गुल्मी: गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगर छल्दीस्थित कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा पल्सर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गएराति करिब १० बजे रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापाको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी गुल्मी लगिएकोमा राति १०:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थान निवासी ४५ वर्षीय गिरमान सिंह रानाको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। उनको पनि उपचारकै क्रममा राति १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल नियन्त्रणमा रहेको छ। थप प्रक्रिया अन्तर्गत जेठ ४ गते राति २:२५ बजे घटनास्थल मुचुल्का तथा लास जाँच सम्पन्न गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासतर्फ पठाइएको थियो। मृतकहरूको शव बिहान ४:३० बजे जिल्ला अस्पताल गुल्मी पुर्याइएको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








