थबाङ । रोल्पामा मिनी ट्रक र बोलेरो जिप ठोक्किँदा ६ जना घाइते
रोल्पाको रुन्टीगढी गाउँपालिका–७ खर्केडाँडामा मिनी ट्रक र बोलेरो जिप ठोक्किँदा ६ जना घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब २ः४० बजे घोराही–थवाङ सडकखण्डअन्तर्गत खर्केडाँडामा दहवनबाट नेपालगन्जतर्फ जाँदै गरेको ना.८ ख ७९३३ नम्बरको मिनी ट्रक र होलेरीबाट दहवनतर्फ जाँदै गरेको भे.१ ज ११२७ नम्बरको बोलेरो जिप आपसमा ठोक्किएका हुन्।
प्रहरीका अनुसार जिपको ब्रेक फेल भएर मिनी ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिष थापाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा रुन्टीगढी–७ की २७ वर्षीया विमला खड्का, उनकी ७ वर्षीया छोरी एलिसा खड्का, २१ वर्षीया पूजा थापा, रुन्टीगढी–८ झेनामका ३३ वर्षीय कलिमान विक, ३१ वर्षीया सीता विक तथा त्रिवेणी गाउँपालिका–२ दहवनका ३२ वर्षीय रेसम खड्का घाइते भएका छन्।
घाइतेमध्ये विमला खड्का र पूजा थापाको निधारमा, एलिसा खड्काको शरीरमा, कलिमान विकको दुवै खुट्टामा, सीता विकको दायाँ घुँडामा तथा रेसम खड्काको घाँटी, छाती र हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पठाइएको छ। उनीहरूमध्ये चार जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको छ। दुवै चालक प्रहरी नियन्त्रणमा रहेका छन्। प्रहरीले चालकहरूले मादक पदार्थ सेवन नगरेको जनाएको छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय होलेरीबाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्छ।
मिति : २०८३ असोज ९ गते
ओझेलका खबर — खबर भित्रको खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







