गुल्मी: भौगोलिक विकटता र अधिकांश दलित एवं विपन्न समुदायको पछौटेपनका कारण गुल्मी जिल्लाकै ‘कर्णाली’ उपनामले चिनिन्छ मालिका गाउँपालिका। अझ यसको वडा नम्बर १ मा पर्ने लिलिङ्ग गाउँका बासिन्दालाई पालिकाको केन्द्र अर्खबाङ्ग ठूलीचौरसम्म हिँडेर आउन मात्रै झन्डै ६ घण्टा लाग्छ भने वृद्धवृद्धाका लागि त यो पूरा एक दिनको बाटो हो।
लिलिङ्गसँगै जोडिएका पाटाखर्क, सिरुखर्क, तल्लो दुनाम, उपल्लो दुनाम र कौशीलाबाँध जस्ता दलित र जनजाति बस्तीहरू कर्णालीको गरिबी र पछौटेपनलाई दाँज्ने प्रतिनिधि उदाहरण हुन्।
विगतमा यहाँका वृद्धवृद्धा र विशेष गरी महिलाहरू शिक्षा तथा स्वास्थ्य सेवाको अभावमा अनेकन रोग लुकाएर अकालमै ज्यान गुमाउन बाध्य थिए। यही संवेदनशीलतालाई मध्यनजर गर्दै मालिका गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
स्वास्थ्य केन्द्रसम्म धाउन नसक्ने र इच्छा भएर पनि आउन असमर्थ नागरिकको मर्म बुझेर गाउँपालिकाले बर्सेनि विभिन्न रोगका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविरमा आउन-जान असमर्थ बिरामीहरूलाई एम्बुलेन्समार्फत घर-घरबाट ल्याउने र पुर्याउने व्यवस्था समेत पालिकाले गर्दै आएकाले बर्सेनि आयोजना हुने यस्ता शिविरहरूमा सेवाग्राहीको उपस्थिति अत्यधिक हुने गरेको छ ।
यसै क्रममा यस वर्ष पनि मालिका गाउँपालिकाको आयोजना, गुल्मी अर्खबाङ्ग-रुपन्देही सम्पर्क समाज (तिलोत्तमा-२, रुपन्देही) को संयोजन तथा एडमण्ड सिटी हस्पिटल (जितगढी, बुटवल) को प्राविधिक सहयोगमा दुई दिने बृहत् महिला स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
२७८ महिलाको स्वास्थ्य परीक्षण: ९० वर्षिया आमाहरूको पनि सहभागिता
गाउँपालिकाको केन्द्र अर्खबाङ्ग स्वास्थ्य चौकी, ठूलीचौरमा गत शनिबार र आइतबार सञ्चालन भएको शिविरमा २७८ जना महिलाहरूले प्रत्यक्ष सेवा लिएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द अर्यालले जानकारी दिनुभयो।
”यो विकट गाउँमा विशेष गरी पाठेघरको समस्या र अन्य स्त्री रोग वर्षौंदेखि लुकाएर, पीडा सहेर बस्नुभएका आमाहरू भेटिनुभयो,” स्वास्थ्य संयोजक अर्यालले भन्नुभयो, “भर्खरै सम्पन्न शिविरमा ९० वर्षसम्मका आमाहरूको उपस्थिति र उहाँहरूमा देखिएको पाठेघर सम्बन्धी जटिलताले यहाँका महिलाहरूको स्वास्थ्यको प्रतिनिधिमूलक र कारुणिक चित्र ओैंल्याएको छ।”
अर्घाबाङ्ग स्वास्थ चौकी प्रमुख प्रेम घिमिरेका अनुसार स्थानीय सरकारको गठन बिशेषत : त्यहाँका आँखा का मोतियाविन्दुका समस्या भएका बृद्ध बृद्धाका लागि बर्दान जस्तै बनेको छ । बर्षौ देखि दृष्टि गुमाएकाहरुले उज्यालो संसार देख्न पाएका छ्न र कयौ जटिल स्त्रीरोगले ग्रस्त महिलाहरुले कष्ट मुक्त बनेर लाभान्वित बनेका छ्न ।
विशेषज्ञ टोलीद्वारा उपचार र निःशुल्क औषधि वितरण
शिविरमा एडमण्ड सिटी हस्पिटलका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्योति राना, कन्सल्टेण्ट रेडियोलोजिस्ट डा. संरक्षण लम्साल, मेडिकल अफिसर डा. अनुज उपाध्याय, सिनियर अनमी दिपा अधिकारी, फार्मेसिस्ट उपेन्द्र यादव र प्रमुख कार्यकारी अधिकृत (CEO) रमेश सिटौलाको विशेष प्राविधिक टोलीले बिरामीहरूको स्वास्थ्य जाँच, उपचार तथा आवश्यक औषधिहरू निःशुल्क वितरण गरेको थियो।
सम्पर्क समाजका अध्यक्ष उमेश रेग्मीका अनुसार शिविरमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) को सुरुवाती अवस्थामै पहिचान गर्न भिडियो एक्स-रे परीक्षण गरिएको थियो। यसका साथै पाठेघर सम्बन्धी विभिन्न समस्या, महिनावारी अनियमितता, अत्यधिक वा कम रक्तस्राव, तल्लो पेट तथा कम्मर दुख्ने समस्या, सेतो पानी बग्ने, प्रजनन अङ्गको सङ्क्रमण, डिम्बाशयको सिस्ट (Ovarian Cyst), बाँझोपन तथा गर्भावस्थासम्बन्धी जटिलताहरूको गहन परीक्षण र परामर्श प्रदान गरिएको थियो।
त्यस्तै, शिविरमा भिडियो एक्स–रे सेवा, सुगर परीक्षण, आवश्यकताअनुसार पिसाब परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था समेत मिलाइएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो।
समाजसेवी र जनप्रतिनिधिहरूको चौतर्फी खटाई
दुई दिनसम्म चलेको उक्त शिविरलाई व्यवस्थित बनाउन अर्खबाङ्ग-रुपन्देही सम्पर्क समाजका पदाधिकारी तथा सदस्यहरू स्वयम्सेवकका रूपमा अहोरात्र खटिएका थिए।
समाजका अध्यक्ष उमेश रेग्मी,संस्थापक अध्यक्ष तथा सल्लाहकार विरेन्द्र अर्याल, सल्लाहकारहरू क्रमशः लाल प्रसाद अर्याल र जनकलाल अर्याल पूर्व सचिवहरू उपेन्द्र अर्याल र टेक राज रेग्मी, वर्तमान उपाध्यक्ष प्रेम बहादुर अर्याल, सचिव दिपक अर्याल, कोषाध्यक्ष सागर अर्याल, सह-सचिव रमेश अर्याल, लेखा संयोजक विक्रम अर्याल, पूर्व कार्यसमिति सदस्य खिमा रेग्मी लगायतको टोली सक्रियतापूर्वक खटिएको थियो।
त्यस्तै समाजका कार्य समिति सदस्यहरु क्रमशः शवराज रेग्मी, राधा लम्साल अर्याल, संजिता पौडेल, सीता थापा अर्याल, दिपक अर्याल, अनिल अर्याल लगायतको स्वयंसेवि भुमिका तारिफ गर्न लायक थियो।
यसैगरी, शिविरको दुई दिनसम्म मालिका गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक उपेन्द्र अर्यालले फिल्डमै खटिएर शिविरको व्यवस्थापन र अनुगमन गर्नुभएको थियो।
सम्पर्क समाजको योगदान र पालिकाको धन्यवाद
बि.सं. २०७४ सालमा स्थापना भएको ‘गुल्मी अर्खबाङ्ग-रुपन्देही सम्पर्क समाज’ ले विगतमा पनि मालिका गाउँपालिकाको अर्खवाङ्ग केन्द्रलाई एम्बुलेन्स सहयोग प्रदान गरिसकेको छ। यसका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरूलाई संस्थाले निरन्तर आर्थिक सहयोग गर्दै आएको छ। हाल यस समाजमा ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र १०४ जना साधारण सदस्यहरू आबद्ध छन्।
समन्वयकारी निकाय अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाज र प्राविधिक सहयोग पुर्याउने एडमण्ड सिटी अस्पताल बुटवलले विगत र वर्तमानमा ग्रामीण क्षेत्रका नागरिकका लागि लगाएको गुन कहिल्यै बिर्सन नसकिने गाउँपालिकाले जनाएको छ। अतुलनीय योगदान पुर्याएको भन्दै गाउँपालिका अध्यक्ष देविराम अर्याल लगायतका र प्रमुख प्रशासकीय अधिकृत विवेक खनाल लगायतका कर्मचारीहरूले सहयोगी संस्थाहरू र स्वास्थ्यकर्मीको टोलीलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |














