गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले विदेशको कमाई गाउँकै उत्पादन र मौलिक कला तथासंस्कृतिको जगेर्नामा खर्चिदै आएका छन्। बीस वर्षदेखि चेक रिपब्लिकको वैदेशिक रोजगारीमा रहेका मुसिकोट नगरपालिका-८, वामी, अर्जेवाका बैकुण्ठ रायमाझीले विदेशको कमाई आफ्नो मौलिक कला संस्कृति र कृषि उत्पादनमा खर्चिदै आएका हुन्।
गुल्मीको मुसिकोट नगरपालिका-८, अर्जेवामा जन्म भई लामो समयदेखि चेक रिपब्लिकलाई कर्मथलो बनाउँदै आएका बैकुण्ठ रायमाझीले गाउँमा बाँझिएको जमिन किनेर बेसार खेती गर्दै आएका छन। उनले कृषि पेशालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सालिमे कृषि फार्म नामक संस्था नै दर्ता गरेर ३/४ वर्ष पहिले देखि बाँझो जमिनलाई खनजोत गरी बेसार खेती गर्दै आएका हुन्।
हाल आफू विदेशमा भएपनि गाउँको बेसार खेती उत्पादनका सहजिकरण बैनी ज्वाइँ विष्णु कार्की र दिदी सुन्तली कार्कीले गरिरहेका छन्। विदेश गयो कि अरुले काठमाण्डौं बुटवल लगायतका ठूला शहरमा घर बनाएर बस्ने गरेको अवस्थामा उनले भने गाउँमै अत्याधुनिक डिजाइनमा सुविधा सम्पन्न घर निर्माणको प्रक्रिया सुरु गरेका छन्।
गत साल पहिलो बाली राम्रै उत्पादन भए पनि बजार खोज्न निकै गाह्रो भएको उनको भनाई छ। ‘उत्पादित बेसारलाई नेपालकै विभिन्न ठाउँहरूमा पठायौँ।’ रायमाझी बताउछन्, ‘बजार व्यवस्थापन नहुँदा झोलामा यहाँ युरोपमा पनि ल्याएर आफ्नो रेस्टुरेन्टमा पाहुनाहरुलाई बेच्दै त कतै पाहुनाहरुलाई अर्गानिक बेसार कोसेली दिएर खपत गर्ने गरेको छु।’ बजार व्यवस्थापनमा सरकारले ध्यान नदिएको उनको गुनासो छ। स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने भने पनि व्यवहारमा लागु नभएको उनि बताउँछन्।
यस आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा कृषि उपजको बिक्री सुनिश्चिततालाई प्राथमिकतामा राखेको भनिए पनि अगाडिका व्यवहारले गर्दा विश्वस्त हुने अवस्था नरहेको उनि बताउछन। उनको सुझाव छ, ‘कृषि उपजको बजारिकरणमा सहयोग गर्ने त भनिएको छ तर विगतका क्रियाकलाप देख्दा विश्वस्त हुन सक्ने अवस्था छैन। नगरपालिकाले वास्तविक किसानका समस्या निवारण तर्फ ध्यान देओस्। सस्तो लोकप्रियताका लागि लोकप्रिय कार्यक्रम बनाउने र कार्यान्वयनमा गम्भीरता नदेखाउने प्रवृत्ति अन्त्य होस्।’
उनले सुरुमा गाउँमा बेसार खेती गर्छु भन्दा प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित बनाउने प्रयास भएको बताउछन्। त्यस्तै निकृष्ट सोच भएकाहरुले भ्रम फैलाउदा अहिले आफूलाई खेताला पाउन पनि मुस्किल परेको उनको भनाई छ। उनी भन्छन्, ‘केही मान्छेले कुप्रचार गर्नाले गाउँमा खेताला नपाइएकोले छिमेकी गाउँबाट खेताला ल्याउनु परेको छ।’ छिमेकी गाउँबाट आएका १५ जना खेतालाहरुलाई जनही एक किलो चिनी र एउटा नुहाउने साबुन प्रोत्साहन स्वरुप प्रदान गरिएको पनि उहाँले बताउनुभयो।
बाध्यताले विदेशी भूमिलाई कर्मथलो बनाए पनि उनको नेपाली मौलिक लोक गीत र संस्कृतिको संरक्षण र संवर्द्धनका क्षेत्रमा पनि उल्लेखनीय योगदान रहेको छ।
वामी-विश्व सम्पर्क मञ्चको नौमती सांस्कृतिक समितिका अध्यक्ष समेत रहेका रायमाझी आउँदो दसैं पछि कोजाग्रत पूर्णिमाको पर्सि पल्ट सो समितिले आयोजना गर्ने नौमती बाजा महोत्सवको संयोजक पनि हुन। अबको केही दिन भित्रमा उक्त कार्यक्रमको तयारीका लागि विशेष समय मिलाएर जन्म गाउँ फर्कने योजना रहेको पनि उनले ओझेलका खबर डटकमलाई बताए।
यूरोपमा मजदुरी गर्दा गर्दै अहिले आफ्नै रेष्टुरेण्टको मालिक भइसकेका रायमाझीले गाउँका अन्य बाँझो जमिन पनि खरिद गरेर थप व्यावसायिक कृषि पशुपालन गरि गाउँमै रमाउने तयारीमा रहेको बताउँछने। उनले गाउँमा कामदार र बजारीकरणको समस्या रहेको अनुभव भने आफूले यस अवधिमा संगालेको बताउँदै ती दुई समस्याको विकल्प खोजिरहेको बताए।
यो रिपोर्ट ओझेलका खबरका प्रमुख संवाददाता प्रेम सुनारको सहयोगमा तयार पारिएको हो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |