टोपलाल अर्याल, गुल्मी: रेसुंगा नगरपालिका १४ रातामाटाका ५९ बर्षीय दोलकराज पन्थीले खैजडी र मजुरा दुवै बजाउँछन्। उनी गाउँका पुराना भजन कलाकार हुन्। उनका बुवा ९३ बर्षीय तारापती पन्थी अझै छन्। उमेर हुने बेलासम्म तारापती समूह लिएर विभिन्न गाउँ पुग्थे।
उनीसंगै हिडेका छोरा दोलकराजले अहिले बुबाको पिणा थामेका छन्। भजन विशेष गरेर धार्मिक उत्सवहरुमा गाउँने र नाच्ने गरिन्छ। पहाडी जिल्लाहरुका प्राय गाउँमा भजन संस्कृति छ। तर, नयाँ पुस्ताको आकर्षण कम हुँदा खैजडी भजन पुराना पुस्तामै मात्र सिमित बनिरहेको छ।
१५ बर्षपछि भजन फर्काउँदै पराल्मी
रेसुंगा नगरपालिका १४ खैजडी भजनको लागि प्रख्यात गाउँ हो । पुरानापुस्तासंगै करिव १५ बर्ष भजन गाउँने गाउँमा कोहि भएनन् । गाउँकै बिबाह, ब्रर्तबन्ध र उत्सवसंगै रेसुंगा तथा गौशालामा पराल्मीको उपस्थिती शुन्य बन्यो । तर, अहिले भजन फर्काउने जोँशमा नयाँ पुराना पुस्ता कस्सिएर लागेका छन् । पराल्मीका ५९ बर्षीय युवराज आचार्य भजन गाउँदै आएका पुराना कलाकार हुन।
उनले अस्ताएको भजन फर्काउन नयाँ युवा बोकेर समुहमा गाउँने र नाच्ने गरेका छन् । भजनमा नृत्य गर्नेसहित नौ जना चाहिन्छ । उनले कम पुराना र धेरै नयाँ युवाहरुलाई भजनसंग जोडेका छन् । बुबाहरुसंग ११ बर्षको उमेरदेखि भजन गाउँने र नाच्ने गर्न थालेका आचार्यले सवै बाजा बजाउँछन् । ‘भजन अर्थसंग नजोडेर संस्कृतिको हिसावले जोगाउने अभियानमा छौँ। नयाँले नसोँचे भजन अव सकियो,’उनले भने,‘मैले काठमाण्डौसम्म पुगेर पनि भजन गाएँ ।’
बाद्यबादनका सामग्रीको जोहो
मौलिक भजनका गीत उस्तै छन्। पुस्तान्तरणसंगै वाद्यवादनमा मादल र हार्मोनियम थपिएकोे छ । मौलिक भजनसंग रामायण, कृष्ण चरित्र, महाभरात, व्यासहरु कथाहरुका चुट्का गाइन्छ । मेलो र प्रसंग अनुसार गाउनुपर्ने भएकाले भजन गाउनेहरुलाई सजिलो छैन । जसका कारण युवाहरुलाई मौलिकता छोप्न मुस्किल पर्ने पराल्मी भजन समुहकै ३१ बर्षीय युवा नरिश्वर आचार्यले जानकारी दिए। आचार्यले मादल बजाउँछन्। पुराना कलाकारको भाका समाउँछन् । गाउँका पुुराना कलाकार र सामग्री समेत नभएकाले करिव दुई लाखमा खैजडी, मजुरा, हार्मोनियम, मादल र साउण्डसिस्टम खरिद गरेर भजन संरक्षणमा जुटेको नरिश्चर गौतमले बताए। उनले आफुहरुले कहि पनि पैसा तोकेर भजन गाउने नगरेको बताए । ‘सवै युवा भजनको लागि तयार छैनन । पुराना लय र गीत छोप्न, रातमा हिडन खोज्दैनन, ’उनले भने, ‘स्थानीय तहहरुले प्रोत्साहन गरेर मौलिक संस्कृति जोगाउनुपर्छ ।’ उनले नयाँ पुस्ता डयाग बजाएर युटुवका भजनमा रमाउन थालेपछि मौलिक भजन लोप हुन थालेको बताए।
भजन गाउँदा–गाउँदै उज्यालो हुन्थ्यो
रेसुंगा नगरपालिका ४ अर्खलेका ६० बर्षीय हरि पन्थीले रेसुंगामा गएर भजन गाउन थालेका तीन दशक हुन थाले । उनका पुर्खाले पनि भजन गाउँथे । यो समुह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन् । तर, पुस्ता निकै पुराना छन् । जमना फेरियो, उमेर घर्कियो । गाउने ६ जना र दुई जना नाच्ने समुहमा छन् । पहिले–पहिले पुजाहरुमा भजन गाएर रात बिताएको अनुभव पन्थीसंग छ । तर, अहिले मान्छे सौखिन भएपछि लामो भजन नरुचाउने उनले बताए । भजन गाएको मुल्य नहुनु र नयाँ पुस्ता दोहरी र पपसंग रमाउन थालेकाले भजन संस्कृति आफुपछि बिलाएरै जानेका पन्थी विश्वस्त छन्।
बर्षेनी रेसुंगाको साउने मेलामा भजन
रेसुंगा संरक्षण समितिले विगत लामो समयदेखि रेसुंगामा भक्तिसंगीत प्रतियोगीता गर्दै आएको छ। गाउँको मौलिक भजन लोप हुने अवस्थामा पुगेपछि समितिले साउने मेलाको अवसरमा भक्तिसंगीत प्रतियोगीता गर्दै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए।
शनिबार आयोजना गरिएको प्रतियोगीता रेसुंगा १४ पराल्मीको भजन समुह पहिलो, रेसुंगा नगरपालिका ४ अर्खलेको भजन समुह द्धितिय र मदानेका ४ राज भजन समुह तृतिय तथा र मुसिकोट नगरपालिका १ पौदीको भजन समुह सान्तोना भएको संरक्षण समिति जनाएको छ। संरक्षण समिति अध्यक्ष भुसालले जिल्लाका धेरै भजन समुहहरुलाई रेसुंगामा उपस्थित गराउन खोजिएपनि नसकिएको बताउँदै स्थानीय तहहरुलाई समन्वय गर्नुपर्नेमा जोड दिए।
भिडियो हेर्नुहोस्:
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |