ, काम गर्न पनि गाह्रो हुन्छ, अहिलेसम्म गिट्टी, बालुवा कुटेर परिवार पालें, अब गाह्रो होलाजस्तो लाग्छ, छोरा छ, उसले पनि कामै पाउँदैन, काम पाए त उसले कमाएर ल्याउँथ्यो होला,’ दर्जीले भने, ‘म गरिब दुःखी हुँ, मलाई कसैले पनि सहयोग गरेको छैन, परिवार पाल्न गाह्रो भएको छ, केही सहयोग गरे त सजिलो हुन्थ्यो, नगरपालिका भन्छन्, गाउँपालिका भन्छन् तर हाम्लाई कसैले सहयोग गर्दैनन्।’

दर्जीकी श्रीमती मीना पुरानो घरमा बसेको भए आफूहरू पनि अहिलेसम्म जिउँदो नरहने बताउँछन्। ‘हामी नौ वर्ष पहिले घर छाडेर यहाँ आएको हौं, त्यसबेला घर नछाडेको भए अहिलेसम्म हामीहरू जिउँदो रहने थिएनौं, अझै पहिले नै घर छाडेका भए हाम्रा छोराछोरी पनि बाँच्ने रहेछन्, ढिलो बुद्धि आयो,’ उनले भनिन्, ‘ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरू सबै मरिसक्थ्यौं होला।’

दर्जीले सडक छेऊमा बस्न निकै गाह्रो भएको अनुभव सुनाए।

‘यस्तो ठाउँमा छ घर, घर पनि के भनौं यस्तो छ, जतिबेला पनि गाडी चल्छन्, दिउँसभरि काम गरेर थकाइ लाग्छ, राति गाडीको आवाजले निदाउँनै दिँदैन,’ उनले भने।

घर गतिलो नहुँदा पानी पर्दा चुहिने र हुरी चल्दा छानो र बार सबै उडाइदिने गरेको छ। सरकारले सानो भए पनि घर बनाइदिए आफूहरूलाई ठूलो राहत मिल्ने उनी बताउँछन्।

‘घर पानी पर्दा चुहिन्छ, हुरी चले घरको छानो र बार सबै उडाइदिन्छ, यसरी पनि रात–दिन बिताएका छौँ, सरकारले हाम्रो दुःख देखेन, सानो भए पनि ओत लाग्ने घर बनाइदिए हाम्रा लागि निकै ठूलो राहत हुने थियो,’ उनले भने। -सेतोपाटी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया