प्रेम सुनार, गुल्मी: शनिबार राती पनि पानी परिरहेको थियो। आइतबार विहानपख पनि फाटफुट पानी पर्ने र विदो हुने क्रम जारि थियो। गुल्मीको सदरमुकाम बाट हेर्दा कतैकतै न्युन मात्रमा घाम लागेको देखिन्थ्यो भने अधिकांस स्थानमा मनसुने अन्धकारमय मौसम थियो। मनसुनकै कारण कतै सडक अवरुद्ध, कतै चट्याङले पशु चौपायको क्षति भएको समाचार पनि स्थानीयले टिपाउँदै थिए।
यहि क्रममा एक जना मित्रले सदरमुकाम तम्घासको चिदिचौरमा प्रशासनद्धारा आगो नियनत्रण अभ्यास हुँदैछ भन्ने जानकारी गराउँदै आउनका लागि आग्रह गरे । आकाशबाट पानी पर्ला जस्तो थियो । ओतिने छाता पनि तत्काल नभएका कारण नजाउँकी जस्तो लागेको थियो । तर एक छिन पछि एउटा सवारी साधनको सुविधाले कार्यक्रम स्थलमा पुगियो ।त्यहाँ पुग्दा सम्भावित मुसलधारे पानी बाट बच्नका लागि होला मञ्चमा त्रिपाल टाँगिएको थियो । त्यस त्रिपाल मुनी कुर्चीमा जिल्लाका उच्च तहका सरकारी अधिकारी र केहि समाज सेवीहरु बसिरहेका थिए।
त्यसको ठिक अगाडी स–साना खरका झुपडी, आगो निभाउने यन्त्र, दम्कल आदि ईत्यादी सामग्री र सेना प्रहरी लगायतका सुरक्षाकर्मीहरु ‘स्टाण्डबाई पोजिशन’मा थिए । केहि बेर पछि चौरमा बनाईएका ति खरका घरहरु जल्न सुरु गरे । अन्ततः तम्तयार गरिएका विभिन्न यन्त्रहरु प्रयोग गरि अग्नी नियन्त्रण टोलीले सिकेको सिप–कला प्रदर्शन गर्दै आगो निभाए ।
खडेरीको बेला अघि भएको भए सुरक्षा निकायको यो अभ्यास जायज थियो । तर मनसुन भित्रिएको थियो । अग्नी नियनत्रण अभ्यासको बेला टुप्पीएको थियो । माग–फागुन महिना भन्दा अघि यस्तो अभ्यास गरिएको वा गरिने भए सायद विगतका बर्षहरुमा कतै आगो निभाउने क्रममा सैनिक जवानहरुको त्यसरी ज्यान जाने थिएन होला।
कोही घाईते पर्ने पनि थिएनन । सर्वसाधारणले पनि आगोमा परेर ठुलो ज्युधनको क्षति ब्यहोर्न पर्ने थिएन कि भन्ने महशुस भयो । अझ अहिले यो मनसुनको बेला अर्को डर छ । अविरल बर्षाका कारण कति बेला घर भत्केर , बगाएर, पहिरो गएर वा खोला–बाढी बगाएर कसको कति बेला ज्यान जाने हो भन्ने कुराले स्थानीय त्रसित हुने बेला हो।
साँच्ची यो बेला मनसुनजन्यन विपद नियन्त्रण्को सरकारी निकायबाट अभ्यास हुने बेला होईन र ? यस्तो सवाल उब्जियो मनमा र झारा टराई जस्तो लागेर गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद गैरै संग जिज्ञाषा राखियो ।अन्ततः उनकै अनुसार पनि नभन्दै बेला टुप्पिएकै रहेछ । एक प्रकारले सरकारी काम सक्नु पर्ने झारा टराई नै रहेछ । निमित्त प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरै भन्छन्–‘अहिले गर्न लागिएको अग्नी नियन्त्रण लगायतको विपद व्यवस्थापनको डेमोन्स्ट्रेसन ( अभ्यास ) हामीले पहिल्लै गर्नु पर्ने थियो।
हामीलाई गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणबाट चैत्र महिना मै गर्नु भनि पत्र आएको थियो । तर हामीले चुनावका कारण त्यति बेला भ्याउन नसकेर अहिले गरेको हो । ’ यसमा दोष जिल्ला प्रशानको मात्रै भन्न सकिन्न । आगोलागीका अधिकतम घटना हुने बिशेषतः फागुन र चैत्र महिनामा हो । तर चैत्र महिनाको अन्तिममा अग्नी नियन्त्रणको अभ्यास गर्न पत्र पठाउने माथील्लो निकाय दोषी हो कि होईन ? मनसुन भित्रिएको छ।
अब मनसुनजन्य विपद नियन्त्रणको अभ्यायस यहाँको सुरक्षा निकायलाई गर्न कहिले पठाउने हो? अहिले जस्तो बेला टुप्पीएको महिना मंसिरकी पुसमा? खैर, जेहोस, अभ्यास अग्नी नियन्त्रणको भए पनि कार्यक्रमको ब्यानरमा मनसुनजन्य व्यवस्थापन पनि जोडिएको थियो। तर अक्षरमा जता जे जोडिए पनि व्यवहारमा जनताको सहि विपदको बेला पहिल्याईयोस्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |