Clean Water Campaign

Awareness Campaign

गुल्मेलीमा सडकको आशा: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्गमा करिब ७ अर्बको काम हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: कालिगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना हुन्। करिडोरले गुल्मी पुर्वका रुरु, सत्यवती र कालिगण्डकी गाउँपालिका हुँदै बाग्लुङ जोडेको छ। दुई ठुला धार्मिक तथा पर्यटकीय क्षेत्र लुम्बिनी र मुस्ताङ जोड्ने करिडोर गुल्मेलीको करियर पनि हो ।

उत्तरको चिन र दक्षिणको भारतका धार्मिक पर्यटकका लागि करिडोर ठुलो गन्तव्य मार्ग हुनेछ । करिडोरले पर्यटकलाई लुम्बिनीको आनन्दता, पाल्पाको रानीमहलको मनोरञ्जन, गुल्मीको रुरु धामको स्नान र शालिकग्राम शिलाको दर्शन गराउँदै मुस्ताङ पुराउनेछ । भने गुल्मीको बिच भाग भएर पुर्व पश्चिम जोड्ने मदनभण्डारी राजमार्ग गुल्मेलीको अर्को समृद्धि मार्ग हो । यो राजमार्गले थुप्रै जिल्लासंग गुल्मी जोडिने छ । करिडोरको ४२ किलोमिटर र मदनभण्डारी राजमार्गको ३१ किलोमिटर सडक कालोपत्रेका लागि करिव सात अर्बको काम अगाडी बढेको छ ।

रिडी–हर्मिचौर कालोपत्रेको ६० प्रतिशत काम

सिंचाई
Forest
Ad.

कालिगण्डकी करिडोरको रिडीदेखि पालुङखोलासम्म ४२ किलोमिटर पर्छ । अहिले रिडी–रुद्रवेणी–हर्मिचौरको २१ किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडी बढेको छ । शर्मा सगुन जेभीले ५३ करोडमा १६ भदौ ०७७ मा सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो । अहिले सम्झौता अनुसारको ६० प्रतिशत काम भइसकेको कालिगण्डकी करिडोर (गौडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनीयर पवित्रमणी आचार्यले जानकारी दिए । कालोपत्रेका लागि आवश्यक पर्ने संरचनाको निर्माण भएकाले मौसम अनुकुल हुनेबित्तिकै काम अगाडी बढ्ने आचार्यले बताए ।

हर्मिचौर–बलेका कालोपत्रेका चार अर्व बढिको टेण्डर

कालिगण्डकी करिडोरको हर्मिचौर–बलेवासम्मको लागि चार अर्व सात करोडमा सडक कालोपत्रे गर्न टेण्डर आब्हान भएको छ । त्यो सडक खण्डको हर्मिचौर–पालुङखोलाको २१ किलोमिटर गुल्मीमा पर्छ । चुनाव लगत्तै हर्मिचौर–पालुङखोला सडक कालोपत्रेको काम पनि हुने सूचना अधिकारी आचार्यले जानकारी दिए । कालिगण्डकी करिडोर (गौडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालयका अनुसार कालिगण्डकी करिडोर अन्तरगत गुल्मी खण्डको ४२ किलोमिटरभित्र नौ वटा पुल पनि रहेका छन् । जसमा तालखोला पुलको काम सकिएको छ । चौरीखोलाको पुल निर्माणाधिन अवस्था रहेको कार्यालयले जनाएको छ । यो बर्ष बाँकी सात वटा पुलको काम पनि अगाडी बढ्नेछन् ।

सिमलटारी–मच्छी खण्ड कालोपत्रे लागि २ अर्ब

Awareness by SKF

मदनभण्डारी राजमार्ग अन्तरगत गुल्मीको सिमलटारीदेखि प्युठानको मच्छी खण्डको सडक पनि कालोपत्रेका लागि टेण्डर आब्हान भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार सिमलटारी–मच्छी खण्डको ३१ किलोमिटर कालोपत्रे हुनेछ । कार्यालयको तर्फबाट दुई अर्ब बढिको टेण्डर आब्हान भएर मुल्यांकनको काम भएकाले दशै अघि सम्झौताको संभावना रहेको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयकाका इन्जिनीयर शिवसरण तिमल्सेनाले जानकारी दिए । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

साढे १९ करोडका चार पुल निर्माण सुरु

मदनभण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारी सडकका विभिन्न चार खोलामा पुल निर्माण सुरु गरिएको छ । कालेपत्रे भएको लामो समयसम्म खोलामा पुल निर्माण नहुँदा नागरिक स्तरबाट आलोचना हुँदै आएको थियो । मदन भण्डारी आयोजना कार्यालय गुल्मीका अनुसार हुलाके, धनार्जी, घमिर र अर्जे खोलामा पुल निर्माणका लागि भ्याटसहित १९ करोड २६ लाख ५५ हजार दुई सय रुपैयाँ दुई कम्पनीसँग कार्यालयले सम्झौता गरेको छ ।

हुलाके र धनार्जी खोलाको पुलका लागि सुनिल समिर निर्माण सेवा तथा अर्जे र घमिर खोला पुल निर्माणको लागि पन्थी निर्माण सेवाले सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीमा प्रमुख शशांक मिश्रले जानकारी दिए । उनले योजना कार्यान्वयनको चरणमा रहेपनि बर्षातले काम रोकिएको बताए । मिश्रले काम क्रमिक रुपमा अगाडी बढेपनि राजनैतिक क्रियाप्रतिक्रिया बढि भएको बताए ।

सडकले गाउँ–गाउँमा समृद्धिको लहर

तम्घास–सिमलटारी सडकको ट्रयाक निर्माण भएको साढे तीन दशक भए । द्धन्दको १० बर्ष सडक स्तरउन्नतीको केहि पनि काम भएन । ०७२ सालमा सडक कालोपत्रेको काम भयो । जसका कारण बजारसंग गाउँ नजिक भए । यो सडकले प्युठान र गुल्मी मात्रै नभएर स्थानीय पालिकाहरुलाई समेत जोड्ने काम गरिरहेको छ । सडक कालोपत्रे भएसंगै गाउँको उत्पादन तम्घास तथा वुटवलका बजारमा पुग्न थाल्यो । जसले गाउँ–गाउँका युवा उद्यमीहरुले कृषिलाई व्यावसायीकरण गरिरहेका छन् । अहिले गाउँबाट जाने गाडीहरुले पनि सधै जस्तो छतहरुमा तरकारी र बाख्रा बुटवलका बजारमा पुराउन थालेको इस्मा गाउँपालिका ५ का अगुवा कृषक कृष्ण बिष्टले बताए ।

रेसुंगा, इस्मा, धुर्कोट, मालिका र मदानेका कृषकले सडक कालोपत्रे भएपछि सडकछेउँका जग्गाको भाउ बढाएका छन् । भने सडक किनारमा होटल, फेन्सी र विभिन्न किसिमका थोक तथा फुटकर व्यावसाय संचालन गरिरहेका छन् । तम्घासदेखि सिमलटारीसम्म करिव दुई सय बढि होटल तथा पसलहरु थपिकएको मालिका ८ का अगुवा टिका क्षेत्रीले बताए । करिडोरपछि रिडीमा थुप्रै होटल थपिएका छन् । भने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ । कालिगण्डकी करिडोर कालोपत्रे हुने बितिकै संख्या दोब्बर हुने रुरु गाउँपालिका १ का युवा व्यावसायी सुन्दर कसजुले बताए । ‘करिडोर गुल्मेलीको भाग्य र भविष्य हो । करिडोरसंगै तीन मुखे पुलले पनि रुरु धाममा आकर्षण बढ्यो,’उनले भने,‘सडकसंगै नागरिकमा व्यावसायीकता भित्रिएको छ ।’ करिडोरको रिडीसंगै रुद्रवेणी, हर्मिचौरहुँदै पुर्तिघाटसम्म कृषि पशुपालन, होटल व्यावसाय र थुप्रै उद्यम तथा उद्यमी थपिएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया